|

बैतडी : सुर्नया गाउँपालिकामा गत असोज २६ गतेदेखि लागेको ताला अझै खुल्न सकेको छैन। 

गाउँपालिकाको केन्द्र कठ्यागौैंडमै हुनुपर्ने मागसहित स्थानीयले संघर्ष समिति गठन गरेर तालाबन्दी गरेका थिए। तर पबितालाई केन्द्र बनाइएपछि असन्तुष्ट समूहले तालाबन्दी गरेका हुन्। 

गत असोज २८ गते मुचुल्का बनाएर ताला खोल्ने क्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि नै कुटपिट भएको थियो। प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाका अनुसार त्यस दिन गाउँपालिका अध्यक्षसहित १४ जना घाइते भएका थिए। 

गाउँपालिका अध्यक्ष अझै उपचाररत रहेकाले छलफल नै हुन नपाएको उनले बताए। अब दशैंपछि असन्तुष्ट समूहसँग बसेर छलफल गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए। 

गाउँपालिकामा तालाबन्दी भएपछि सेवाग्राही मारमा परेका छन्। गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा अहिले गाउँलेहरुबीच समेत तिक्तता आएको छ।
कसैले पबिता केन्द्र उपयुक्त हुने तर्क गरिरहेका छन् भने कसैले साविककै ठाउँमा केन्द्र उपयुक्त हुने बताएका छन्। ​

छलफलबाट समस्या समाधान गर्नुको साटो कुटपिटमै उत्रिएपछि अब त्यो ठाउँमा जान मुस्किल भएको सव वडा नम्बर १ अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए। सुरक्षाको प्रत्याभूति नहुँदा त्यो ठाउँमा जान नसकिने उनको भनाइ छ।

गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।​

यो पनि पढ्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.