|

काठमाडौं : करिब ३५ वर्ष नेपाली पत्रकारितामा अनवरत क्रियाशील रहेका जीवराम भण्डारी हाल योहो टेलिभिजनमा समाचार प्रमुख तथा प्रस्तोताका रूपमा कार्यरत छन्। जीवनको लामो कालखण्डमा भएका पत्रकारिताको उतारचढावको साक्षी पनि हुन। ओखलढुंगाको रुम्जाटारमा जन्मिएका उनी अहिले फर्केर हेर्दा बालापनको दशैँ उमंगले भरिएको बताउँछन्।

उनको दशैँ अनुभव :
 
परिवारमा अलि बढी आदर्श वा संस्कारयुक्त हुनुपर्ने वा देखिनुपर्ने यसलाई बाध्यता वा नियती जे भन्दा पनि भयो।  सकेसम्म दशैँमा पनि नयाँ कपडाको लागि झगडा गर्ने भन्ने हुँदैनथ्यो।अहिले मेरो त्यस बेलाको दशैँ सम्झनु पर्दा त्यसबेला गाउँमा जब दशैँ आउँथ्यो, त्योभन्दा केही समयअघि हाम्रो घरमा सूचीकार लुगा सिउने हातेकल बोकेरै आउथे।  हाम्रो पिँढी वा आगनमा बसेर नयाँ  कपडा सिलाउथे । हामी दशैँमा तिनै कपडा लगाएर दंग पर्दै गाउँ डुल्थ्यौं।

गाउँका अरू समकालीन साथीहरू सिलाएर लगाएको नयाँ कपडा देखेर  जिस्क्याउँथे। म लाजले भुतुक्क हुन्थेँ। अर्को कुरा हामी दशैँको अष्टमी, नवमी र दशमीको दिनका लागि वस्तुभाउलाई भनेर घाँसको जोहो पहिले नैं गर्थ्यौ। तीन दिन हाम्रा लागि गोठालो जानुपर्ने बाध्यता पनि हट्ने गर्थ्यो। यो रुचिको विषय हुने गर्थ्यो।

गाउँमा अलि सम्भ्रान्त परिवार रहेकाले गाउँ भरिका मान्छे घरमा स्तरअनुसार कोदो,मकै,घैया दशैंको लागि पैंचो लिन वा किन्न आउँथे। जब मानिस दशैंको जोहो गर्न हाम्रा घरमा झुम्मिन्थे  बल्ल दशैंको आएको झल्को आइपुग्थ्यो।

अहिले जस्तो सहज पहुँच थिएन। सबै मान्छेलाई चामल खान पाउने अवस्था पनि थिएन। धेरैका घरमा दशैं आयो भने चामलको भात खान पाइन्थ्यो। बुबा आमाको हातबाट टीका लगाउनेहरू पर-परका गाउँबाट घरमा आउँथे। जसले गर्दा हाम्रो मामाघर जाने पालो पर्सिपल्ट मात्र आउँथ्यो। हामी पैदल नै मामा घर पुग्नुपर्थ्यो।

गाउँ नेवार,गुरुङ,क्षेत्री,दमाईंको बस्ती बीच मेरो घर छ । दशै अघि नै साथीहरू जम्मा भएर चामल कुटेको हेर्न जानुको मजा अहिले कहाँ छ र ?  घैयाको चिउरा कुट्नेहरूको बीचमा हामी कसले धेरै बोरा चिउरा कुट्छन् हिसाब गर्थ्यौ। महिनौंसम्म फलाना घरमा यति चिउरा बनाए भनेर आमा दिदीबहिनी बिच गफ गर्ने विषय हुन्थे। चिउरा हाम्रा समूहमा प्रतिष्ठा थियो। इज्जत थियो।

फूलपातीको दिन नेवार समुदायले रातमा राँगा ढाल्थे ! हामीलाई त्यो हेर्न खुब रमाइलो लाग्थ्यो। तर त्यहाँ राँगा काटेको हेर्न गएको बाआमा मन पराउनु हुन्नथ्यो।  तर, म भने बुबा आमाको आँखा छलेर  राँगा काटेको हेर्न पुग्थें। तीन दिन रोचक मात्र होइन मेरा लागि आज पनि उस्तै खुशी हुने माध्यम हुन्।

बुबा दशैँको खर्च पानी जुटाउन घरको कोदो, धान र मकै लगायतका अन्नपात बेच्नुहुन्थ्यो। त्यो पैसाबाट घरका लागि दशै र अन्य आइपर्ने बजारिया सामग्री जुट्थे।

