बारा : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सबैभन्दा जोखिममा जेष्ठ नागरिक परेका छन्। विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले कोरोनका कारण ज्यान गुमाउनेमा जेष्ठ नागरिक नै बढी देखिएको छ।
रोग प्रतिरक्षा क्षमता कमजोर भएका वर्गलाई कोरोनाको संक्रमण जोखिम हुने भएकाले प्रतिरक्षा क्षमता बढाउने आहारको जोहो गर्न बाराको निजगढमा अभियान नै सुरु भएको छ।
जेष्ठ नागरिक सम्मान तथा दशैँ–तिहारको शुभकामना आदान-प्रदान कार्यक्रममार्फत निजगढ नगरपालिका-१३ का ४५ जनालाई प्रवासी नेपालीसहित जनप्रतिनिधिबाट सहयोग जुटाइएको अभियानका तिलक घलानले जानकारी दिए। उनका अनुसार नगद एक हजार ५०० रुपैयाँसहित फ्रुटी र जाडोका लागि गम्सा सहयोग गरिएको छ।
प्रवासमा बस्दै आएका एनआएन पोर्चुगल विदेश विभाग प्रमुख आरम तामाङले ५० हजार, जापानमा सवारी दुर्घटनामा ज्यान गुमाएकी ममता मोक्तानको स्मृतिमा उनका बुवा युवक मोक्तानबाट १० हजार, कुवेतबाट बिष्णु लामाले आठ हजार, भारतबाट उषा लामाले पाँचहजार र मनिषा घिसिङले तीन हजार रुपैयाँ सहयोग पठाएका थिए।
त्यसैगरि प्रदेश २ का सांसद त्रिलोकी चौधरीले १० हजार, निजगढ नगरपालिकाका कार्यपालिका सदस्य पवन बिकले पाँच हजार र राजु बलले पाँच हजार रुपैयाँ सहयोग गरेका छन्।
८५ वर्षीय वीरबहादुर थिङले गरिब बुढाबुढीलाई विदेशमा बसेर पनि सहयोग गरेको भन्दै खुसी व्यक्त गरे। ‘किनेर खान नसक्ने अवस्थामा रहेका हामीलाई बोलाएर सहयोग दिए,’उनले भने, 'सहयोगीलाई आर्शिवाद लाग्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।