काठमाडौं : कवि सोम निरौलाको कविता सङ्ग्रह 'सिसिफस' विमोचन भएको छ। इन्टरनेट सञ्जालमार्फत निरौलाको नव प्रकाशित कृति विमोचन गरिएको हो।
कोकगोष्ठी, प्रतिभा निकुञ्ज र छन्द-चौतारी तीन संस्थाको सहकार्यमा आयोजित ९७ औँ कोकगोष्ठीको अवसरमा यस कृतिको लोकार्पण गरिएको हो। ४९ ओटा छन्द-कविताहरू समेटिएको यस कविताको विमोचन कार्यक्रमको अध्यक्षता कोकगोष्ठीका अध्यक्ष छन्दसारथि एवं आधुनिक आशुकवि रमेश खकुरेलले गरेका थिए।
उपस्थित सबैका हातबाट पुस्तकको लोकार्पण भएपछि कविता सङ्ग्रहको समीक्षात्मक टिप्पणी झापाका साहित्यकार होम सुवेदीले प्रस्तुत गरेका थिए। कविताभित्र सूक्तिमयता रहेको, र छन्द कवितामा बिम्बको प्रयोग हुँदैन भन्नेहरूका लागि सिसिफस एउटा दरिलो जवाफ भएको धारणा प्रायः वक्ताहरूले व्यक्त गरेका थिए।
सामाजिक सञ्जालको प्रयोगमार्फत् छन्द-कविता प्रशिक्षण गरिरहेको प्रतिभा निकुञ्जको पञ्चम वर्ष प्रवेशको अवसरमा पनि केही कविता वाचन भएका थिए भने नव प्रकाशित कृति सिसिफस भित्रबाट पनि पाँचवटा जति कविता वाचन भएका थिए।
चर्चित युवा कवि मनोज भन्डारी, गायिका नीरा रानाभाट, कवयित्री भवानी खतिवडा एवं पुष्कल किरणले सिसिफसभित्रका कविता वाचन गरेका थिए। खोलाघरे साहिँलो, जगदीश्वर पोखरेल, दुष्यन्त भट्टराई, डा. खगेन्द्रप्रसाद दाहाललगायत कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए। अन्त्यमा कवयित्री भवानी खतिवडाको कवितात्मक टिप्पणी कार्यक्रमको आकर्षण बनेको थियो।
सामाजिक सञ्जालमा छन्द-चौतारीनामक समूह सञ्चालन गरी नेपाली छन्द-कविताको जागरणमा सक्रियता देखाइरहेका निरौलाको यो पहिलो कृति हो भने निकट भविष्यमा नै अरु कृतिको प्रकाशन गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।