घरै खाली गरेर दसैंमा एक्लै हाँसेर बस्छन्
घरै खाली गरेर दसैंमा एक्लै हाँसेर बस्छन्
बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका १ सिमरामा गार्मेन्ट उद्योगी प्रवीण गौतमलाई कोरोना संक्रमण भएपछि उनी होम आइसोलसनमा छन्। एक साता भयो उनी छुट्टै बस्न थालेको।
होम आइसोलेनमा उनीको स्वास्थ्य सामान्य छ । कसरी संक्रमण भयो उनी आफैं अचम्ममा छन्।
‘मलाई त जसले पनि सोध्छन्, साँच्चिकै कोरोना लागेको हो र? तर म आफैं विश्वस्त छैन, कसरी संक्रमित भएँ भनेर’, कोरोना संक्रमित भएपछि आश्चार्य भएको सम्झन्छन्।
उनी नियमित तातोपानीमा बेसार हालेर खान्छन्। कोरोना लागेको भन्दा पनि उनी आराम गर्न बसेकोजस्तो भएको बताउँछन्।
कोरोनाअघि र कोरोना लागिसकेपछिको अवस्थाबारे उनकै शब्दमा
'कोकाकोला खाँदा कोरोना पत्ता लाग्यो'
कोरोना लाग्नुभन्दा ४–५ दिनअघि म एक दिन दिउँसोको १२ बजेतिर उठेको थिएँ। उठेर खाना खाएपछि म बजार निक्लिएँ र बजार गएर एउटा चिसो कोकाकोला खाएँ, त्यसपछि मलाई घाँटी बस्न थालेको जस्तो भयो। हलुका खोकी लागेपछि मैले भोलिपल्टबाट खोकीको औषधि खाएँ र खोकी पनि निको भयो।
खोकी निको भएपछि कोरोना परीक्षण
खोकी निको भएको तीन दिनपछि कोरोना परीक्षण गराएँ । त्यो दिन केही भएको थिएन। हल्का स्वाद नभएको जस्तो लाग्थ्यो। स्वाब दिएको भोलिपल्ट राति रिपोर्ट पोजेटिभ भनेर आयो। यो दिन म बजार नि गएको थिएँ र साथीहरूसँग गफ गर्दै चिया पनि खाएको थिएँ। रिपोर्ट पोजेटिभ आएपछि म होम आइसोलेसनमा बस्न थालें।
घर खाली गरेर एक्लै आइसोलेसनमा
जीतपुरसिमराकै अमाटारमा हाम्रो मुल घर छ । मलाई कोरोना संक्रमण भएपछि सिमराको घर खाली गरेर दशैं मनाउन घरका सबैजना गाँउ फर्किए। घरमा म एक्लो भएँ । होम आइसोलेसनमा बसेर आफैं पकाउन थालें । विभिन्न प्रकारका सुप बनाउन थालें । त्यसपछि मलाई कोरोना लागेको अनुभव भएन । कोरोना लागेको दिनबाट न रुघा लाग्यो न केही अरु समस्या छ मलाई । न त ती साथीहरुलाई नै केही भयो।
तर पनि पोजेटिभ देख्यो भनेर मैले नियमित सुप, कागतीपानी, बेसार पानी खाइरहें। आफैं पौष्टिक खाने कुरा बनाएर खाएँ । म त मोटाएको छु।
दशैंको टीका आफैं लगाए
दशैंको मुखमा म संक्रमित भएँ । कोरोना लागेकोले गाउँ घरमा टीका लगाउन नपाउँदा मन खल्लो भयो । मैले दशैंको टीका भने लगाएँ । होम आइसोलेसनमा आफैंले टीका लगाएर यसपालिको दसैं मनाएँ। घरबाट ममीले टीका र जमरा ल्याइदिनुभयो । एउटा थालीमा राख्दिनुभयो अनि आफैंले लगाएँ । तर पनि आफ्नो मन सम्हाल्दै अर्को दशैं त निकै रमाइलो गर्छु भनेर कल्पना गरेँ । अलिकति पनि मन कमजोर पारिनँ।
कमेडी भिडियो हेरेर एक्लै हासेर बस्छु
कमेडी भिडियोहरु हेरेर म आफूलाई हसाउँछु । बिहान–बेलुका व्यायम गर्छु । बिहान दूध र अण्डा खान्छु । अनि मैले कोरोनालाई यसरी जितेको अनुभूति गरेको छु । ७ दिनमै आफ्नो आत्मबल बढाई कोरोनालाई पछि पारेको जस्तो लागेको छ । मलाई विश्वास छ, अबको परीक्षणपछि पक्कै नेगेटिभ रिपोर्ट आउँछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।