|

नवलपरासी  : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ शिवस्मृति टोलविकास समितिका अध्यक्ष रमेश ज्ञवाली आइतबार घरमै थिए। उनलाई बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाबाट फोन आयो। रमेशजी तपाईंको रिपोर्ट पोजेटिभ लिस्‍टमा छैन है। ज्वरो आएर केही समयदेखि घरमै रहेको समयमा असोज २७ गते स्वाब दिएर पिसिआर रिपोर्टको पर्खाईमा बसेका ज्ञवाली नगरपालिकाबाट गरिएको त्यो फोनले केही उत्साही भए। उनी अब आफ्नो रिपोर्टमा कोरोना पोजेटिभ नदेखिएको भन्दै   सोमबार भने घरबाहिर

निस्किए अनी केहि ठाउँमा मोटरसाइकलमा आउजाउ गरे त्यस बीचमा केही व्‍यक्तिहरूसँग उनले भेटघाट पनि गरे।

पोजेटिभ भनेर फेरि अर्को फोन

उनी भेटघाटकै क्रममा बर्दघाट बजारतिरै रहेका समयमा फेरि नगरपालिकाको स्वास्थ्‍य शाखाबाट फोन आयो। रमेशजी तपाईको कोरोना रिपोर्ट त पोजेटिभ आयो है सुरक्षित भई होम आइसोलेसनमा बस्नुहोला। जब फोन काटियो ज्ञवाली एकैछिन त अत्तालिएजस्तै भए उनी सरासर घरमा गएर सुरक्षित रुपमा बसे।

घरमा पुगेपछि उनका मनमा अनेक कुरा खेल्न थाले अरे हिँजो फोनमा रिपोर्ट नेगेटिभ आयो भन्ने फेरि आज पोजेटिभ भयो भन्ने यसले त मलाई तनाव बनायो ज्ञवालीले भने।

आफू क्वारेन्टाइन व्‍यवस्थापनदेखि कोरोना महामारी नियन्त्रणका लागि निरन्तर खटिरहेकै भए पनि पछिल्लो पटक आफूलाई दिइएका दुई फरक खालका कुराले गर्दा आफू संक्रमित भएपछि पनि धेरैसँग घुलमिल हुन पुगेकोमा आत्मग्लानी भएको ज्ञवाली बताउँछन्।

उनले नगरपालिकाबाट लापरबाही भएकोले आफ्नो कारणले धेरै जना असुरक्षित बन्न पुगेको बताए। ज्ञवालीले आफूलाई आइतबार नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गोपाल पाण्डेले फोन गरेर रिपोर्ट नेगेटिभ आएको भन्ने जानकारी दिएको र सोमबार पुन पाण्डेलेनै फोन गरेर रिपोर्ट पोजेटिभ आएको भनी जानकारी दिएको बताए।

गलत सूचना दिएका छैनौँ

जनस्वास्थ्य निरीक्षक गोपाल पाण्डेले भने नगरपालिकाबाट गलत सूचना नगएको तर बुझाईमा फरक परेको हुनसक्ने बताएका छन्। पाण्डेले गत हप्ताको मंगलबार ज्ञवाली सहित १ सय ४६ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाएकोमा आईतबार केहिको रिपोर्ट आउँदा त्यसमा ज्ञवालीको रिपोर्ट नआएकोले आफुले फोन गरेर पोजेटिभको लिष्टमा तपाईको नाम आएको छैन है भनेर जानकारी गराएको बताए।

सोमबार बाँकी रिपोर्ट आउँदा ज्ञवालीको पनी रिपोर्ट आएको र त्यसमा ज्ञवालीमा कोरोना पोजेटिभ देखिएपछि आफूले पुन फोन गरेर ज्ञवालीलाई रिपोर्टको बारेमा जानकारी गराई घरभित्रै बस्न आग्रह गरेको पाण्डेको भनाइ छ। ‘रिपोर्ट नेगेटिभ छ भनेको होइन, आइतबार रिपोर्ट आएकामध्ये पोजेटिभ भएकाहरुमा तपाई हुनुहुन्न है भनेको हो, उहाँले कसरी बुझ्नुभयो खै पाण्डेले भने।

