जिल्लामा हालसम्म १३ संक्रमितको मृत्यु

|

सर्लाही : सर्लाहीमा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई हजार नाघेको छ।

जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सर्लाहीमा बुधबारसम्म दुई हजार एक सय १६ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई हजार २६ जनाले सङ्क्रमणलाई जितेका हुन्। सङ्क्रमण पुष्टि भएकामध्ये १३ जनाको मृत्यु भएको छ।

हाल ७४ जना मात्रै सक्रिय सङ्क्रमित छन्। ६० जना पुरुष र १४ महिला संक्रमित आ–आफ्नो घरमा बसिरहेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। जिल्लामा आइसोलेसन सेन्टरहरु खाली छन्।

जिल्लामा पछिल्ला दिनमा कोरोना परीक्षणको काम भने ठप्प छ। लक्षण देखिएका बिरामी र विभिन्न ठाउँमा पुग्न अनिवार्य रुपमा पीसीआर रिपोर्ट पेस गर्नुपर्ने व्यक्ति स्वयंले बर्दिवास, जनकपुर, वीरगञ्ज, काठमाण्डौं लगायतका स्थानमा पुगेर परीक्षण गराए पनि स्थानीय तहहरुले भने परीक्षणमा चासो दिएका छैनन्।

सङ्क्रमणबाट जोगिन जनस्तरबाट सावधानी अपनाउन छाडिएको छ। सरकारको आग्रहविपरीत स्वयं सरकारकै मन्त्री, सांसद, जनप्रतिनिधिलगायत समाजका अगुवाहरुले नै नेतृत्व गरेर सर्लाहीका विभिन्न स्थानमा र्‍याली, जुलुस, भेला, सामूहिक भेटघाट लगायतका कार्यक्रम गरिरहेका छन्। हाटबजार, यातायातका साधन, पसल लगायतका मानिसको भिडभाड हुने ठाउँ निर्बाधरुपमा खुलेका छन्।

कोरोना संक्रमणबाट बच्ने कुनै किसिमको सुरक्षाका मापदण्ड अपनाएको पाइँदैन। चरम लापरबाहीका कारण सङ्क्रमणको अवस्था भयावह हुनसक्ने सरकार र जनस्वास्थ्यविद्हरुले बारम्बार आग्रह गरे पनि त्यसको बेवास्ता गर्दै जिल्लामा हेलचेक्र्याइ बढ्दै गइरहेकोले कोरोना संक्रमणको जटिल समस्या आउन सक्ने नागरिक अगुवाहरुले चिन्ता व्‍यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.