|

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोले प्रविधिको दुरुपयोग गरी विभिन्‍न बहानामा अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ। 

विभिन्न व्यक्तिको ल्याण्ड लाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडीबाट कल गरी आफू साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग भएकाले सतर्क हुन आग्रह गरिएको हो। 

यस्ता गिरोहले प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृश्य माग गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ।

‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने गरेका छन्', ब्यूरोले भनेको छ, 'त्यस्तो प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको सूचना एवं उजूरी प्राप्त भइरहेको छ। त्यसैले सतर्क रहनुस्।'

ब्यूरोले यस्ता अश्लील र झुक्याउन सक्ने गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित गरेको छ। यस्ता गतिविधि थाहा पाएमा प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन ब्यूरोका प्रवक्ता एवम् एसएसपी नविन्द अर्यालले आग्रह गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.