दमक (झापा) : नगरपालिकाका प्रमुख तथा पदाधिकारीमा कोरोना संक्रमण भएपछि दमक नगरपालिकाले सबै सेवा बन्द गरेको छ।
सोमबार बसेको कार्यपालिका बैठकले मंगलबारदेखि तीन दिन अत्यावश्यकबाहेकका सबै सेवा र वडा कार्यालयबाट प्रदान गरिने सेवा पनि बन्द गर्ने निर्णय गरेको नगरपालिका उपप्रमुख गीता अधिकारीले जानकारी दिइन्। तीन दिनपछि पछि भने दशैंको नियमित बिदा हुने भएकाले अब नगरपालिकाको सेवा दशैंपछि मात्र सञ्चालन हुने भएको छ।
नगरपालिकाले जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको कार्यान्वयन गर्न समेत नगरवासीलाई आग्रह गरेको छ। यस्तै, नगरपालिकाले चाडपर्व मनाउँदा सामूहिक पूजा, भीडभाड, अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्न समेत आग्रह गरेको छ।
नगरपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि दमकका दुई स्थानमा कोभिड अस्पताल निर्माण गरिरहेको र एउटा भने सञ्चालनको अवस्थामा रहेको अधिकारीको भनाई छ।
अस्पतालको सेवा बन्द
आम्दा अस्पताल दमकको सम्पूर्ण सेवाहरु बन्द गरिएको छ। केही स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएपछि दुई दिनका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। आम्दा अस्पतालमा कोरोना सन्क्रमितको पनि उपचार हुँदै आएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।