|

संखुवासभा : सामाजिक सुरक्षा भत्ताको आशामा रहेका खाँदबारी नगरपालिकाका वृद्ध वृद्धाको यो सालको दशैं खल्लो हुने भएका छ। कोरोना भाइरस संक्रमण तथा बढ्दो महँगी र त्यसमाथि वर्ष दिनको चाडमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने आशा बोकेका वृद्ध वृद्धाहरु निराश भएका छन्।

कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिएपछि उनीहरू निराश भएका हुन्। सरकारले दिने भत्ता नदिएपछि खाँदबारी धेरै जसो वृद्धवृद्धा दशैं कसरी मनाउने भन्ने चिन्तामा परेका बताएका छन्।

खाँदबारीले कर्मचारी, शिक्षक र जनप्रतिनिधीको तलब र पर्व खर्च निकासा गरेपनि सामाजिक सुरक्षा भत्ता भने वितरण गर्न नसकोको हो। वृद्धवृद्धाहरुले ऋण खोजेर दशैँ मान्न बाध्य भएको खाँदबारी–४ का ८६ वर्षीय स्थानीय बैरव राईले गुनासो गरे।

कोरोना महामारी र संकट परेको बेला भत्ता नपाउँदा झन मन खिन्न भएको राईले बताए। उनी जस्तै धेरै वृद्धवृद्धा रमाईलो गरी दशैँ मनाउने सोच बनाएका वृद्धवृद्धाहरु भत्ता नपाएर खिन्न भएका छन्।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई सामाजिक सुरक्षा भत्ताले गुजारा चलाउन टेवा पुर्‍याउँदै आएको थियो। चौमासिक रुपमा वितरण हुने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारले वितरण गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरुलाई समस्या भएको छ। दशैँ घरआँगनमा आइसक्दा पनि भत्ता नआएको खाँदबारी नगरपालिका –१ का ८८ वर्षीय धनश्याम श्रेष्ठले बताए। भत्ता नपाउँदा दशैं दशैं जस्तो नलागेको श्रेष्ठले दुखेसो पोखे।

उनले विगत वर्षहरुमा दशैँको केही दिनअघि नै भत्ता पाएको स्मरण गर्दै यसपालि भने रित्तो हात म जस्तै धेरै वृद्धवृद्धालाई निराश बनाएको बताए। दशैँ जस्तो महान् चाडमा भत्ता नपाउँदा दुःखी बनाएको एकल महिला सीता श्रेष्ठले बताइन्।

खाँदबारी नगरपालिकामा ज्येष्ठ नागरिक ज्येष्ठ नागरिक एकल महिला, विधवा महिला र दुई दलित ज्येष्ठसहित  २६ सय ४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। त्यस्तै पाँचखपन नगरपालिकामा १४ सय भन्दा बढी सामाजिक सुरक्षा भत्ता पाएका छैनन्।

सरकारले ज्येष्ठ नागरिक –३ हजार, जेष्ठ नागरिक एकल महिला– २ हजार ,विधवा महिला –दुई हजार,दलित जेष्ठ –२ हजार, अपांग (क) –३ हजार, अपांग (ख) – १ हजार ६ सय र बाल संरक्षणका लागि ४ सय का दरले भत्ता उपलब्ध गराउँदै आएको छ। दशैं जस्तो महान चाडमा समेत भत्ताबाट बिमुख हुनु पर्दा दुःखी भएका छन्।

वृद्ध मात्र होईन एकल महिला, अपांग समेत निराश बनेका छन्।  खाँदबारी नगरपालिकाले ढिला गरि रकम निकासा गरेका कारण बैंकले समय भुक्तानी गर्न नसकेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयका प्रबन्धक अनिस रायमाझीले बताए।

उनले दशैंका बेला धेरै भिडभाड हुने र कोरोनाको जोखिमले दशैंपछि मात्र वितरण गर्न बताए। संखुवासभा जिल्लामा रहेका १०  स्थानीय तहमध्ये केही स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्।

जिल्लाको पाँचखपन, मकालु, खाँदबारी लगायतले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको हो।

तथ्यांक संकलन गर्नै सकेनौँ : उपप्रमुख

लकडाउनका कारण समयमा तथ्याङ्क संकलन नहुँदा यस पटकको दशैँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको खाँदबारी नगरपालिकाकी उपप्रमुख डेगेश्वरी श्रेष्ठले बताएकी छन्। दशैँमा भत्ता वितरण गर्न नसके पनि दशैंपछि भत्ता वितरण गरिने जानकारी दिइन्। तर ८० वर्ष भन्दा माथीका वृद्धवृद्धालाई नगरपालिकाले वितरण गर्ने  दशैँ भत्ता दिई भने दिइसकेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.