|

हेटौंडा : कोरोना कहरबीच ६५ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजना गरेको कार्यक्रममा जब शहीदलाई औपचारिक रूपमा सम्झने क्रम शुरू भयो, तब परिवार र आफन्तजनले आँशु थाम्न सकेनन्। 

प्रदेश प्रहरीले प्रहरी दिवसको अवसरमा अमर प्रहरी परिवारलाई सम्मान गरेको थियो। शहादत प्राप्त गरेका प्रहरीका श्रीमतीको चित्कारले सम्मान ग्रहण गर्ने क्रममा एकाएक सन्नाटा छायो।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाका प्रहरी हवल्दार यदुप्रसाद पाठक, रामेछाप जिल्ला रामेछाप नगरपालिकाका प्रहरी हवल्दार अर्जुन कुमार थापा, चितवन जिल्ला खैरहनी नगरपालिकाका प्रहरी हवल्दार चेतबहादुर थापा र नवलपरासी जिल्ला त्रिवेणी गाउँपालिकाका सहायक प्रहरी निरीक्षक तेजबहादुर गुरुङलगायत अमर प्रहरी परिवारलाई दोसल्ला ओढाएर नगदसहित प्रशंसा पत्र प्रदान गरिएको हो।

प्रश्नलाई बुझ्ने अवसरको रुपमा लिऔं : मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नागरिक समाजबाट उठ्ने गरेका प्रश्नबाट प्रहरीले आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरको रुपमा लिनुपर्ने बताए।

६५ औं प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकलाई सङ्कट परेको बेलामा भूकम्प, महामारी, बाढी पहिरो लगायत प्राकृतिक प्रकोप तथा दुर्घटनामा उद्दार तथा अन्य मानवीय सहायताका कार्यहरू, गम्भीर अपराध अनुसन्धानमा प्रहरीले प्राप्त गरेको सफलता, पछिल्लो समय कोरोना महामारी विरुद्ध फ्रन्टलाइनमा प्रहरीले सिमित श्रोत र साधनबीच जिम्मेवारी निर्वाह गरेको बताए।

कतिपय घटनाका सन्दर्भमा प्रहरीको भूमिका र व्यावसायिकताप्रति प्रश्न उठ्ने गरेको र नागरिक समाजबाट उठ्ने गरेका प्रश्नहरूलाई प्रहरी सङ्गठनले आफूलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरका रुपमा लिनुपर्ने सुझाव पनि मुख्यमन्त्री पौडेलले दिएका छन्।

प्रहरी जनताका रक्षक हुन भन्ने अनुभुति हुने गरी काम गर्न जरुरी रहेको औँल्याउँदै प्रहरीप्रतिको विश्वास र जन अपेक्षाकै कसीमा यस प्रतिको आलोचना वा टीकाटिप्पणीलाई ग्रहण गर्न सक्दा आगामी दिनमा थप सचेतता सहित प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न सकिने भन्दै ध्यानाकर्षण गराए। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले प्रदेश मातहत प्रहरी आएपछि प्रदेश सरकारको सुरक्षा योजनाअनुसार नीति बनाएर काम गर्ने बताएका छन् ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामाले नेपाल प्रहरीले जनतालाई सदैव सर्वेसर्वा ठान्दै आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.