स्वास्थ्य मापदण्ड अपनाएर भए पनि विद्यालय चलाउन अभिभावकको दबाब!

|
फाइल फोटो

काठमाडौं : हुम्लामा शैक्षिक सत्र खेर जाने डरले धमाधम विद्यालय खुल्न थालेका छन्। लामो समयको बन्दपछि विद्यार्थीहरुको पढाइमा असर पुगेपछि जिल्लाका गाउँपालिकाहरुले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने अनुमति दिएका छन्।

जिल्लाका तल्लो क्षेत्रका ताँजाकोट र अदानचुली गाउँपालिकाले  गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालय यही कात्तिक १६ गतेदेखि पठनपाठन थाल्ने भएको छ। गाउँपालिकाका अध्यक्ष दल फडेराले यससबारे जनाएका छन्। उनले भने, ‘विद्यार्थी पढ्न नपाउँदा पहिला पढेका सबै बिर्सिसकेका छन्। हिमाली क्षेत्रमा शैक्षिक सत्र सकिन लाग्यो, त्यसैले विद्यालय खोल्ने निर्णय गरेका हौँ।’

उनका अनुसार अदानचुलीभित्र रहेका विद्यालयमा बाहिरका विद्यार्थी बढी भएकाले समस्या छ। उनले थपे, ‘सबैको पिसिआर चेक गरेर मात्रै स्कुलमा प्रवेश गराउने छौँ। मास्क,सेनिटाइजर सबै अनिवार्य लगाउन लगाउँछौँ।’

उनका अनुसार त्यस गाउँपालिकाभित्र बालसुधार लगायत २१ वटा सामुदायिक विद्यालय छन्। जिल्लामा करिब ७ हजार विद्यार्थी अध्ययनरत छन्। नियमित रुपमा पठनपाठन सुचारु गरिने भएकाले सबै शिक्षक, कर्मचारीलाई आ–आफ्नो विद्यालयमा हाजिर हुन पत्राचार पनि गरिसकिएको उनले जनाए। 

त्यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका अनुसार अबको तीन दिनपछि गाउँपालिका भित्रका सबै विद्यालय सञ्चालनमा आउने छन्। गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले विद्यालय सञ्चालन गर्ने तयारी थालेको जानकारी दिए।

उनले थाहाखबरसँग भने, ‘लामो समयदेखि स्कुल बन्द हुँदा विद्यार्थी पढाइबाट बञ्चित भएका छन्। शैक्षिक सत्र खेर जाने देखियो। अभिभावकको दबाबपछि पठनपाठन थाल्ने पक्षमा पुगेका छौँ। थप छलफल भैरहेको छ।’ उनका अनुसार अब हिमाली क्षेत्रमा दुई महिना मात्रै पठनपाठन गर्ने समय छ। अबको दुई महिनाभित्रमा शैक्षित्र सत्र पूरा नभए हिउँका कारण सबै पढाइ अवरुद्ध हुने छ।

‘अहिले धेरै हाम्रो क्षेत्रमा कोरोनाको जोखिम छैन,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भए पनि पठनपाठनलाई निरन्तरता दिन्छौँ।’ अध्यक्ष तामाङका अनुसार नाम्खा गाउँपालिकाभित्र एक वटा १२ कक्षासम्मको विद्यालय छ भने १४ वटा सामुदायिक विद्यालय छन्। लामो समयसम्म भएको लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेका कुरा बिर्सिने समस्या भएको उनले सुनाए।

उनका अनुसार हुम्ला जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड गाउँपालिकाले पनि कात्तिकदेखि पढाइ सञ्चालन गर्ने तयारीमा जुटेको छ। हिमाली क्षेत्रमा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु भई मंसिर मसान्तमा सकिन्छ। शैक्षिकसत्र सकिन अब दुई महिना पनि बाँकी छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.