च्याम्हासिंह–ताथली–नाला सडकमा स्थानीयलाई सास्ती

|

भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुर बनेपा खण्डको एक मात्र वैकल्पिक सडकका रुपमा रहेको च्याम्हासिंह–ताथली–नाला सडक जीर्ण हुँदा यस सडक भएर यात्रा गर्ने यात्रु र स्थानीयले सास्ती भोग्नु परेको छ। सडकमा जताततै खाल्डाखुल्डी परेको र सडक मर्मत गर्ने ठेकेदारले जथाभावी निर्माण सामग्री थुपारेका कारण पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको हो।

यो सडक खाल्डाखुल्डी परेर जीर्ण बनेपछि डिभिजन सडक कार्यालयले हाल मर्मत कार्य गरिरहेको छ। ब्राइट तेज स्लेट जेभीले यो सडकको सुधार मर्मतको ठेक्का पाएको छ। निर्माण कम्पनीले सडक मर्मतका क्रममा भएको कालोपत्रेसमेत डोजरले कोतरेर निकालेपछि सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ।

‘सडक बनाउन भन्दै ठेकेदारले भएको कालोपत्रे बिगार्दा केही पनि नदेखिने गरी धुलो उड्छ, घरबाट सफा लुगामा गएका व्यक्ति च्याम्हासिंह पुग्दा धुलाम्य भइसक्छ,’ ताथली ल्होपाँका स्थानीय कान्छा प्रजापतिले भने।

सडक निर्माणका लागि भन्दै निर्माण कम्पनीले सडकको ठाउँठाउँमा रिटेनिङ पर्खाल लगाएको छ, सडक खण्डका विभिन्न भागहरुको कालोपत्रे उप्काएर थुपारेको छ, सडकमै ठेकेदारले गिटी, बालुवा, ढुंगाको चिप्स थुपारेको छ। ‘सडक बनाउन भन्दै यसरी मनलाग्दी तरिकाले काम गर्दा बसी नसक्नु गरी धुलो उड्छ, सासै फेर्न गाह्रो हुन्छ,’ प्रजापतिले भने।

दैनिक दुई मेयरको ओहोरदोहोर

यो सडक भएर चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा कार्यालय आउँदा जाँदा दैनिक ओहोरदोहोर गर्ने गर्छन्। तर पनि यो सडकको स्तरोन्नति र मर्मत छिटो सक्न चासो नदिएको स्थानीयको आरोप छ।

‘यही बाटो भएर दैनिक दुई जना मेयर हिँड्नुहुन्छ, उहाँहरूलाई यहाँको दुःख थाहा नभएको हैन, यसो काम के भइरहेको छ भनी सोधीखोजी गरे ठेकेदारले काम छिट्टै गर्थ्यो,’ स्थानीय बल मानन्धरले भने।

यो सडक तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१५ सालमा शिलान्यास गरेका थियो। निर्माण पाँच दशकसम्म कच्ची बाटोको रुपमा रहेको यो सडकलाई ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना क्षेत्र विकास योजना भक्तपुरले एसियाली विकास बैंक, ओएफआइडी, ओपेक र नेपाल सरकारको संयुक्त लगानीमा पुनर्निर्माण गरेको थियो ।

करिब ५ किमि ८०० मिटरको यो सडक सन् २०१२ मा रु. ६ करोड ३७ लाख ९४ हजार चार सय ९१ मा दातृ निकायको सहयोगबाट निर्माण सकिएको थियो।

स्तरोन्नति पूर्व करिब ११ फिट चौडाइ रहेको कच्ची सडकलाई साढे पाँच मिटर चौडाइमा विस्तार गरी कालोपत्रे गरिएको थियो। नालीसहित २२ फिट चौडाइको यो सडक निर्माण सकिएको तीन महिनामा नै कालोपत्रे उप्किन थालेपछि विवादसमेत भएको थियो। भक्तपुरको च्याम्हासिंहबाट ताथली हुँदै नाला पुग्ने सडकका अधिकांश खण्ड जीर्ण भएपछि डिभिजन सडककले वर्षेनी खाल्डाखुल्डी टाल्ने काम गर्दै आएको थियो।

सडकबारे व्यापक गुनासो

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख मिश्रले सडकबारेमा व्यापक गुनासो आउने गरेको स्वीकारे। उनले ठाउँठाउँमा सडक बिग्रिँदा आवतजावतमा समस्या भएको विषयमा आफूलाई थाहा भएको र जनताको समस्या समाधानका लागि पहल गरिरहेको बताए।

सडक डिभिजन कार्यालयका इञ्जिनियर आश्मा न्यौपाने उक्त सडकको स्तरोन्नतिको काम भइरहेको बताउँछिन्। उनले बिग्रेको भाग कोतर्ने, ठाउँठाउँमा टालटुल गरी नयाँ सर्फेस(पीच) गर्ने, आवश्यक ठाउँमा ढलान गर्ने काम हुने जानकारी दिइन्।

ठेकेदारमार्फत् काम भइरहेको उक्त सडकको स्तरोन्नतिका लागि रु. ५ करोड गत वर्ष नै विनियोजन भएको उनको भनाइ छ। उनले गत वर्षको चैतबाट सरकारले लागू गरेको लकडाउनको कारण काममा ढिलाइ भइरहेको बताइन्। ‘ठेकेदारले गत असारमै सबै काम सकाउनु पर्ने थियो, तर परिस्थिति सहज नहुँदा तोकिएको समयमा काम हुन सकेन, तर अहिले काम अघि बढेको छ,’ उनले भनिन्।

उनले सडक विस्तारअन्तर्गत नाली बनाइएको, फराकिलो बनाइएको बताउँदै ठेकेदारले आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र काम सकाउनुपर्ने जानकारी दिईन। यता सब इञ्जिनियर राकेश श्रेष्ठले आगामी पुससम्मका बजेट अनुसारको काम सम्पन्न हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.