विरोध पत्रमाथि पनि छलफल गर्ने तयारी

|

काठमाडौं :  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १७ गते शीर्ष नेताहरुको बैठक बोलाएका छन्। शीर्ष नेताहरुको उक्त बैठक कात्तिक २१ गते बोलाइएको केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न डाकिएको हो। यद्यपि उक्त बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई फकाउन देउवाले बोलाएको बताइएको छ।  

भोलि (सोमबार) बस्ने बैठकमा गत असोज १२ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहित​ महामन्त्री डाक्टर शशांक कोइराला लगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेर ‘पार्टी विधान सम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गरियोस्’ भनेर दर्ता गरेको विरोध पत्रमा छलफल हुनेछ। 

‘बैठकका एजेण्डाको विषयमा मै पदाधिकारी बैठक केन्द्रीत हुन्छ,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले थाहाखबरसँग भने, ‘केन्द्रीय समितिको बैठकअघि एक चरण सबैसँग छलफल गरौँ भनेर सभापतिज्यूले बैठक बोलाउनु भएको हो। रामचन्द्र दाइहरुले दर्ता गर्नु भएको पत्रको विषयमा पनि छलफल हुनेछ।’ 

शीर्ष नेताको बैठक भोली दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय भएको छ। ‘रामचन्द्र दाइहरुले दर्ता गर्नु भएको पत्रको विषयमा पहिले नै छलफल भइसकेको छ। पास गर्ने एजेण्डाहरुमा केही आशंका छ भने त्यसलाई निवारण गर्न पदाधिकारी बैठक बस्न लागेको हो,’ महतले भने। 

देउवानिकट नेता महतका अनुसार भो​लि सोमबारको बैठकमा पौडेल समूहले बुझाएको पत्रका विषयसँगै महाधिवेशनका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने एजेण्डा तय गर्न र कोरोना महामारी नियन्त्रणमा सरकारलाई आगामी दिनमा कसरी खबरदारी गर्ने भन्ने रणनीति बनाउने विषयमा छलफल हुनेछ। 

यस अघि असोज १९ का लागि तय भएको केन्द्रीय समितिको बैठक अघि असोज १७ गते पनि देउवाले शीर्ष नेताहरुसँग पौडेल समूहले दर्ता गरेको विरोध पत्रका विषयमा छलफल गरेका थिए। देउवाले आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका थिए।

१९ गतेको बैठक केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन कुमार थापा लगायतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै असोज २५ सम्मलाई सरेको थियो। त्यसबीचमा पनि केही केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २५ गतेको बैठक पनि सरेको थियो।  गत बिहीबार मात्रै कात्तिक २१ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन्। 

महाधिवेशन सर्छ? 

कोरोनालाई देखाएर एक वर्ष पर धकेलिएको १४ औँ महाधिवेशन फागुन ७ मा नहुने पक्का जस्तै छ। आगामी फागुनबाट पनि थप ६ महिना आफ्नो कार्यकाल देउवाको नेतृत्वले लम्ब्याउन पाउने अधिकार विधानमा छ। त्यसैले अब फागुनदेखि २०७८ को भदौ २० भित्र जसरी पनि महाधिवेशन गराउनुपर्ने अवस्थामा देउवाको नेतृत्व छ। आगामी भदौसम्म पनि महाधिवेशन नभए देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति स्वत भंग हुनेछ। 

‘कोरोनाले दिएन त के गर्ने? कुनै उपाय भए अझै पनि हामी त तोकेकै मितिमा महाधिवेशन गराउन तयार छौँ नि,’ गोपालमान श्रेष्ठ भन्छन्, ‘अब हिमाली भेगका महाधिवेशन प्रतिनिधि साथीहरु आउन सहज बेला चाहियो, पहाडको पनि चाहियो र तराईको पनि चाहियो। त्यसैले अब छलफलबाट मात्रै कहिले महाधिवेशन गर्ने भन्ने टुंगो लाग्छ।’

यस अघि गत साउनको बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले फागुनमा महाधिवेशन सम्भव नरहेको र जेठमा उपयुक्त समय भएकोले त्यही अनुसार नेतृत्वले तयारी थाल्नुपर्ने बताएका थिए। यता वरिष्ठ नेता रामचन्द्र पौडेलले त १३ औँ महाधिवेशनकै पदाधिकारी कायम राखेर भएपनि १४ औँ महाधिवेशन फागुनमै गर्नुपर्ने तर्क राख्दै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.