'परिवारसँग भिडियो कल गरेर दिनभरको थकान मेटाउँछु'

|

काठमाडौं : मुलुक कोभिड-१९ को महामारीसँग जुधिरहेको छ। सबैतिर कोभिडको त्रास छ। सँगसँगै हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमी सबैको घर-आँगनमा आइपुगिसकेको छ।

यसपटकको चाडपर्व विगत वर्षका जस्ता छैनन्। परिस्थितिले परिवार तथा आफन्तसँग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन सक्ने दशैँ बनेको छैन। कारण एउटै हो कोरोना महामारी र मृत्युदर बढिरहनुले पनि मानिसमा दशैँभन्दा पनि दशा आएको  प्रतीत भएको छ।

धेरै मानिसहरू जो जहाँ बसेर काम गरेका छन् त्यहीँ ठाउँमा रमाएर चाडपर्व मनाउनुपर्ने अवस्था छ। सबैका मुहारमा हर्ष हुनुपर्नेमा चिन्ता र निराशाको बादलले ढाकेको छ।

अस्पतालमा बिरामीको चाप बढेर बेड पाइएका छैनन्। कतिपय संक्रमित इमर्जेन्सीमा उपचार गराउन बाध्य छन्। केही स्वास्थ्यकर्मीहरू दिनरात नभनी संक्रमितको सेवामा तल्लिन रहँदै अस्पतालमा बसी दशैँ मनाउने तयारीमा छन्।

यतिखेर कोरोना महामारी नभएको भए बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालकी नर्सिङ इन्चार्ज सुमित्रा थापा भक्तपुरस्थित घरमा जमरा राखेर आफ्नो ड्युटीमा जाने आउने गरिरहेकी हुन्थिन्। तर, समय सधै एकनास नहुने भएकोले दशैँको पहिलो दिन घटस्थापना यानिकि जमरा राख्ने दिनसमेत उनले बिर्सिन्।

सशस्त्र प्रहरी अस्पताललाई कोभिड उपचार केन्द्र बनाएपछि १४ दिनमा एकपटक उनी घर जान्छिन्। वैशाखदेखि अस्पतालमा कोभिड संक्रमितलाई उपचार गर्न थालेपछि घर गएको समय गन्न सकिने उनी बताउँछिन्। कोभिड हुदैन थियो भने घरबाट अस्पताल आइरहेकी हुन्थिन्।

सुमित्राले यसपालिको दशैँ घरमा होइन अस्पतालमै मनाउँदै छिन्। आफ्नै सहकर्मी साथीहरूसँग बसी काम गर्दै रमाइलो मान्ने योजनामा छिन्।

दशैँमा सुरक्षित हुन सक्यो र सबै बिरामीको सेवा गरी बाँच्न र बचाउन सकियो भने अर्को सालको दशैँ घर-परिवारसँग रमाइलो गरेर मनाउन सकिने उनको बुझाइ छ। देशमा दशैँभन्दा ठूलो कोरोना महमारी छ।

दशैँ लागेको जस्तो महसुस भएको छैन। पहिले-पहिले घरबाट जाने आउने गरिन्थ्यो। दशैँ कहिले पर्छ सबै थाहा हुन्थ्यो,’उनले भनिन्,’ घटस्थापना पनि मैले बिर्सेको थिएँ। दिउँसो मोबाइल हेरेर थाहा पाएँ। अहिलेको समयमा अस्पतालमा २४ घण्टा सेवा गरिरहनु परिरहेको छ।‘

सुमित्राले अस्पतालमा २४ घण्टा सेवा दिइरहेकी छिन्। बिहान र बेलुकाको दुवै सिफ्टमा हुन्छिन्। ड्युटीमा रहँदा खाना खानको लागि समय हुँदैन दिउँसोको १ बजे र रातिको ८ बजे खाना खान्छन्। उनीसहित ८ जना नर्सिङ स्टाफले दशैँमा अस्पतालमा सेवा दिने भएकी छन्।

सुमित्रा जस्तै देशभरका धेरै स्वास्थ्यकर्मीहरूले यसपटक घरमा दशैँ मनाउने छैनन्। कोभिडको महामारी नआएको भए सबै स्वास्थ्यकर्मीहरू यतिखेर यात्रामा हुन्थे वा आ-आफ्ना घरमा पुगिसकेका हुन्थे।

संक्रमितको उपचारमा खटिनुपर्ने भएकोले होला साताको बार पनि बेलाबेलामा बिर्सिने गर्छिन्। सातै दिन काम गरेपछि पुनः सात दिन क्वारेन्टाइनमा बसेर स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा २-३ दिनको लागि उनी घर जान्छिन्।

