|

कञ्चनपुर :  प्रहरीले पुनर्वास नगरपालिका–६ बाट ४४ ग्राम खैरो हिरोइन बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको लागुऔषध बरामद गरेको जनाएको छ। प्रहरीले हिरोइनसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ।  

प्रहरीले बरामद हिरोइन आइतबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भने, ‘योभन्दा पहिला पनि बरामद त हुन्थ्यो, योचाहिँ अहिलेसम्मको ठूलो मात्राको हो।’

पुनर्वास नगरपालिका–६ ङ गाउँस्थित सडक खण्डमा भारतबाट ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको टोलीले हिरोइनसहित चार जनालाई शनिबार पक्राउ गरेको थियो। 

पक्राउ पर्नेमा पुनर्वास–४ घगाउँका दिनेश भट्ट, बेलौरी नगरपालिकाका गगन शाही, रमेश रावत र रोशन शाही छन्। भट्टबाहेक अन्य सबै बेलौरी नगरपालिका–१ का पटैयाका हुन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले से३प ८१८४ र से १ प ८५३९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको बताए।
 
भारतबाट अवैध रुपमा भित्रिएको एक लाख मूल्य बराबरको हिरोइन दुईदेखि अढाई लाख रुपैयाँमा बिक्री हुने बताइन्छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.