नगरपालिकाले खबरै गरेन

यस्तै, बर्दघाट ४ हरियाली नगरका निरज श्रेष्ठलाई असोज २६ गते सोमबार कोरोना संक्रमण पुष्टि भयो। उनी घरमै होम आइसोलेसनमा बस्दै आएका छन्। अहिले उनको स्वास्थ्यमा कुनै पनि समस्या भने देखिएको छैन।

आफू बर्दघाटमै रहेको सेन्ट्रल फाइनान्समा कार्यरत रहेकोमा त्यहाँ काम गर्ने अन्य केही स्टाफलाई कोरोना संक्रमण देखिएपछि लक्षण नभए पनि बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पताल पुगेर पिसिआर परिक्षण गरेको श्रेष्ठले बताए। आफुलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ्गमा परेकी आफ्नी आमा लालमाया श्रेष्ठसँगै आफ्नो श्रीमती र छोराको बर्दघाट नगरपालिकामार्फत २७ गते मंगलबार स्वाब संकलन गरेर पठाइएको थियो।

श्रीमती र २ बर्षको छोरामा कोरोना पोजेटिभ देखियो। छोराको र  श्रीमतीको शनिवारनै रिपोर्ट आएको भए पनि नगरपालिकाबाट कुनै खबर नै नआएको उनले बताए।  आइतबार मात्र आफूले स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलाई  फोन गरेपछि ज्ञवालीले श्रीमती र बच्चाको रिपोर्ट शनिबार नै आएको र उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भन्ने जानकारी दिएको श्रेष्ठ बताउँछन्।

आमा पहिलेदेखि नै दिर्घरोगी भएकोले पनि सबैभन्दा पीर आमाकै भएकोले  आमाको रिपोर्टको बारेमा जिज्ञासा राख्दा ज्ञवालीले सबैको रिपोर्ट आइसकेको तर त्यसमा आमको नाम नभएकोले कतै आमाको रिपोर्ट मिस्टेक भएको हुनसक्ने जवाफ दिएको श्रेष्ठको भनाइ छ।

आमाको रिपोर्ट नआएपछि आफूले पछि जनस्वास्थ्य निरीक्षक गोपाल पाण्डेलाई फोन गरेको र पाण्डेले सबै रिपोर्ट खोजेर पिसिआर परीक्षणका लागि स्वावको नमुना पठाउँदा विवरण सहितको फारम पठाउन छुटेको जानकारी दिएको निरजको भनाइ छ।

बर्दघाट ४ कै अर्का एकजना पुरुषलाई गत १२ गते कोरोना संक्रमण पुष्टि भयो कोरोना संक्रमण पुष्टि भएपछि  उनी आफ्नै घरमा होम आईसोलेसनमा बस्दै आएका छन्। कन्ट्रयाक ट्रेसिङमा परेकी उनकी श्रीमती र उनलेअसोज २२ गते बर्दघाटको दाउन्नेदेवी क्याम्पसमा गएर स्वाव संकलन गराए।

२४ गते रिपोर्ट आएपछि श्रीमतिमा पनि कोरोना संक्रमण पुष्टि भयो भने उनमा दोस्रो पटक पनि पिसिआर पोजेटिभ नै देखियो। अहिले उनी घरमै होम आइसोलेसनमा रहँदै आएका छन्। उनीहरु दुवैमा कुनै पनि लक्षण देखिएको छैन। लामो समय आईसोलेसनमा बस्दै गर्दा उनले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलाई फोन गरे अव कहिले टेष्ट गर्ने भनेर जिज्ञाशा राखे।

ज्ञवालीले भने २२ पुगेपछि भाइरस पुर्णरुपमा निष्कृय हुने भएकोले परिक्षण गर्नु नपर्ने बताएको उनी बताउँछन्

समुदायमा सकस

समुदायमा भने पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाण नदेखाउँदासम्म संक्रमितलाई घुलमिल हुननै अफ्ठेरो हुने गरेको उनी बताउँछन्। जनस्वास्थ्य निरीक्षक पाण्डेले भने पछिल्लो प्रोटोकल अनुसार १४ दिनपछि कसैमा नसर्ने बताएकोले पनि परीक्षण गर्नैपर्छ भन्ने नभएको तर कसैलाई परीक्षण नभएकै कारण अफ्ठेरो पर्ने अवस्था आए उनीहरुको नगरपालिकामार्फत नै परीक्षणको व्‍यवस्था मिलाइने बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.