'बृहत्तर टुँडिखेल'परियोजनामा राष्ट्रपतिको चासो

|

काठमाडौं : काठमाडौंको मध्यभागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’अघि बढ्ने भएको छ। 
पुन:निर्माण गरिएका रानीपोखरी र दरबार हाइस्कुल उद्घाटनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ‘बृहत्तर टुँडिखेल गुरुयोजना’मा चासो देखाएकी छन्। 

करिब २८ करोड रुपैयाँ लागतमा तयार भएको रानी पोखरी र बालगोपालेश्‍वर मन्दिर उद्घाटनपछि सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुन:निर्माण प्राधिकरणले अघि बढाउन लागेको ‘बृहत्तर टुँडिखेल गुरुयोजना’सफल बनाउनुपर्ने धारणा राखिन्। 

काठमाडौं महानगरपालिका आन्तरिक विवादमा फसेपछि रानी पोखरी र बालगोपालेश्‍वर मन्दिरको सफलतापूर्वक पुन:निर्माण पूरा गरेको पुनर्निर्माण प्राधिकरणले रानीपोखरी, रत्नपार्क, खुल्ला मञ्च, टुँडिखेल, शहीदगेट, भृकुटी मण्डप, दशरथ रंगशाला जोड्ने गरी बृहत्तर टुँडिखेल गुरुयोजना अघि बढाएको हो। 

प्राधिकरणको योजनाअनुसार काम अघि बढेमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरकै आकर्षक स्थान बन्नेछ। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पुन:पुनर्निर्माण प्राधिकरणले रानीपोखरीदेखि रत्नपार्क हुँदै, टुँडिखेलदेखि, दशरथ रंगशालासम्मको क्षेत्रलाई समेटेर बृहत् गुरुयोजना अघि बढाइसकेको छ। 

परियोजना अघि बढ्छ : ज्ञवाली

प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले रानीपोखरी, रत्नपार्क, खुल्लामञ्च, टुँडिखेल, शहीदगेट, दशरथ रंगशाला, भृकुटी मण्डपलगायतलाई समावेश गरी बृहत् गुरुयोजना बनाइसकेको बुधबार जानकारी दिएका छन्। 

‘यो क्षेत्रलाई अन्तर्राष्ट्रियरुपमै आकर्षक बनाउने काम अघि बढिसकेको छ। यसमा प्रधानमन्त्री र राष्ट्रपतिले समेत चासो देखाउनु भएको छ', उनले रानीपोखरी उद्घाटनका क्रममा भने, 'अन्य पक्षसँग पनि परामर्श भइरहेको छ। यसलाई हामी अघि बढाउने तयारीमा छौं।'

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चार वर्ष नौ महिना तीन दिनमा रानीपोखरी वरिपरिको संरचनासहितबीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भएको बताउँदै अब बृहत् टुँडिखेल परियोजना अघि बढ्ने बताए। उनले आगामी मङ्सिरसम्म सिंहदरबारको पूर्वी भागको प्रबलीकरण सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्ने पनि बताए। 

काठमाडौँ उपत्यकाका सात वटै विश्वसम्पदास्थलको गुरुयोजना तयार भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ भूकम्पले क्षति गरेका संरचनाको पुनः निर्माणमा पनि तीव्रता दिइएको बताए।  

बुधबार भएको कार्यक्रममा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा मिसाइयो। तीन सय ५२ वर्षअघि पोखरी निर्माण हुँदा देशविदेशका १०८ कुण्ड, ताल, पोखरी आदिबाट पानी ल्याइएको इतिहासमा उल्लेख छ । 

राष्ट्रपतिले भनिन् : कार्यान्वयन गरौं

नेपाली सेनाकी सर्वोच्च कमान्डरसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीदेखि नेपाली सेनाको मुख्यालय हुँदै दशरथ रंगशालासम्म जोड्ने गरी विकास गर्न लागिएको ‘बृहत्तर टुँडिखेल गुरुयोजना’मा गम्भीर चासो देखाएकी छन्। 

बुधबार रानी पोखरी परिसरमा सम्बोधनका क्रममा उनले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना कार्यान्वयन गरिनुपर्नेमा जोड दिएकी छन्। 

उनले यसलाई कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधिको समेत साथ मागेर अघि बढ्न प्राधिकरणलाई निर्देशन दिइन्। 'यो गुरुयोजना कार्यान्वयनका लागि जनप्रतिनिधिको समेत सहयोग लिई काम गर्नुहोला', सम्बोधनका क्रममा उनले भनिन्, 'गुरुयोजना कार्यान्वयनपछि ऐतिहासिक महत्वको सम्पदा क्षेत्र सुरक्षित हुने विश्वास मैले लिएकी छु।'

यस्तो छ योजना 

प्राधिकरणले यो परियोजना अघि बढाउने क्रममा जमलस्थित परीक्षा नियन्त्रण कार्यालयको जग्गामा त्रिचन्द्र कलेज भवन पुनःनिर्माण प्रस्ताव गरेको छ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुलामञ्च, टुँडिखेल क्षेत्रको बृहत्तर गुरुयोजना यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जमलस्थित जग्गामा त्रिचन्द्र कलेज भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको बताएका छन्। 

