ओलीनिकट नेता र सल्लाहकार पुगेका थिए गोठाटार

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली फेरि एक पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको घेराबन्दीमा परेका छन्।

यस्तो अवस्थाबाट किनारा पाउन ओलीले यसअघि पनि विभिन्‍न उपाय अपनाउँदै आएका थिए। आफ्नो समूहका नेताहरुसँग परामर्शदेखि सल्लाह सुझाव उनी लिइरहन्छन्।

पछिल्लो समय राजनीतिको मूलबाटोबाट केही मोडिएर साहित्य सिर्जना र लेखनमा लागेका नेता हुन् प्रदीप नेपाल। तर उनै नेता नेपाललाई भेट्न प्रधानमन्त्री ओलीले शनिबार एउटा जम्बो टिम नै गोठाटार पठाए।

ओलीनिकट नेताहरु र उनका सल्लाहकारहरू शनिबार गोठाटार पुगेर नेपालसँग सम्वाद गरेका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको प्रधानमन्त्रीनिकट नेताहरु र सल्लाहकारहरू एकै पटक नेपाललाई किन भेटे? यसको उत्तर न त नेता नेपाल दिन्छन् न त भेट्न जानेहरू। 

नेता नेपाललाई भेट्न शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल,  परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र  प्रेस सल्लाहकार सूर्य थापा पुगेका थिए। 

भेटवार्ताका क्रममा समसामयिक बिषयमा कुराकानी भएको नेता नेपालले थाहाखबरलाई जानकारी दिए। ‘उनीहरु हिजो आएका थिए। विशेषत: मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिए। म अहिले अस्वस्थ छु’, उनले भने। 

ओली, प्रचण्ड, नेपाल, खनालले विश्राम लिऊन्

‘उनीहरु सबै मेरा राजनीति चेला हुन्। बिरामी परेको बेलामा भेट्न आएका थिए। थोरै अहिलेको राजनीति र समसामयिक बिषयमा पनि कुराकानी भयो,’ उनले भने, ‘जवाफमा अहिलेको परिप्रेक्षमा पार्टी नेतृत्व र आफैँले पनि केही गर्न नसक्ने जानकारी गराएँ।’ 

नेता नेपालले प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले देश परिर्वतन गर्न नसक्ने भएकाले उनीहरुले अब आराम गर्नुपर्ने कुरा यसअघिका उठाउँदै आइरहेका छन्। 

नेता नेपालसँगको भेटवार्ता सामान्य रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। ‘उहाँसँग भेट्न त्यस्तो बिशेष केही आवश्यकता पर्दैन। हामी सामान्य भेटघाटका लागि गएका हौँ,’ उनले थाहाखबरसँग भने।

नेता नेपालको नेतृत्वमा गरेका काम र संगत अविस्मरणीय रहेको सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्। 

‘उहाँको नेतृत्वमा काम गरेको कार्य संगत तथा अविस्मरणीय रहेको छ। दह्रो र सीधा व्यवहारिक प्रभाव रहेको सबैको प्रत्यक्ष अनुभूति छ। धेरैपछिको यस्तो सामुहिक भेटमा रमाइलो र दुर्लभ कुराकानी पनि हुने नै भयो’ उनले भनेका छन्, ‘अनि, चिन्ता त साझा नै त छ।’

तत्कालीन नेकपा एमालेको नवौँ महाधिवेशनपछि नेता नेपाल सक्रिय छैनन्। ओलीसँगको आन्तरिक किचलोको कारणले नै उनी सक्रिय नभएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.