|

पर्वत : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित थप पाँच जनाको मृत्यु भएको छ। योसँगै प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ६८ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा जारी गरिएको सोमबारको सातौँ विज्ञप्तिमा तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ। मृत्यु भएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–५ का ७३ वर्षीय पुरुष छन्।

गत असोज ५ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका ती पुरुषमा असोज ६ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो। उपचार क्रममा असोज ९ गते उनको मृत्यु भएको हो।

मृत्यु भएका अर्का एक जना पनि नवलपरासीकै कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुष हुन्। उनमा असोज तीन गते सङ्क्रमणको पुष्टि भएकोमा उपचारको क्रममा आइतबार राति साढे २ बजे मृत्यु भएको हो।

यस्तै तेस्रो मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१५ की ७८ वर्षीया महिला रहेकी छन्। असोज ८ गते उपचारका लागि चरक मेमोरियल अस्पतालमा भर्ना भएकी उनमा सोही दिन नै सङ्क्रमणको पुष्टि भएको थियो। उपचारकै क्रममा असोज ९ गते राति ११ बजे उनको मृत्यु भएको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत कास्कीकै पोखरा महानगरपालिका–५ का ५५ वर्षीय पुरुषको पनि असोज ९ गते राति ९ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ। निमोनिया र मुटुसम्बन्धी समस्याबाट ग्रसित उनमा असोज ६ गते सङ्क्रमण पुष्टि भएको थियो।

सोमबार पाँचौँ मृत्युको पुष्टि गरिएका व्यक्ति तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का ५० वर्षीय पुरुष छन्। निमोनिया र मुटुको समस्याबाट ग्रसित ती पुरुषमा असोज ८  गते सङ्क्रमण पुष्टि भएको थियो।

उनको मृत्यु सोमबार बिहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.