सुमित्राको घरमा वृद्ध आमा, बाबा, श्रीमान् र ९ वर्षको छोरा छन्। भौतिक दूरीले टाढा भए पनि धेरै मानिसलाई प्रविधिले मानिसलाई नजिक बनाएको छ।

अस्पतालबाट थोरै फुर्सदको समय निकालेर साँझ परिवारसँग भिडियो कलमार्फत गफ गरेर दिनभरको थकान मेटाउने प्रयास गर्छिन्। प्रविधिले टाढालाई भएकालाई सम्पर्क गर्न सजिलो बनाइदिएको उनी सुनाउँछिन्।

बिरामीको सेवा गर्न पाउँदा दुःख छैन

दशैँमा सबैभन्दा बढी सम्झना आउने भनेको परिवारको रहेछ, सन्तानको आमा भएपछि सन्तानको मायाले सताउँदो रहेछ,’ उनी सम्झिन्छिन्,’ मेरो करियरको जीवनमा पहिलोपटक दशैँमा टाढा भएँ। तर, देश र जनताको लागि सधैँ खटिनुपर्ने भएकोले दुःख धेरै लागेको छैन।‘

नर्सिङ सेवामा लागेको १४ वर्षपछि महामारीको कारणले पहिलोपटक परिवारसँग दशैँ मनाउन नपाउने भएकी छन्। पहिलोपटक जागिरे जीवन सशस्त्र अस्पतालबाट सुरु गरिन्। यसपटक काम गरेर घर जाँदा पूर्णिमाको टीका लाउन पाउने उनले आशा गरेकी छन्।

स्वास्थ्यकर्मीको काम भनेको बिरामीहरूको सेवा गर्नु रहेको सुमित्रा बताउँछिन्। फ्रन्टलाइनरको रुपमा काम गरिरहँदा हामीजस्तो स्वास्थ्यकर्मीले घरपरिवार, चाडपर्व भन्न नहुने उनको भनाइ छ। महामारीको समयमा पहिलो प्राथमिकतामा बिरामीले उपचार पाउनुपर्ने र हामी जस्ताले संकटको समयमा बढी जिम्मेवार भएर काम गर्नुपर्ने उनी बताउँछिन्।

सबै संक्रमित निको भएर जाऊन्

बलम्बु अस्पतालमा केही संक्रमितले ज्यान पनि गुमाइसकेका छन्। अस्पताल परिसरमा ज्यान गुमाउनेभन्दा निको भएर घर जानेको संख्या बढी छ। दैनिक १० जनाभन्दा बढी संक्रमित निको भएर घर जाने गरेका छन्।

उनी अघिल्लो दिन बोलिरहेका केही संक्रमितहरूको भोलिपल्ट ड्युटीमा जाँदा मृत्यु भइसकेका हुन्छन्।

‘कतिपय बोल्दाबोल्दै पनि आँखा अगाडि मृत्यु भएको छ। त्यस्तो अवस्था देख्दा भने असहज महसुस हुन्छ, ’ सुमित्रा भन्छिन्,’ चाहेर पनि केही गर्न सकिँदैन। सबै निको भएर घर जाऊन् भन्ने चाहना हुन्छ। हाम्रो काम भनेको बिरामीहरूको सेवा गर्ने र उपचार गर्ने हो। जतिसक्दो बिरामीलाई बचाउने प्रयास हुन्छ।‘

दीर्घरोगी बढी जोखिममा

लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको हो। सडक र बजारको वातावरण देख्दा कोरोना भाइरस केही होइन जस्तो देखिएको छ।

अहिले पनि आम मानिसले सामाजिक दूरी कायम गरी, स्यानिटाइजर र मास्कको प्रयोगको प्रयोग गर्ने हो भने धेरै हदसम्म यसबाट बच्न सकिने उनको बुझाइ छ।

अहिलेको समयमा सबैभन्दा वृद्ध उमेरका मानिसहरू बढी जोखिममा छन्। उनले चाडपर्वमा मानिसको बढी भिडभाड हुने भएकोले वृद्ध उमेर समूहका मानिसलाई सुरक्षित राख्नुपर्ने सुझाव दिइन्।

यसबाट बच्नको लागि मानिसले आफ्नो शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नुपर्छ। मधुमेह, किड्नी र दीर्घ रोग भएका मानिसहरू यस रोगको उच्च जोखिममा रहेको उनको अनुभव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.