ओली पक्षले मुख्य सचेतकसमेत गुमायो

|

काठमाडौँ : कर्णाली प्रदेशमा दुई सातादेखिको सत्ता संघर्षमा तत्काललाई ब्रेक लागेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध लगाइएको महाभियोग प्रस्ताव असफल भएसँगै कर्णालीको संकट अहिलेलाई टरेको हो।

अविश्वासको प्रस्तावविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरु एक भएपछि शाहीलाई हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरुको प्रयास विफल भएको हो। 

शुक्रबार बिहान बसेको नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत गरेपछि 'मुख्यमन्त्री हत्याउने' ओली पक्षको दाउ तत्काललाई फेल भएको हो।

१८ सांसदले असोज २५ गते दर्ता भएको अविश्वासको प्रस्तावमा अध्यक्ष दाहाल र नेता नेपाल पक्षले हात झिकेका थिए। प्रदेशका ३३ सदस्यमध्ये १८ जनाले शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। 

ओली-दाहाल कहाँ कुरा मिलेन?

नेतृत्वलाई लिएर विवाद उत्पन्न भएपछि कर्णाली प्रदेशका पदाधिकारीहरूलाई प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले काठमाडौँ बोलाएका थिए। विवाद मिलाउन जिम्मा लिएका ओली दाहालबीच पटक पटक वार्ता बस्दासमेत सहमति जुट्न सकेको थिएन।

तत्कालीन माओवादीका संसदीय दलका नेता मुख्यमन्त्री शाही र तत्कालीन नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच चुलिएको द्वन्द्वमा तत्काललाई शाहीले सुरक्षित अवतरण गराएका हुन्। कँडेल पक्षले अविश्वासको प्रस्ताव राखेपछि विवाद काठमाडौंसम्म आइपुगेको थियो। 

मुख्यमन्त्रीमा तत्कालीन एमालेका नेता कँडेलको नाम चर्चामा आए पनि पार्टी एकतापछिको भागबण्डामा पूर्व माओवादीबाट शाही मुख्यमन्त्री बनेका थिए। कँडेल प्रधानमन्त्री ओलीनिकट हुन्।

रडाको मच्चिएपछि काठमाडौं बोलाएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले बेग्ला बेग्लै छलफल गरे पनि सहमति बन्न सकेको थिएन। त्यसपछि विवाद बोकेरै उनीहरु सुर्खेत फर्किएका थिए। कर्णाली विवादलाई लिएर मंगलबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको तर्फबाट छुट्टाछुट्टै प्रेस नोटसमेत सार्वजनिक भएको थियो। 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चार बुँदे सहमति बनेको प्रेस नोट जारी गरेका थिए। तर, लगत्तै अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले कुनै सहमति नभएको भन्दै त्यसको खण्डन गरेका थिए। 

प्रचण्ड समूहका शाहीलाई हटाउन ओली र नेपाल पक्षले मोर्चाबन्दी गरेका थिए। जसमा शाही पक्षका केही सांसद पनि लागेका थिए। तर, अन्तिममा नेपाल पक्षसँग शाहीले क्याबिनेटमा भागभण्डा मिलाएपछि उनीविरुद्धको अविश्वासको संकट टरेको थियो। तर त्यो संकट टरे पनि कर्णालीको विवादले अहिले खुमलटार, कोटेश्वर र बालुवाटारलाई विभाजन गरिदिएको छ। दाहाल पक्षले ओलीसँगै झनै सशंकित भएको छ।

कर्णालीमा देखिएको विवादमा प्रधानमन्त्री ओलीले नेता नेपालको समेत साथ खोजेका थिए। तर, उनले प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अस्वीकार गरिदिएका स्रोतको दाबी छ। पाटीभित्रको विवाद क्रममा प्रधानमन्त्री ओलीबाट बिच्किएका नेता नेपाललाई प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर मिल्न आग्रह गरेका थिए। 

मुख्यमन्त्री ताक्दा सचेतक पनि गुम्यो

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव बढाएर मुख्यमन्त्री बन्ने दाउमा रहेका प्रधानमन्त्री ओलीनिकट नेता कँडेलको रणनीति असफल भएको छ। अध्यक्ष दाहाल र नेता नेपाल पक्षले अविश्वासको प्रस्तावबाट हात झिकेपछि ओली समूहले मुख्य सचेतक पदसमेत गुमाएको छ। 

आजको बैठकले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि  मुख्य सचेतक रहेका गुलाबजंग शाहको पद गुमेको हो।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढेपछि उनले शाहलाई सचेतक पदबाट हटाइदिएका थिए। शाहलाई हटाएर मुख्यमन्त्री शाहीले सीता नेपालीलाई नियुक्त गरेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.