|

तनहुँ : तनहुँका ७ वटा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले दशैं खर्चवापतको रकम कोरोना कोषमा जम्मा गरेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुले दशैं खर्च वापतको रकम सम्बन्धित पालिकाको कोरोना कोषमा जम्मा गरेका हुन्।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख तथा उपप्रमुखसहित ७ पालिकाका जनप्रतिनिधिले दशैं खर्च बापतको रकम कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र उपप्रमुख पवित्रा पौडेलले दशैं खर्च वापतको रकम कोभिड कोषमा जम्मा हुने गरी व्यास नगरपालिकालाई हस्तान्तरण गरेका छन्। उनीहरूले उक्त रकमको चेक बुधबार व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लराम सिग्देललाई हस्तान्तरण गरेका हुन्। प्रमुख वाग्लेले ३२ हजार रुपैयाँ र उपप्रमुख पौडेलले २८ हजार रुपैयाँ नगरपालिकाको कोभिड कोषमा जम्मा गरेका छन्।

सोहीअनुरूप व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशीले पनि बुधबारै दशैं खर्चवापतको रकम कोभिड कोषलाई हस्तान्तरण गरेका छन्।

प्रमुख न्यौपानेले र उपप्रमुख जोशीले ३०/३० हजार रुपैयाँ कोभिड कोषमा रकम जम्मा हुने गरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देललाई चेक हस्तान्तरण गरेको नरपालिकाका आइटि अधिकृत विशाल पण्डितले जानकारी दिए।

त्यसैगरी, भानु नगरपालिकाका प्रमुख उदयराज गौली र उपप्रमुख आशा थापा, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्ष गिनुमाया थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ तथा देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापाले दशैं खर्च वापतको रकम आ–आफ्नो पालिकाको कोभिड कोषमा जम्मा गरेका छन्।

नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुले ३०/३० हजार र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षले २५/२५ हजार रुपैयाँ कोषमा जम्मा गरेका हुन्।

रकम हस्तान्तरण कार्यक्रममा समन्वय समिति तनहुँका प्रमुख वाग्लेले कोरोना संक्रमितको उपचारबाट सरकारले विमुख भएपछि सम्बन्धित पालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरिएको बताए।

देशमा दिनप्रतिदिन कोरोना भाइरसको थपिने क्रम बढेको अवस्थामा सरकार पन्छिदा सर्वसाधारणलाई जनप्रतिनिधिले अभिभावकत्व ग्रहण गर्न सक्नुपर्ने उनको भनाइ छ।

व्यास नगरपालिकाका प्रमुख न्यौपानेले दैनिक रुपमा हजारौं संक्रमित देशमा थपिरहेको अवस्थामा पिसिआर परीक्षण नगर्ने निर्णयले जनतामा निराशा छाएको भन्दै स्थानीय सरकारले संरक्षण गर्नुपर्ने दायित्व पुरा गर्न रकम कोषमा दाखिला गरेको बताए।

न्यौपानका अनुसार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सहयोगले निःशुल्क रुपमा पिसिआर परीक्षणलाई निरन्तरता दिन टेवा पुग्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.