न काम पाइयो, न राज्यले दु:ख देख्यो !

|

काठमाडौं : ५३ हिउँद पार गरेका कृष्ण गिरी यतिखेर संख्यामा गन्न नसकिने पीडाले थिचिएका छन्‌। काठमाडौंको बौद्ध क्षेत्रमा भारी बोकेर परिवारको जीवनरथ जेनतेन हाँकिरहेका उनलाई यो वर्ष सकसपूर्ण बनिदिएको छ।

दशैँ लागिसकेको छ। साथमा पैसा हुने मानिसहरू सामान किनेर घर/कोठामा फर्किरहेका छन्‌। तर उनी दिनहुँ नाम्लो बोकेर बौद्ध पुग्छन्‌, भारी खोज्छन्‌, पाउँदैनन्‌, अनि रित्तो हात अवाक भएर डेरा फर्कन्छन्‌। 

पोहोर सालको दशैँ यतिसाह्रो पीडादायक थिएन। भुईंका मानिसहरूका लागि थोरै जोहो गर्न सके चाडबाड उतिबिघ्न खल्लो पनि हुँदैन। कृष्ण पनि गत साल दशैँ मनाउन सिन्धुपाल्चोकस्थित घर गएका थिए। परिवारलाई एकजोर नयाँ कपडा, थोरै मरमसला, मासु खानेका लागि एउटा बोको, टीकाटालो गर्न थोरै खुद्रा पैसा...! यति जोहो भए दशैँ यसै उल्लासमय भैहाल्छ। तर यसपालिको दशैँ कृष्णहरूका लागि नआउने पक्कापक्की छ। 

कारण उही हो : कोरोना महामारी। यस्तो बेला विपन्‍नहरूका लागि राज्य अभिभावक भइदिनुपर्ने हो। तर राज्यले आफ्नो भूमिका च्युत गर्दैछ। कृष्णहरूको दैनिकी कष्टकर बनेको सिंहदरबारले देख्न र सुन्नै चाहँदैन। 

महामारी शुरू भएदेखि नै दैनिक ज्यालादारी गर्ने र अनौपचारिक क्षेत्रमा निर्भर निम्नवर्गीय नागरिकको रोजीरोटी गुमेको छ। चाडबाड त झन् विपन्नहरूलाई खिसी गर्न ठिङ्‌ग अघि उभिएको छ। शहरमा बसौँ : छाक टार्ने पैसो छैन। गाउँ जान पनि त धेरै/थोरै पैसा चाहियो नै ! 

कृष्णजस्ता भरियाहरूले भारी नपाएको ६ महिनाभन्दा धेरै भइसक्यो। अत्यासलाग्दो कहर भोगेका कृष्ण सुस्केरा हाल्दै भन्छन्‌, ‘दशैँ मनाउने उपाय नै भएन, पैसा नभएपछि गाउँ पनि जान नपाइने भयो।’

लकडाउन अघिसम्म काम पाउने गरेका कृष्णले एक हजार रुपैयाँजति त दिनहुँ कमाउँथे। तर, अहिले कमाइ छैन। हजार रुपैयाँको नोट उनमा हात नपरेको महिनौं भइसक्यो। ​

चाडबाडका बेला गाउँ जान नपाउँदा परिवारको मन खल्लो हुँदो हो। तर, अरू विकल्प पनि त छैन। घर जान नपाउँदा गाउँका परिवार के भन्छन? भनी सोध्दा भावुक हुँदै उनले जवाफ दिए, ‘घरपरिवारले खै के भन्लान्‌! संकट बुझेकै छन्‌। यसपाली यस्तै भइहाल्यो। बाँचे पैसा कमाएर अर्को साल परिवारसँग दशैँ मनाउँला।’ 

मजदुरका लागि के दशैँ, के तिहार !

ओखलुढुंगाका कृष्ण बहादुर कार्कीलाई पनि यस वर्ष दशैँ रौनकले छोएको छैन, अरू अभावले बेस्सरी हल्लाएको छ। बौद्ध महांकालमा बस्दै आएका भरिया कृष्ण काम नभएकाले गाउँ जाने सुरसारमा छैन। उनी उपत्यका छिरेको १५ वर्ष भैसकेको छ। कठोर श्रम गरेको यत्तिका वर्ष भैसक्दा पनि उनलाई अहिलेसम्म दशैँ यति अप्रिय लागेको थिएन। तर, यसवर्ष कोरोना महामारीसँगै दशैँ उनका लागि पहाड बनेर उभिएको छ।

४१ वर्षीय कृष्ण भन्छन्‌, ‘पैसा कमाउन सकिएन, यसपालिको दशैँ हाम्रा लागि नआउने पक्कापक्की छ।’ उनले पनि लकडाउन हुनअघि राम्रै कमाई गर्थे। दैनिक १२ सय रुपैयाँसम्म कमाउँथे। तर, अहिले उनको कमाई  कोरोनाले लुटिदिएको छ। अब फेरि कहिले काम पाइएला, पत्तो छैन।

‘परिवारमा सात जना छन्‌,’ उनले भने, ‘उनीहरुलाई के खुवाउने भन्ने चिन्ता छ। मजदुरका लागि के दशैँ के तिहार ! सधैँ दुःखमै जिउने त हो।’ ६ महिनादेखि काम नभएकै कारण कोठा भाडा तिर्न समस्या भएको उनी सुनाउँछन्। कोठाभाडा मात्रै मासिक १० हजार रुपैयाँ बुझाउनुपर्छ। बजारमा सबै सामानको भाउ बढेर माथि पुगिसकेको भन्दै मजदुरी गर्नेको ज्याला भने कहिलै नबढेको गुनासो गर्छन् उनी।

कोरोनाका कारण यस्ता धेरै भरिया मजदुरीको रोजीरोटी गुमेको छ। कतिपय भोकभोकै सडकमै रात काट्न बाध्य भएका छन्‌ त कोही कोठाभाडा तिर्न नसकेकाले लखेटिएका छन्‌।

कृष्ण भन्छन्, ‘सरकारले मजदुरको लागि अहिलेसम्म केही सहयोग गर्न सकेन। बस्‌,अब कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेर हाम्रो यी पेशा नखोसिदियोस। अर्को उपाय अबलम्बन गरेर कोरोना रोकथाम गरोस्‌।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.