मुख्यमन्त्रीसहितको टोलीलाई तीन दिनपछि भेटे

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोलीलाई भेटेका छन्।

कर्णाली प्रदेश नेकपा संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि पार्टीले उनीहरुलाई काठमाडौं बोलाएको थियो। 

बिहीबार नै छलफलका लागि बोलाइए पनि प्रधानमन्त्री ओलीले शनिबार दिउँसो मात्रै समय निकालेर उनीहरुको कुरा सुनेका हुन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर दुवै पक्षको कुरा सुन्नुभएको प्रदेश सभा सदस्य गुलाबजङ्ग शाहले थाहा खबरलाई जानकारी दिएका छन्।

‘हामी सबैका कुरा सुनेपछि प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्ष (पुष्पकमल दाहाल) प्रचण्डसँग थप छलफल गरेर उपयुक्त निर्णय लिने बताउनुभयो', उनले भने, 'हामीलाई त्यही निर्णय मान्नुपर्ने जवाफ दिनुभएको छ। हामी पार्टी सिस्टममा भएपछि नेतृत्वको कुरा त मान्नै पर्यो नि।’  

भेटमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित यामलाल कँडेल, प्रकाश ज्वाला, गोरखबहादुर बोगटी, मायाप्रसाद शर्मा, गुलाबजङ्ग शाह र चन्द्रबहादुर शाही उपस्थित भएका थिए। 

अध्यक्ष प्रचण्डले भने बिहीबार र शुक्रबार दुवै पक्षको कुरा सुनिसकेकाले आफु उपस्थित हुन आवश्यक नरहेको सन्देश पठाएका थिए। प्रचण्डनिवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीका नेताहरुलाई भेटेका थिए।

गुलाबजंगका कुरा

प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेका प्रदेशसभा सदस्य गुलाबजंग शाहले पार्टीको निर्देशन मान्‍ने बताए। 'हिजो प्रचण्डलाई भेट्यौँ। आज प्रधानमन्त्रीले भेट्दा उहाँले प्रचण्ड बसेर निर्णय सुनाउँछौं भन्‍नु भएको छ', उनले भने, 'अध्यक्षद्वयले भनेको कुरा मान्छौं। उहाँहरुले भनेको कुरा मान्‍न नै दलका नेताविरुद्धको अविश्‍वास प्रस्ताव फिर्ता लिएका हौं नि।'

शाहले अहिले कर्णालीमा पानी बाराबार भन्‍ने कुरा गलत भएको उल्लेख गरे। 'मुद्दा अनुसार कुरा फरक हुन्छ नि!, यो पक्ष र ऊ पक्ष भन्‍ने छैन। सँगै नबस्ने नबोल्ने भन्‍ने होइन', उनले भने, 'उहाँहरुका पनि कुरा आफ्ना आफ्ना छन् तर निर्णय गरिसकेको छैन।'

दुई अध्यक्षको निर्णय नआउँदै तत्कालै केही भन्‍न नसकिने उनले बताए। 'पार्टीको निर्णय नआउँदै हामीले यस्तो भन्‍न मिल्दैन', उनले भने, 'पार्टीले बोलाउँदा नआउने नभेट्ने भन्‍ने होइन नि, हामी त्यही पार्टीका कार्यकर्ता हौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.