|

सुर्खेत : सुर्खेतमा एक हप्ते डेंगुविरुद्धका अभियान सञ्चालन गरिएको छ। कोरोनाको कहरले जनजीवन प्रभावित भइरहेका बेला सुर्खेतमा डेंगुको प्रकोप पनि बढ्न थालेपछि सञ्चालन गरिएको हो।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र मार्ने अभियान सुरु गरेको हो। लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको साउन महिना यता १०२ जना संक्रमित भेटिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।

सुर्खेतको पनि मुख्यबजार क्षेत्रमा बढी डेंगुको प्रकोप बढेपछि वीरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले डेंगुविरुद्धको एक हप्ते अभियान नै सञ्चालन गर्नु परेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले बताए। वाग्लेका अनुसार अभियान सञ्चालन गर्न सात सदस्यीय समिति पनि बनाइएको छ। समितिले सम्बन्धित विषयमा सर्वसाधारणलाई जानकारी गराउने तथा लामखुट्टेको लार्भा नष्ट गर्नेछ।

सुर्खेतका १०२ जना डेंगु संक्रमितमध्ये वीेरेन्द्रनगर नगरपालिकामा मात्रै ९० जना रहेका छन्। यसको प्रकोप ग्रामीण क्षेत्रभन्दा शहरी इलाकामा बढी रहेको कार्यालयले बताएको छ। वीरेन्द्रनगरका केही बासिन्दामा ज्वरो आएपछि जाँच गर्दा डेंगुको संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख वाग्लेले बताए।

कोरोना र डेंगुका लक्षण केही मिल्ने भएकाले पनि कोरोना जाँच गर्न आएकालाई डेंगु पनि जाँच गराउन सल्लाह दिने गरेको वाग्लेले बताए। ‘डेंगु पनि कोरोना भाइरसजस्तै लक्षण नदेखिने खालको पनि हुने भएकाले डेंगु संक्रमितको संख्या बढी नै भएको हाम्रो अनुमान छ,’ वाग्लेले भने, ‘हामीले कोरोनाको शंका लागेर जचाउन आउने ज्वरो भएकाहरुलाई डेंगुको पनि जाँच गराउन भन्ने गरेका छौं।’

गत आर्थिक वर्ष सुर्खेतका १३३ जनालाई डेंगु भएको थियो। अहिले पनि डेंगु संक्रमणको दर गत आर्थिक वर्षको हाराहारीमा रहेकाले अभियान चलाउनुको विकल्प नरहेको वाग्लेको भनाइ छ। गत आर्थिक वर्ष काठमाडौंमा उपचारका क्रममा एकजना सुर्खेतका युवाको मृत्यु भए पनि चालु आर्थिक वर्षमा डेंगुका कारण बिरामीको मृत्यु नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

एक्कासी ज्वरो आउनु, ५ देखि ७ दिनसम्म नियमित ज्वरो आइरहनु, बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्ुनु, हाडजोर्नी, मांशपेशी, ढाड दुख्ने, शरीरमा विविरा आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने डेंगुका लक्षण हुन्।
एडिज प्रजातिको लामखुट्टेले टोक्दा सर्ने डेंगी रोग तीन प्रकारको हुन्छ। यसको कुनै औषधि पत्ता लागेको छैन। संक्रमितलाई देखिएको लक्षणका आधारमा उपचार हुने गरेको वाग्लेले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.