पक्राउ परेका व्यक्तिबाटै पत्ता लगाइयो

|

धनगढी : धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बीट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा भारतीय नागरिकको पनि संलग्नता देखिएको छ। 

ड्युटी निभाउन दशगजा क्षेत्र पुगेका बेला विकलाई अज्ञात समूहले दशगजामै घाँटी रेटेर हत्या गरको थियो। प्रहरी जवान साउदको शव मोहना नदीको किनारमा गाडिएको अवस्थामा मंगलबार फेला पारिएको छ। तस्करहरूले हत्या गरी मोहना नदी किनारमा गाडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

घटनामा संग्लन रहेका एक जनाले प्रहरीलाई साउदको हत्या गरी नदीको बीच भागमा गाडेको बयान दिएपछि शव फेला पारिएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। ती अधिकारीले थाहाखबरसँग भने, ‘पक्राउ परेकामध्ये एकजनाले जवानको शव नदीको बीच भागमा गाडेको बयान दिएका थिए, सोही व्यक्तिलाई घटनास्थलमा ल्याएर खोज्न लगाएपछि शव भेटिएको हो।’

शनिबार राति नेपालबाट भारततर्फ दाललगायत सामान तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। घटनामा भारतीय तस्करहरूको पनि संलग्नता रहेको खुल्न आएको छ। जिल्लास्थित एक प्रहरी अधिकारीले भने, ‘उताका तस्करले नदीसम्म मोबाइल पुर्‍याइदिएको घटना हेर्दा भारतीय तस्कारहरूको पनि संलग्नता देखियो।’

प्रहरीले दाल ओसारपसार गर्न प्रयोग गरिएको गोरुगाडा (डल्लब) समेत स्थानीय बलराम रानाको घरबाट बरामद गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले १५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना र फरार रहेका गरी ९/१० जना घटनामा संलग्न भएको प्रहरी दाबी छ।

हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकारेका छन्।

हत्यामा संलग्न मुख्य नाइकेसहित केही व्यक्ति फरार रहेको र खोजीकार्य भइरहेको स्रोतले जनाएको छ। भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो। 

घटनास्थलमा साउदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो। विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो। सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका प्रहरी तस्करकै सिकार बनेका हुन्‌।

घटना अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.