कोरोना संकटमा साथ दिएकोमा प्रशंसा

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा साम्प्रदायिक भावना फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको दाबी गरेका छन्। आइतबार ‘पृतनापति समन्वयात्मक बैठक’को उद्घाटन कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहेका ओलीले जनतालाई विभाजित गराउने शक्तिहरु सक्रिय रहेको बताएका हुन्।

प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपातर्फ लक्षित गर्दै ओलीले जनतामा विभाजन ल्याउने तत्वहरु निरन्तर सक्रिय रहेको प्रधानमन्त्रीले बताएका छन्। 

‘राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई फेरि अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती हुन्', उनले भने, 'मुख्यत: राज्यको उच्च नेतृत्व वर्ग सचेत रहनु पर्दछ। सेनाले पनि यसतर्फ सचेत रहनुपर्छ भन्‍ने सन्देश दिन चाहन्छु।'

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाली सेनाभित्रै घुसपैठ हुनसक्ने उल्लेख गरे। 'नेपाली सेनाभित्रै हुनसक्ने घुसपैठबारे पनि सेना आफैं चनाखो हुनुपर्छ', उनले अगाडि भने, 'विशेष गरी उच्च नेतृत्व वर्ग सचेत रहनु पर्दछ। आज म यही सन्देश दिन चाहन्छु।'

ओलीले सेनासमेत जोडिने सबै कामहरु उच्च राष्ट्रिय महत्वका हुने बताउँदै सेनाले अहिलेसम्म गरेका कामहरूलाई राष्ट्रिय उपलब्धिको संज्ञा दिए। ‘कोभिड-१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण तथा बाढी, पहिरो र डुबान जस्ता विपद्को अवस्थामा सेनाले उच्च भूमिका निर्वाह गर्दै आएको छ। सिन्धुपाल्चोक हालै सम्पन्न ‘अपरेसन नाम्फा जोगाऊ’ को सफलताका लागि उच्च मूल्याङ्कन गर्दछु’, ओलीले भने, कोभिड-१९ विरुद्धको राष्ट्रिय लडाईँमा नेपाली सेनाले केन्द्र, प्रदेश र स्थानीय सरकारलाई दिएको साथको म मुक्तकण्ठले प्रशंसा गर्दछु।'

ओलीले विदेशबाट हवाई र स्थलमार्ग हुँदै फर्किएका नेपालीहरुको व्यवस्थापन क्वारेनटाइन र आइसोलेसन सेन्टर व्यवस्थापन, कोभिड-१९ सम्बन्धमा विभिन्न माध्यमबाट तथा जनचेतना बढाउन सेनाले उल्लेखनीय भूमिका खेलेको बताए।

कोभिड-१९ बाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने सैनिक जवानहरूको पनि उनले प्रशंसा गरेका छन्। जटिल भूगोल र प्रतिकूल मौसममा पनि छोटो अवधिमा दार्चुला छाङ्‍रुमा घोडेटो बाटो सेनाले बनाएर हस्तान्तरण गरेकोमा पनि ओलीले खुसी व्यक्त गरे।

‘सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ। सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो’, उनले अगाडि भनेका छन्, ‘मैले सरकारको नेतृत्व गरेको ३ वर्षमा सेनाबाट राष्ट्रिय महत्वका धेरै काम भए। सरकारले गत आर्थिक वर्षबाट थालेको कार्यसम्पादन सम्झौता कार्यान्वयन हेर्दा सेनाको परिणाम उत्साहजनक छ। कोभिड-१९ का कारण यो आर्थिक वर्षमा केही कार्यक्रम अपेक्षाकृत सम्बोधन हुन नसकेको मैले बुझेको छु।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीका बावजुद एकातिर पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवम् विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सम्बोधनका आवश्यकता तत्कालीन चुनौती रहेका बताए। 

उनले सेनामा पारदर्शिताको अभ्यास बढेकोमा खुसी व्यक्त गरे। 'सेनाभित्र पारदर्शिता र इमानदारिताको अभ्यास स्थापित हुँदै गएको छ। वर्तमान प्रधान सेनापतिज्यूले यसलाई थप सुदृढ बनाउँदै लैजाने योजना अघि सार्नु भएको छ। त्यस कार्यमा मेरो व्यक्तिगत तथा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु’, ओलीले अगाडि भने, ‘प्रधान सेनापतिज्यूको पहलकदमीमा पिएसओज्, रथीबृन्द, पृतनापतिहरू लगायतका रथीबृन्दहरुको योगदानको पनि प्रशंसा गर्छु। तपाईंहरुको अनुभव, इमान र विभागीय योगदानबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुनेछ। सेनाप्रति नेपाली जनताको विश्वास तथा सेनाको ओज र विश्वसनीयता बढ्ने कुरामा तपाईंहरु सचेत हुनुहुन्छ भन्ने ठानेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.