|

काठमाडौं : भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि निर्घात कुटपिट भएको खबर आएको छ।

दशैँको टीकाका दिन आफ्ना नानीबाबुहरुलाई आश्रममा यातना दिएको जानकारी उनीहरुका अभिभावकहरूले सार्वजनिक गरेका हुन्। आश्रममा रहेका नेपाली बालबालिकालाई यातना दिएको घटना सार्वजनिक भएपछि सरकारले आवश्यक छानविन थालेको छ।

समाचार अनुसार देहरादूनको भगवान्तपुर, पुरकोल रोडमा रहेको शाक्य एकेडमीमा अध्ययनरत ५१ नेपाल विद्यार्थीलाई दशैँकै दिन कुटिएको हो। अभिभावकहरूले कुटाइ खाएका धेरैजसो चोटग्रस्त रहेको बताएका छन्। 

दशैँ मनाउन घर आउन खोजेका ती विद्यार्थीहरुलाई स्कुल सञ्चालकले यातना दिएको खुलेको छ। उक्त एकेडमीमा नेपालको हुम्ला, जुम्ला र सिन्धुपाल्चोकसहितका विद्यार्थीलाई अध्ययनका लागि राखिएको छ। 

यसबारेमा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले एकेडमीमा राखिएका नेपाली बालबालिकालाई त्यहाँका लामाले खानाको विषय कठोर यातना दिएको बताएकी छन्। 

उनले यो घटनाको वास्तविकता बुझ्न पनि सरकारलाई भनेकी छन्। 'यो घटनाको वास्तविकता बुझ्न, सत्यतथ्य सार्वजनिक गर्न, भारत सरकारको ध्यानाकर्षण गर्न जरुरी छ,' उनले भनेकी छन्, 'घटनालाई लिएर भारत सरकारलाई विरोध जनाउन तथा विद्यार्थीको अविलम्ब उद्धार गर्न परराष्ट्र मन्त्रीमार्फत आग्रह गर्छु।'

त्यसपछि यस विषयमा सरकारले ध्यानाकर्षण भएको जनाएको छ। उक्त ट्वीटमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएका छन्। उनले नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने प्रक्रिया अघि बढिसकेको बताएका छन्। 

यस विषयमा नयाँ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि चासो जनाएका छन्। उनले अन्सारीलाई नै जवाफ फर्काउँदै यसबारेमा दूतावासले खोजखबर लिने उल्लेख गरेका छन्। 'यस विषयमा दूतावासले खोज खबर लिन्छ', उनले भनेका छन्, 'थप केही सूचना भए दूतावासलाई जानकारी गराउन अनुरोध छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.