अस्पतालमा भन्दा धेरै संक्रमित घरमै छन्

|

काठमाडौं : पछिल्लो एक महिनायता कोरोना (कोभिड-१९) हटस्पट बनेको काठमाडौं उपत्यकामा संक्रमितको संख्या थामिने अवस्थामा छैन। दैनिक २ हजार भन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा निरन्तर थपिँदैछन्।

उपत्यका तीन जिल्लामध्ये काठमाडौंमा चाहिँ कोरोना संक्रमणले डरलाग्दो रुप लिएको छ। भक्तपुर र ललितपुरमा २ देखि ४ सयको बीचमा संक्रमित थपिँदा काठमाडौंमा भने २ हजारको हाराहारीमा नयाँ संक्रमित बढिरहेका छन्।

काठमाडौंमा तोकिएका पाटन, टेकु र बलम्बुस्थित कोभिड उपचार केन्द्र भरिभराउ भएका छन्। अर्कातिर वीर, शिक्षण, आयुर्वेद उपचार केन्द्र कीर्तिपुरसहितका लक्षणसहितका बिरामीको चाप दिन दिनै बढिरहेको छ।

यस्तोमा पछिल्लो समयमा काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या पनि अपत्यारिलो तरिकाले निरन्तर उकालो लागिरहेको छ। दैनिक २ हजारभन्दा धेरैको दरमा संक्रमित थपिइँरहँदा काठमाडौं जिल्लामै देशभरको करिब आधा सक्रिय संक्रमित होम आइसोलेसन र अस्पतालमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार देशभर शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ९ सय ९१ पुगेको छ। यो भनेको अहिलेसम्म भेटिएका संक्रमितको ३० दशमलव ६ प्रतिशत हो।

गौतमका अनुसार ६९.३ प्रतिशत अर्थात १ लाख ५ हजार ४ सय ८८ निको भएर घर गएका छन्। सरकारले हालसम्म १३ लाख ६७ हजार १६ पिसिआर परीक्षण गरेको छ।

यस्तोमा देशभर अहिलेसम्म जम्मा पोजेटिभ संख्या १ लाख ५३ हजार ८ रहेको छ। पछिल्लो समय लक्षणसहितका संक्रमित बढेपछि निको हुने दर ६८.०९ प्रतिशतमा झरेको छ। जुन कुनै बेला ७४ प्रतिशत थियो।

हालसम्म कोरोनाका कारण ८ सय २९ जनाले ज्यान गुमाएको गौतमले बताए। यसमा ठूलो संख्या उपत्यकामा ज्यान गुमाउनेको पनि छ। मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशत अर्थात ४८ हजार ६ सय ६४ महिला संक्रमित भएका छन्। ६८ प्रतिशत अर्थात १ लाख ४ हजार ३ सय ४४ जना पुरुष संक्रमित भएका छन्।

काठमाडौंको चित्र

गौतमका अनुसार शुक्रबारसम्म काठमाडौं जिल्लामा मात्रै २० हजार १ सय ९६ जना सक्रिय संक्रमित छन्। जसमा धेरै ठूलो संख्या घरमै रहेको छ। काठमाडौंमा १३२ जनाले ज्यान गुमाइसकेका छन्। काठमाडौं जिल्लामा मात्रै ५४ हजार २ सय ४५ लाई संक्रमण भएको छ। अहिलेसम्म यहाँ ३३ हजार ८ सय ६३ निको भएका छन्।

भक्तपुरमा १३ सय ६५ जना सक्रिय संक्रमित छन्। जहाँ ३६ सय २९ जना निको भइसकेका छन्। अहिलेसम्म भक्तपुरमा ५४ जनाले ज्यान गुमाएका छन्। भक्तपुरमा शुक्रबारसम्म ५ हजार ४८ जना संक्रमित भेटिएका छन्।

ललितपुरमा २५ सय ७४ जना सक्रिय संक्रमित छन्। हालसम्म त्यहाँ ४९ सय ३३ जनाले कोरोनालाई जितिसकेका छन्। हालसम्म ललितपुरमा ५३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म जम्मा ७५ सय ६० जनालाई संक्रमण भइसकेको छ।

मन्त्रालयका अनुसार उपत्यकामा तीन जिल्लामा मात्रै २४ हजार एक सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। यो भनेको देशभरका ४६ हजार ६ सय ९१ को आधाभन्दा धेरै अर्थात ५५ प्रतिशतभन्दा धेरै हो।

आजको कुरा

काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबार २७ सय २० जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा १६ सय २८ जना पुरुष र एक हजार ९२ जना महिलामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लाको होम आइसोलेसनमा १० हजार ५ सय १ जना छन्। त्यस्तै ललितपुरमा २८ सय ९४ जना र भक्तपुरमा १७ सय १९ जना संक्रमित घरमै रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.