|

सल्यान : शारदा नगरपालिकाले फोहर व्यवस्थापनका लागि निर्माण गरेको डम्पिङ साइटको फोहोर जलाउँदा स्थानीय दुर्गन्धको मारमा परेका छन्। वडा नम्बर ३ को टिमुरखोला टोल विकास क्षत्रको सुकेखोला किनारको बस्ती नजिकै नगपालिकाले फोहोर फाल्ने र जलाउँदै आएको छ। 

डम्पिङ साइटमा फोहोरको मात्रा बढ्दै गएको छ। कुहिने नकुहिने फोहर नछुटयाई आगो लगाउँदा स्थानीयस्तरमा दुर्गन्ध फैलिएको टोल विकास संस्थाका सचिव नरेन्द्र वलीले बताए। 

नगरपालिकाले फोहोर व्यवस्थापन गर्न स्थानीयको अनुमति नलिएको र डम्पिङको उचित व्यवस्था नगरेको वलीले बताए। जसका कारण स्थानीय मात्र नभई बटुवालाई समेत सास्ती भएको छ। 

वलीले भने, ‘कुहिने र नकुहिने फोहर एकै ठाउँमा राखेर जलाउँदा हामीलाई समस्या भएको छ, फोहरको धुवाँले स्वास्थ्यमा समेत असर पर्न थालेको छ, मास्क लगाएर काम गर्दै आएका छौं।’

नजिकै पानीको मुहान, खोलामा समेत यसको पर्यावरणीय तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने भन्दै स्थानीय चिन्तित भएका छन्। पटक पटक नगरलाई व्यवस्थापन गरिदिन आग्रह गर्दासमेत अहिले सम्म फोहोरको व्यवस्थापन हुन नसकेको उनले बताए।

फोहोर मैला व्यवस्थापन ऐन २०७० को दफा ४ को उपदफा ३ मा फोहरमैला निष्कासन व्यवस्थापनका लागि स्थान र तरिका, स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि ध्यान दिनुपर्ने लेखिए पनि त्यसको सही ढंगले कार्यान्वयन हुन नसेको वलीको भनाइ छ।  

खलंगा र श्रीनगर बजारमा संकलन भएको फोहोर डम्पिङ साइटमा थुपारिँदा हिडँडुल गर्नसमेत गाह्रो भएको अर्का स्थानीय गंगाप्रसाद केसीले बताए। पटक पटक स्थानीयले लिखित तथा मौखिक रुपमा नगरपालिकालाई जानकारी गराउँदासमेत यसको व्यवस्थापनका लागि कुनै काम बढाउन नसकेको उनले बताए। 

यता नगरप्रमुख सुरेश अधिकारीले बस्ती बस्नुभन्दा पहिले नै शारदा नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइड निर्माण गरिएको बताए। डम्पिङमा फोहर अव्यवस्थित भएको भए स्थानीयको समस्यालाई सम्बोधन गरिने उनको भनाइ छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.