लापरबाहीले मृत्यु भएको भन्दै कांग्रेसको आपत्ति

|

भद्रपुर : 

डाक्टर तथा नर्स उपचार केन्द्रमा नआउँदा मंगलबार दिउँसो भद्रपुर नगरपालिका-५ मेची किनार बस्ने अन्दाजी ६५ वर्षीय लक्ष्मीसिंह राजपूत (नुनिया)ले अकालै ज्यान गुमाएका छन। 

तीन दिनअघि कोरोना लागेका उनलाई उपचारका लागि मेचीको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। श्वासप्रश्वास, रक्तचाप तथा सुगर रोगले ग्रसित संक्रमित राजपुत दिउँसो ३ बजेसम्म ठिकै थिए। त्यसपछि उनलाई सास लिन समस्या भएपछि अक्सिजन चाहियो भन्दै छटपटाइरहेको उपचार केन्द्रमै रहेका संक्रमितहरु बताउँछन्। 

कोरोना भाइरस संक्रमण लागेका व्यक्तिको उपचारका लागि स्थानीय तह, प्रदेश हुँदै संघीय सरकारसम्मले उपचार केन्द्र तथा आइसोलेसन सञ्चालनमा ल्याएको छ। 

संक्रमित व्यक्तिलाई घर नजिकैको उपचार केन्द्र तथा आइसोलेसनमा राखेर उपचार गराउन तीनै तहको सरकारले ठूलो रकम खर्चिदैछ। सरकारले सङ्क्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई समेत ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ। 

तर, पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या देशभर ह्वातै बढेसँगै उपचार केन्द्र र आइसोलेसनमा उपचाररत सङ्क्रमितको अवस्था बेहाल बनेको छ।

मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालनमा ल्याएको कोभिड–१९ उपचार केन्द्रमा एक सातादेखि कुनै डाक्टर र नर्स सङ्क्रमितको उपचारमा नखटिएका त्यहाँका सङ्क्रमितहरूले आक्रोश पोख्दै थाहाखबरलाई जानकारी दिए। सरकारले दिने ७५ प्रतिशत भत्ता डाक्टर र नर्सले त्यत्तिकै पचाउन लागेको भन्दै संक्रमित कृष्ण खतिवडाले आक्रोश पोखेका छन्।

डाक्टर तथा नर्स कोही नहुँदा एक जना कैदी सङ्क्रमितले उनलाई अक्सिजन लगाएका थिए। तर, उनको समयमा डाक्टरले उपचार नगर्दा अकालमै ज्यान गुमाउनुपरेको एक जना सङ्क्रमितले बताए।

‘म बसेको सात दिन बितिसक्यो,’ जीवन त्रिखत्री सङ्क्रमितले भने, ‘अहिलेसम्म उपचार केन्द्रमा स्वास्थ्यकर्मीको अनुहार पनि देख्न पाएका छैनौं। सरसफाइका कर्मचारी आउने खाजा र खाना दिने अनि फर्किन्छन्। बेड र उपचार केन्द्रको सरसफाइ संक्रमित स्वयं आफैंले गर्नुपर्छ।’ 

‘उपचार केन्द्रमै डाक्टर तथा नर्स नआउँदा यहाँ बस्ने सङ्क्रमितको अवस्था बेहाल छ,’ अर्का संक्रमित पङ्कज उप्रेतीले भने, ‘स्वास्थ्यकर्मी उपचार गराउन नआउने हो भने हामीलाई यहाँ किन राखिएको हो, अकालमै ज्यान गुमाउनलाई?’ ७५ जना क्षमता भएको उपचार केन्द्रमा अहिले ३५ जना संक्रमित उपचाररत रहेको मेची प्रादेशिक अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए।

यता अस्पतालका मेसु डा पीताम्बर ठाकुरका अनुसार आवश्यकता अनुसार सङ्क्रमितको उपचारमा डाक्टर र नर्स खटिने गरेका बताए। अन्य समयमा भिडियो कन्फ्रेन्स, सिसी क्यामेराको सहयोगमा सङ्क्रमितको उपचारलाई सहज बनाउने काम चिकित्सकले गर्दै आइरहेको उनले बताए।

‘दीर्घरोगी र जटिल बिरामी भएका सङ्क्रमितलाई पनि यहाँ राखेर उपचार गराउँदा समस्या भएको बताउँदै उनले भने, ‘मेचीमा सङ्क्रमितको लागि आइसियु र भेन्टिलेटर छ्टटै व्यवस्था छैन। त्यसका लागि अस्पताल प्रशासनलाई समस्या भइरहेको छ। जटिल बिरामी भएका सङ्क्रमितलाई धरान वा विराटनगर पठाउनुपर्ने हाम्रो बाध्यता छ।’         

सङ्क्रमितको मृत्यु भएपछि कांग्रेसको आपत्ति

मेची प्रादेशिक अस्पतालबाट कोरोना संक्रमित व्यक्तिहरू प्रति देखाइएको चरम बेवास्ता र अव्यवस्था प्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ।

भद्रपुर नगरपालिका साबिक २ हाल वडा नम्बर ५ का पूर्व सभापति लक्ष्मीसिंह राजपूत (नुनिया) को मृत्यु अस्पतालको लापरबाही र उदासीनताको एउटा दृष्टान्त भएको कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले बताए ।

कोरोना संक्रमित भई उनलाई उपचारका लागि मेचीको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। विडम्बना, न्यूनतम चिकित्सकीय सेवासम्म प्राप्त गर्न नसक्दा उनको मृत्यु भएको उनले बताए। राजपुतले चिकित्सकको रेखदेख प्राप्त गर्न नसक्नु र अक्सिजन सकिँदा खाना पुर्‍याउन खटिएका व्यक्ति र अस्पतालमा भर्ना भएका अन्य संक्रमित व्यक्तिहरूले अक्सिजन परिवर्तन गरिदिएका थिए। 

सोही क्रममा उनको मृत्यु हुँदा घण्टौंसम्म पनि अस्पताल प्रशासन बेखबर जस्तो थियो। यस क्षेत्रका सर्वसाधारण बिरामीको उपचारका प्रमुख केन्द्रको रुपमा रहनुपर्ने अस्पतालले बिरामीप्रति देखाएको यस किसिमको व्यवहार लगायतको अवाञ्छित प्रवृत्तिको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ। कांग्रेसले भनेको छ।

कोरोना संक्रमित व्यक्तिहरूको लागि आइसियु वार्ड, भेन्टिलेटर लगायत आवश्यक उपकरण अभाव रहेको अस्पतालमा अविलम्ब यस किसिमका चिकित्सकीय सेवाको व्यवस्था गरी कोभिड तथा नन–कोभिड बिरामीहरूलाई पर्याप्त चिकित्सकीय सेवा सुनिश्चित गर्न पनि कांग्रेसले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.