४५ लाख रुपैयाँ दसैंभत्तामा खर्च

|

हेटौंडा : सांसदहरुको चौतर्फी आलोचना भएपछि बागमती प्रदेशसभा सदस्यहरुले आफ्नो दसैंभत्ता जबर्जस्ती फिर्ता गरे पनि मुख्यमन्त्रीदेखि सांसदका स्वकीय सचिव (पिए) हरुले भने दसैंभत्ता छोडेनन्।

प्रदेशमा जम्मा १ सय १० जना प्रदेशसभा सदस्य छन्। जसमध्ये १ सय जना प्रदेशसभा सदस्यका एक सय जना स्वकीय सचिवले नासुसरह सुविधा पाउँछन्। दसैंभत्ताका लागि एक महिना बराबरको तलब अर्थात् २८ हजार २ सय प्रदेशसभा सचिवालयले स्वकीय सचिवको खातामा हालिसकेको छ। २८ लाख रुपैयाँभन्दा बढी प्रदेशसभा सदस्यका स्वकीय सचिवले मात्रै पाएको देखिन्छ। 

यस्तै मुख्यमन्त्रीसहित मन्त्रिपरिषदमा ७ जना, सभामुख, उपसभामुख र विपक्षी दलका नेताको स्वकीय सचिवालयमा भएको जम्बो टोलीले पनि दसैंभत्ता बुझिसकेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलको स्वकीय सचिवालयमा  मात्रै ८ जना रहेका छन्।

उनीहरु सबैले दसैं खर्चको रुपमा ऐनमा भएको व्यवस्थाअनुसार एक महिनाको तलब बराबरको भत्ता लिइसकेका छन्। मुख्यमन्त्री पौडेलको एक उपसचिव सरह, एक शाखा अधिकृत, एक नासु, एक कम्युपटर अपरेटर, दुई सवारी चालक र दुई कार्यालय सहयोगी स्वकीय सचिवालयमा रहेका छन्। सरकारी स्केल अनुसार मुख्यमन्त्रीको सचिवालयलाई  मात्रै दसैं खर्चको रुपमा २ लाखभन्दा बढी रकम गएको देखिन्छ।

सभामुखको स्वकीय सचिवालयमा शाखा अधिकृत एक जना, खरिदार एकजना, कार्यालय सहयोगी एकजना र सवारी चालक गरी चार जना रहेका छन् भने मन्त्रीहरुको शाखा अधिकृतसरह एकजना, नासुसरह एकजना, सवारी चालक एक जना, कार्यालय सहयोगी दुई जना स्वकीय सचिवालयमा छन्।

यस्तै उपसभामुख र विपक्षी दलका नेताका स्वकीय सचिवालयमा शाखा अधिकृत एक जना, कार्यालय सहयोगी र सवारी चालक एक जना छन्। यी सबैको स्वकीय सचिवको दसैंभत्ता १० लाख रुपैयाँभन्दा बढी हुने देखिन्छ।

बागमती प्रदेश सभा सचिवालयका लेखा अधिकृत गोविन्द अधिकारीका अनुसार दसैंभत्ताको रुपमा प्रदेशसभाअन्तर्गत सदस्यहरुका स्वकीय सचिवलाई करिब ३१ लाख रकम खातामा हालिसकिएको छ।

समग्रमा बागमती प्रदेशका मुख्यमन्त्रीदेखि प्रदेश सभा सदस्य सम्मका स्वकीय सचिवले गरी करिब ४५ लाख रुपैयाँ दसैंभत्ता बुझेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.