काठमाडौंको मौलिकता जोगाउँदै खुला ठाउँ निकाल्ने लक्ष्यसहित प्राधिकरणले रानीपोखरीदेखि दशरथ रंगशाला जोड्ने गुरुयोजना ल्याएको हो। जसलाई केपी ओली नेतृत्वको सरकारको एउटा आकर्षक योजना भनिएको छ। यसमा प्रधानमन्त्री केपी ओलीसँगै राष्ट्रपति भण्डारीले पनि चासो देखाएर कार्यान्वयनमा जोड दिएका छन्। 

प्राधिकरणले सुरुमा घण्टाघरतर्फको त्रिचन्द्र कलेजलाई प्रबलीकरण गरी जस्ताको जस्तै बनाउने योजना ल्याएको छ। त्यसपछि घण्टाघर पछाडिको खाली जग्गा र जमलस्थित खाली जग्गामा त्रिचन्द्र कलेज भवन बनाइनेछ। 

घण्टाघरतर्फको भवन प्रबलीकरणको लागि अघिल्लो वर्ष नै विस्तृत परियोजना प्रस्ताव र डिजाइन भइसकेको छ। चालु आर्थिक वर्षमा सरकारको स्रोतबाट १० करोड बजेट ल्याएर यसलाई कार्यान्वयन तयारी गरिएको छ। 

घण्टाघर पछाडिको जग्गा र जमलस्थित जग्गामा नेपालको सबैभन्दा जेठो त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्न भारतीय एक्जिम बैंकको सहयोग अन्तर्गत २ अर्ब रुपैयाँको प्रस्ताव पठाइएको छ। यो कलेजका अधिकांश पूर्वाधार खण्डहर भइसकेका छन्। यस कलेजमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन्। 

ज्ञवालीले त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र कलेजका प्रमुख, प्राध्यापक, विद्यार्थी संघ संगठनका पदाधिकारीसँग विभिन्न चरणको छलफल र परामर्शपछि गुरुयोजनाको कार्यान्वयनका लागि जमलको जग्गामा कलेज भवन बनाउने प्रस्ताव अघि बढिसकेको छ।

प्राधिकरणले त्यसका लागि २०७६ भदौमा नै कार्यकारी अधिकृत ज्ञवाली, सचिव शिवहरि शर्मा, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियौँ, शिक्षाध्यक्ष र रजिष्ट्रार त्रिचन्द्र कलेजका क्याम्पस प्रमुखसँग छलफल गरिसकेको छ।

त्यसपछि २०७६ माघमा घण्टाघरतर्फको भवन प्रबलीकरणका लागि प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकारमार्फत अघि बढाउने र घण्टाघर पछाडिको जग्गाको भवन डिजाइन थालिनेबाट छलफल भएको थियो। त्यसका लागि चालु आर्थिक वर्षमा ६५ करोड बजेट छुट्याइएको छ। 

प्राधिकरणका अनुसार बृहत् टुँडिखेल गुरु योजनामा विभिन्न चरणका योजना छन्। पहिलो चरणको नक्सा तयार भइसकेको छ। रानीपोखरी पुनर्निर्माणलाई प्राधिकरणले यसै भित्र समेटेको थियो। रानीपोखरीसँगै जोडिएको त्रिचन्द्र कलेज र रत्नपार्क हुँदै खुला मञ्चसम्मको भूभाग पहिलो चरणमै समेटिने छन्। रानीपोखरी र रत्नपार्कबीचको प्रहरी कार्यालयलाई हटाउने तयारी प्राधिकरणले गरेको छ। 

त्रिचन्द्र कलेजका लागि विकल्प खोजिसकिएको छ। प्राधिकरणले रानीपोखरी र रत्नपार्कबीचको सडकमा गाडी चल्न दिने छैन। त्यहाँ पैदल यात्रुलाई मात्र हिँड्न दिइनेछ प्राधिकरणले रानीपोखरीदेखि उत्तर नारायणहिटी हुँदै केशर महलसम्मको योजना र दक्षिणमा टुँडिखेल, सैनिक मञ्च हुँदै रंगशालासम्मको योजना समेटेको छ।

प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवालीले यो क्षेत्र बृहत् टुँडिखेलमा समेट्न नेपाली सेनासँग पनि छलफल गरिसकेको बताएका छन्। प्राधिकरणले शहीदगेटको बाटोमा पनि रत्नपार्कजस्तै सवारी आवागमन निषेध गर्ने गरी योजना बनाउँदैछ। त्यहाँ पनि मानिसलाई मात्रै हिँडडुल गर्न दिइनेछ।

गुरुयोजना अन्तर्गत तेस्रो चरणको योजनामा खुलामञ्चदेखि टुँडिखेलसम्मको क्षेत्रलाई भृकुटीमण्डप हुँदै पुतलीसडकसम्म विस्तार गर्ने योजना बनाएको छ। बृहत्तर टुँडिखेल योजनाका क्रममा सवारीसाधनका लागि अन्डर पासको विकल्पमा पनि छलफल अघि बढाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.