जब दशैँ आउँथ्यो। दशैंको टिकाको दिन बाआमाको भने रुनुहुन्थ्यो। आखिर किन रुनुहुन्थ्यो सधैं कौतुहल थियो मेरा लागि। पछि   मात्र थाहा भयो। मेरो जेठो दाजु सानो उमेरमै बित्नुभएको थियो। चाडबाडमा दाइको सम्झना बुबा आमालाई खुबै आउँदो रहेछ। बिछोडिएका परिवारको सम्झना अन्य समयभन्दा बढी चाडबाड आउँदो रहेछ भन्ने मैले त्यो बेला थाहा पाएँ।

घरबाट ५ घन्टा पैदल हिँडेर आमासँग म ओखलढुंगाको तलुवा भन्ने ठाउँ पर्ने मेरो मामा पुगिन्थ्यो। मामाले हाम्रा लागि मासु सुकाएर राख्नुहुन्थ्यो। घरमा खाएको मासुभन्दा मामाघरको त्यो मासु मेरो लागि अझ बढी स्वादिलो र मीठाे लाग्थ्यो। 

मामा टीका लगाएर ५ रुपैयाँ दिनुहुन्थ्यो। त्यो ५ रुपैयाँ मलाई धनी हुन काफी थियो। हाम्रा लागि  पैसा अति नै मूल्यवान र महत्वपूर्ण थिए।

उमेर बढ्दै गयो। ४० सालमा काठमाडौं पढ्न आएपछि भने साथीहरू उतै छुटे। बालापनका याद मात्र आफूसँग भए। ल क्याम्पसमा  पढेँ। २०४३ सालमा पत्रकारिता सुरु गरियो। बुबा न्यायाधीश बनाउन चाहनुहुन्थ्यो। 

मैले भने 'हिन्दु दैनिक'बाट पत्रकारिता सुरु गरेँ। यो क्षेत्रमा आए पछि दौडधुप सुरु भयो। चाडबाडभन्दा पनि कामले बढी मलाई बेफुर्सदिलो बनायो। सुरुका चरणमा पत्रकारिता गर्दा दु:ख धेरै भयो। न भनेको बेला पैसा पाइने, न कम दु:खले काम हुने। 

त्यसबेला पत्रकार स्वयं मार्केटर हुन्थ्यो। उसले विज्ञापन ल्याउँथ्यो। म पनि यसै गर्थें। मैले पहिलोपटक पत्रकारिताबाट ४ सय कमाएको थिएँ। दशैंमा वर्षभरि गरेको दु:ख भुल्न म घर जान पाउँथे। क्रमश म अरु पत्रिकामा पनि गएँ । समकालिन साप्ताहिकमा सम्पादकका रुपमा काम गरें। अनि क्रमश टेलिभिजन तिर पनि हात हालियो।

अहिले म योहो टेलिभिजनमा कार्यरत छु। टेलिभिजन आफैँ उपस्थित भएर गर्नुपर्ने काम छ। यद्यपि अष्टमी, नवमी, दशमी र एकादशीबाहेक अन्य समय म टेलिभिजनमा नै हुने गर्छु। जिम्मेवार पदमा पुगेपछि जिम्मेवारी बहन गर्न सक्नुपर्छ। ती दिनलाई भनेर सबै कार्यक्रम सेट गर्ने काम पूरा भएका छन्। 

अहिलेको दशै मात्र होइन कुनै पनि चाडपर्व हामी गाउँले जीवन बाँचेर आएकोले होला शहरमा संकुचन भए जस्तो लाग्छ। हामी प्रविधिले व्‍यस्त भयौँ। अझ बढी बन्दी भयौँ कि भन्ने पनि लाग्छ। हाम्रा मूल्य र मान्यताहरू पनि विस्तारै हराउँदै गएका छन्। दशैँ दशैँ जस्तो रहेन। हाम्रा मूल्य र मान्यतामा हराउँदै जाँदा हामी रोबर्ट जस्ता देखिन थालेका छौँ।

अब विस्तारै उमेर ढल्किँदै गए पनि दशैँ आएपछि म मेरो ओखलढुंगाका ती दिन सम्झन्छु। ती साथी सम्झन्छु। ती गोठालो जिन्दगी सम्झन्छु। अनि मामाले दिएको ५ रुपैयाँ सम्झन्छु। बालापनको दशै सम्झन्छु र भित्रभित्रै खुसी हुन्छु ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.