|

इलाम : कोरोना कहरको ७ महिनापछि प्रशिक्षण सुरु गरेको नेपाली राष्ट्रिय फुटबल टोलीका ४ जना खेलाडीमा संक्रमण देखिएको छ। ​प्रशिक्षणको पहिलो दिन नै ४ जना खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। राष्ट्रिय टिमको प्रशिक्षणका लागि ३४ खेलाडी बोलाइएकोमा संक्रमित बाहेकका खेलाडीहरु पहिलो दिन उपस्थित थिए।

कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तयारीअघि बुधबार खेलाडीहरुको कोरोना परीक्षण गरिएको थियो।

एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन। करिब ५ वर्षपछि दशरथ रंगशालामा राष्ट्रिय टोलीले प्रशिक्षणको अवसर पाएको हो। २०७२ सालको भुकम्पले रंगशाला क्षति भएपछि दशरथ रंगशालामा राष्ट्रिय टिमले प्रशिक्षण गर्न पाएको थिएन। 

भूकम्पअघि नेपालले अन्तिम पटक भारतविरुद्ध विश्वकप छनोटको खेल दशरथ रंगशालामा खेलेको थियो। पुनः निर्माणपछि गत मंसिरमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुदमा पुरुषतर्फको फुटबल र शहिद स्मारक लिगका केही खेलहरु दशरथ रंगशालामा खेलाइएको थियो। 

नेपालले बंगलादेशसँग कात्तिक र मंसिरमा गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ। ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ। दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुने तय भएको छ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन। २०७५ साल भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएको थियो।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेका कारण बाल गोपाल महर्जनले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्। टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल छन्।

करिब ७ महिनापछि प्रशिक्षण सुरु भएपछि खेलाडीहरु समेत उत्साहित छन्। सिनियर टिमको क्याम्पमा पहिलो पटक स्थान बनाएका त्रिभुवन आर्मी क्लबका डिफेन्डर विकास खवासले खुशी व्यक्त गरे। ‘झन्डै ७ महिना प्रशिक्षण गर्न नपाउँदा फिटनेसको चिन्ता थियो। अब भनेर मैदानमा उत्रन पाएका छौं। एकदमै खुशी लागेको छ,’ उनले भने, ‘ क्लोज क्याम्पका केही साथीहरुमा कोरोना देखियो रे भन्ने सुन्दाचाहि साह्रै दुख लाग्यो।’

राष्ट्रिय टोलीको क्लोज क्याम्पमा पहिलो पटक स्थान बनाएका अर्का खेलाडी इलामका छिरिङ गुरुङसमेत प्रशिक्षण सुरु भएकोमा खुशी छन्। ‘फुटबल खेल्न नपाउँदा साह्रै छटपटी भएको थियो। मैदान उत्रन पाउँदा फुटबल पुरानो अवस्थामा फर्कनेमा आशावादी छु,’ उनले भने, ‘प्रशिक्षण सुरु नहुँदै संक्रमण देखियो त्यसमा भने केही चिन्ता लागेको छ।’

यसअघि विश्वकप छनोटको खेलका लागि साउनमा प्रशिक्षणको लागि राष्ट्रिय टोलीको क्लोज क्याम्पका लागि खेलाडीहरु बोलाइएको थियो। जसमा एक जना खेलाडीको रिपोर्ट पोजेटिभ आएको थियो। एसियन फुटबल कन्फेडेरेसन (एफएसी) ले २०२१ सम्मका लागि विश्वकप र एसियन कपको छनोटको खेलहरु नहुने निर्णय गरेपछि एन्फाले भदौको प्रशिक्षण स्थगित गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.