|

बैतडी : ८ महिनादेखि तलब नपाएका बैतडीका सिगास गाँपालिकाका निजी स्रोत दरबन्दीका शिक्षकको मुख्य चाडबाड पनि खल्लो भएको छ। 

सामुदायिक विद्यालय निजी स्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले भनिन्, ‘गाउँपालिकाले गत वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुलाई तलब दिने गरेको थियो । तर गएको चैत महिनायता तलब नपाउँदा हामीहरुलाई समस्या भएको छ।’ 

८ महिनायता तलब नपाउँदा आफूहरुलाई निकै समस्या भएको लेकलुपण माविमा कार्यरत शिक्षक रामसिंह धामीले पनि बताए। गाउँपालिकाले आफूहरुको समस्या नबुझेको उनको गुनासो छ।

उनले भने, ‘कोरोना भाइरस महामारी एकातिर छ। यो अवस्थामा हामीले काम गरेको समेत पैसा पाएका छैनौं। ८ महिनादेखि तलब नपाउँदा यो वर्षको दशैं खल्लो भएको छ।’ 

गत वर्षदेखि निजी स्रोतका शिक्षकहरुको तलब व्यहोर्ने जिम्मा लिएको गाउँपालिकाले तलब दिन नसकेको शिक्षकहरुले बताएका छन्।

यो विषयमा सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले राजस्व बाँडफाँट शीर्षकमा रकम निकासा नभएकाले निजी स्रोतका शिक्षकहरुलाई तलब खुवाउन नसकिएको बताए।

निजीस्रोतका शिक्षकहरुलाई तलब खुवाउन सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको उनको भनाइ छ। उनले भने, ‘शिक्षक साथीहरुले मसFग पनि गुनासो गर्नुभएको थियो। एक चौमासिक भए पनि तलब खुवाउने तयारी गरेका थियौं। तर राजस्व बाँडफाँट शीर्षकमा बजेट निकासा कम हुँदा खुवाउन सकेनौं।’

सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरुका समस्याबारे दशैंपछि बसेर छलफल गरिने शिक्षा शाखा प्रमुख भट्टले बताए। केही वैकल्पिक उपाय सोचेर भए पनि शिक्षकहरुलाई तलब खुवाउन पहल गरिने उनले आश्वासन दिए। 

सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा  गरी १ सय ९२ जना निजी स्रोतका शिक्षकहरु कार्यरत रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.