|
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा धान भित्र्याउँदै कृषक र पृष्ठिभूमिमा देखिएको गुर्जा हिमाल । तस्बिर : सन्तोष गौतम - रासस

 बागलुङ : यतिबेला गाउँघरमा किसान  बेफुर्सदिला छन्। जेठ–असारमा लगाएको बाली भित्र्याउने चटारो छ। कोही खेतमा धान काटिरहेका देखिन्छन्, कोही बारीमा कोदो टिपिरहेका हुन्छन्। कतिले त धान भित्र्याएर गहुँ छरिसकेका छन्। वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो।

अधिकांश किसानले तीनबाली हुने खेतको धान त दशैँअगावै भित्र्याइसकेका थिए। ती खेतमा छिटो पाक्ने धान लगाइन्छ। दुई बालीको खेतमा भने अलि ढिलो गरी धान पाक्छ। धान भित्र्याइ सक्दा-नसक्दै बारीमा कोदो पनि पाकेको गलकोट नगरपालिका–७ मल्मका किसान तुलाराम खड्काले बताए।

दशैँको भोलिपल्टैबाट खेताला लगाएर कोदो काट्न शुरु गरेको उनको भनाइ छ। यसपालि चाडबाडपछि सरेकाले कामको मेसो पनि सँगसँगै पर्न गएको किसान बताउँछन्। गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले गलकोटमा झण्डै १५ प्रतिशत मात्र धान काट्न बाँकी रहेको बताए। ‘यहाँ रोपाइँ पनि छिट्टै हुन्छ र कटान पनि’, उनले भने, ‘धान भित्राएका किसान गहुँ र्छनमा व्यस्त छन्।‘

कालो पोके रोगले धानबालीमा केही असर पुर्‍याए पनि मौसम अनुकूल परेकाले उत्पादनमा ठूलो ह्रास नआएको प्रमुख सुवेदीको भनाइ छ। किसानले स्थानीय जातको सट्टा वर्णशङ्कर धान लगाउन थालेपछि दोब्बर बढी उत्पादन दिन थालेको उनले बताए। गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो। गलकोटसहित कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका भेगमा चाँडै रोपाइँ हुने भएकाले बाली पनि छिट्टै पाक्छ।

अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका लगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ, धान पनि पछि पाक्छ। जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार यहाँ प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ। उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तार हुँदै गएको छ। बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन्।

किसानले खेती प्रणालीलाई विस्तारै परिवर्तन गर्दै लगेका छन्। खेतबारी जोत्न ‘मिनिटिलर’ हलो प्रयोग गर्ने बढेका छन्। खेतको धान, पराल बोक्न पनि ट्याक्टरको प्रयोग हुन थालेको छ। किसानले गोरु पाल्न छाडेको प्रमुख सुवेदीले बताउनुभयो। रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायतका बाली लगाउँदा पनि ‘मिनिटिलर’ हलोकै प्रयोग हुन थालेको उहाँको भनाइ छ।

आधुनिक प्रविधिले पम्परागत खेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ। खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समयको पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन्। गाउँघरमा खेताला, कामदार पनि पाइन छाडेका बेला आधुनिक औजार, उपकरणले किसानलाई राहत मिलेको छ। ‘मिनिटिलर’ हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा हलो किनेर कृषिको यान्त्रीकरणमा टेवा पुर्‍याइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.