४ सय ६८ जनामा संक्रमण पुष्टि

|

बैतडी : जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा तत्कालका लागि पिसिआर परीक्षण रोकिएको छ। 

केमिकल अभाव र दशैंको समयमा कर्मचारी बिदामा भएकाले कोरोना परीक्षण रोकिएको जिल्ला अस्पताल श्रोतले जनाएको छ। काठमाडौंबाट १२ गतेमात्रै केमिकल पुग्ने जानकारी प्राप्त भएकाले कात्तिक १२ गतेपछि मात्रै प्रयोगशालाबाट परीक्षण सुरु गरिने जिल्ला अस्पतालका वरिष्ठ ल्याब असिष्टेन्ट चन्द्रसिंह डोबालले जानकारी दिए। 

उनले भने, ‘अहिले स्वाब पनि कम संकलन भएको र आकस्मिक परीक्षण गर्नुपरे डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्न आग्रह गरेका छाैं। गएको असोज १ गतेदेखि कोरोना परीक्षण सुरु गरिएको प्रयोगशालामा अहिलेसम्म १ हजार ४ सय ११ नमुना परीक्षण गरिएको डोबालले जानकारी दिए।

जिल्ला अस्पतालमा सञ्चालित प्रयोगशालामा परीक्षण रोकिँदा स्थानीय तहहरुले संकलन गरेका स्वाबलाई डडेल्धुरा पठाउने गरिएको छ। आकस्मिक परीक्षण गर्नुपर्ने स्वाबहरु संकलन गरेर डडेल्धुरा पठाउने गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत असोज १ गतेदेखि जिल्ला अस्पताल बैतडीमा पिसिआर प्रयोगशाला स्थापना गरिएको थियो। 

४ सय ६८ जनामा संक्रमण पुष्टि

बैतडीका थप दुई जनामा कोरोना पुष्टि भएको छ। शनिबार डडेल्धुरा अस्पातलको प्रयोगशालामा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको  हो। दोगडाकेदार गाउँपालिका–२ का २१ वर्षीय पुरुष र मेलौली नगरपालिका–२ का २० बर्षीय महिलामा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

दोगडाकेदारका संक्रमित पुरुष ३ हप्ता अघि भारतबाट फर्केका र मेलौलीका संक्रमित महिला एक हप्ताअघि काठमाडौंबाट जिल्ला भित्रिएका हुन्। शनिबार थप दुई जनामा कोरोना पुष्टि भएसँगै जिल्ला संक्रमितको संख्या ४ सय ६८ पुगेको छ। ४ सय ६८ जनामध्ये ४ सय ४२ जना निको भएर घर फर्केका छन् भने २५ जना सक्रिय संक्रमित छन्। एक जनाको भने बैतडीमा कोरोनाका कारण मृत्यु भइसकेको छ। 

सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६ जना रहेका छन्। यस्तै पाटन नगरपालिका र मेलौली नगरपालिकामा ५÷५ जना सक्रिय संक्रमित रहेका छन्। 

यस्तै सुर्नया गाउँपालिकामा ३, डिलाशैनी गाउँपालिकामा २ जना, सिगास, पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। 

हाल पुर्चौडी नगरपालिकामा भने सक्रिय संक्रमित शून्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो समयमा भारत तथा नेपालकै कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिकहरुमा कोरोना पुष्टि हुन थालेपछि समुदायमा कोरोना फैलन सक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.