डोल्पा : हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ।
जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदको समयमा हुन सक्ने खाद्यान्न संकटलाई मध्यनजर राख्दै उपल्लो डोल्पाका तीन स्थानीय तहमा कात्तिक महिनाभित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको हो। उपल्लो डोल्पामा पर्ने खाद्य संकटलाई मध्यनजर राख्दै कात्तिक महिनाभित्र खाद्यान्न ढुवानीका लागि संघीय, प्रदेश र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रिय कार्यालय लगायतका सम्बन्धित निकायलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ।
उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा कात्तिक महिनाभित्रै स्थलमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिए।
‘कोरोना भाइरसका कारण चीनको स्वसासित क्षेत्र तिब्बत हुँदै उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकामा खाद्यान्न लैजान चीनले भिसा दिएन,’ बुढाले भने, ‘सोही कारणले हिउँदको समयमा उपल्लो डोल्पामा खाद्यान्न संकट पर्ने खतरा छ।’
कोरोना भाइरसका कारण मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा टिप्न नपाउनुका साथै ठेकेदारले चिनियाँ मार्ग हुँदै चामल, नुनलगायतका सहुलितको खाद्यान्न ढुवानीका लागि भिसा नपाएपछि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ। सहुलितय मूल्यमा पाइने सरकारी चामल नगएपछि ३० किलोको छ हजार तिरेर खरिद गर्न बाध्य भएको उपल्लो डोल्पालीको गुनासो छ।
खाद्यान्नसँगै आर्थिक संकट परेपछि स्थानीय साहुबाट महँगो ब्याजमा ऋण काडेर चामल किनेर खाने गरेको उपल्लो डोल्पामा पर्ने धो गाउँका स्थानीयले बताए।
‘पैसा हुनेले नगद दिएर चामल खान्छन्। नहुनेले चामलको मूल्यमा ३६ प्रतिशत ब्याज जोड्ने गरेर उधारोमा चामल खान्छन्,’ धो गाउँका नेयार भोटेले भने, ‘यस वर्ष यार्सागुम्बा टिप्न नपाएकाले केही नागरिकबाहेक अधिकांशको आर्थिक अवस्था नाजुक छ।’
उपल्लो डोल्पामा उवा र आलु गरेर दुई बालीमात्र उत्पादन हुने भएकाले अरु सबै अन्यत्रबाट किनेर गुजारा गर्नुपर्ने बाध्यता छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।