|

कञ्चनपुर : भीमदत्त नगरपालिका ९ जमुनाभाडीका मान बहादुर राना(बादी) डोटीबाट तराई झर्न अघि १४ वर्षको उमेरमा विद्यालय गए।

विद्यालय गएपछि उनलाई सबैले एक क्लासको बुढो भनेर जिस्काउन थाले। सबैले बुढो भनेर जिस्काउन थालेपछि उनले घर फर्केर विद्यालय नजाने निधो गरे। त्यसको १० वर्षपछि पछि राना परिवार तराई झर्‍यो।

राना पनि आमा बुवासँगै तराई आए। तराई आएपछि उनले विद्यालय जान पाएन। आमा बुवासँगै मजदुरी गर्न थाले। बुवा आमाले विवाह गरिदिएपछि घरबार चलाउनतिर लागे।

‘म पढ्ने इच्छा नै भएर १८ वर्षमा विद्यालय गएको थिएँ, कक्षामा पढ्नेबित्तिक्कै बुढो मान्छे भनेर जिस्काउन थाले, छुट्टी भएपछि घर फर्कें, त्यसपछि कहिल्यै विद्यालय गइनँ’ रानाले भने,‘ जिन्दगीमा एक दिन त विद्यालयमा पढेको छु।’

सन्तानलाई शिक्षा

घर परिवारले सानैमा विद्यालय नपठाएपछि पढ्न नसकेका रानाले आफ्ना सन्तानलाई भने सानैमा विद्यालय पठाएका छन्। तीन छोरामध्ये रानाका जेठा छोरा अजय वादी नेपाली सेनामा भर्ती भएका छन्।

‘मैले त्यसरी नपढेको खुब दुःख लाग्थ्यो, मैले त सकेन, छोरा छोरीलाई त जसरी नि पढाउनुपर्छ भन्ने सोचे’ रानाले भने, ‘अहिले जेठो छोरा भर्ती भएको छ, अरू दुई पढ्दैछन्।’

डेढ कट्टा ऐलानी जमिन भएका रानाले मजदुरी गरी छोरालाई पढाएको बताए। मटेनाको सिद्धनाथ माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका अजयले सिद्धनाथ माध्यमिक विद्यालय जिमुवा कक्षा १२ सम्म अध्ययन गरेका छन्। कक्षा १२ मा पढ्दा राना गत वर्ष सेनामा भर्ती भएका हुन्।

‘जग्गा जमिन यस्तै हो, डेढ कट्टा छ, यो पनि ऐलानी छ,’ रानाले सुनाए,‘यी छोरा पढाउन मजदुरी गरे, भारतमा चौकीदारी गरे, हिमाञ्चल, पूर्णागिरीमा भारीसम्म बोके।’

हिमाञ्चल र पूर्णागिरीमा एक÷एक क्न्टिलसम्मको भारी बोकेको राना सम्झन्छन्।

छोरा सेनामा भर्ती भएपछि आफूले जीवनमा भोगेको सबै दुःख कष्ट बिर्सिएको उनले बताए। केही दिन अघि जमुनाभाडीमा घरमा भेटिएका रानाले भने,‘छोरा भर्ती भएर सबै दुःख कष्ट हराए, धेरै नै खुसी छौँ।’

कच्ची घर भएका रानाकी धर्मपत्नी जानकीले छोरा सेना भएकोमा आफू खुसी भएको बताइन्। ‘छोरा भर्ती भयो, खुसी छु’ उनले भनिन्।

गत वर्ष सेनाको नं. २५ गणमा भर्ती भएका अजय त्यसअघि पनि भर्तीका लागि डोटी पुगेका थिए। त्यहाँ भर्ती हुन नसकेपछि उनले घर फर्केर फेरि सेनामा प्रयास गरे।

‘पहिलो पटक भर्ती नहुँदा त हुँदैन कि जस्तो पनि लागेको थियो, गत साल भर्ती नै भएर आयो’ रानाले भने। डोटी सदरमुकाम सिलगडीको पुर्ख्यौलीका रानाको गीत संगीतमा पनि रुची थियो। उनी अहिले पनि वादी समुलदायका परम्पराग गीत गाउने गर्छन्।

भीमदत्त नगरपालिका ९ जमुनाभाडीमा वादी समुदायका तीन दर्जन बढी घर परिवार छन्। उनीहरु पहाडी क्षेत्रबाट बसाई सरी आएका हुन्। मादल बनाउने, नाचगान गरी जीविका चलाउने पुख्र्यौली पेशा उनीहरुले छाडिसकेका छन्।

‘अहिलेको समयमा त्यो कामले गुजारा नै चल्दैन, त्यसैले कसैले पनि गर्दैन’ रानाले भने,‘बरु मजदुरी गरी जीविका चलाई रहेका छौँ।’

पाँच दशकअघि जमुनाभाडी आएका वादी समु्दायमा सेनामा भर्ती हुने अजय पहिलो हुन्। ‘हाम्रो बस्तीबाट अहिलेसम्म कोही पनि भर्ती भएको छैन, कञ्चनपुरमा अन्त पनि छैन’ राना भन्छन्,‘अब त पनि भर्तीतिर जान्छन नि।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.