|
बेपत्ता भएका धन गिरी।

जुम्ला : एक महिनादेखि बेपत्ता धन गिरीका दाजु भैरे गिरीले अपराध गरेका र संलग्न आशंका गरिएकालाई राजनीति गर्नेले संरक्षण दिँदा आफूहरूलाई थप पीडा भएको बताएका छन्‌। 

गत असोज १५ गते गुठिचौरको मणि साँघुमा सामान पुर्‍याउन गएका २५ वर्षीय धन गिरी ट्याक्टर एक महिनादेखि बेपत्ता छन्‌। गुठीचौरबाट देपालगाउँ हुँदै ट्याक्टरमा सदरमुकाम आउँदै गर्दा गिरीलाई अपहरण गरिएको आफन्तको आरोप छ। अपहरणमा संलग्‍न आशंका गरिएकालाई पक्राउ र अनुसन्धान गराउन खोज्दा राजनीतिक तहबाटै रोकावट भएको पीडित परिवारको आरोप छ। 

'जुम्ला जिल्लामा ठूल्ठूला अपराधिक गतिविधि हुन्छन्‌, तर पीडितले न्याय पाउँदैनन्‌,' गिरीले भने, 'जबसम्म प्रहरीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न दिइन्न, तबसम्म यस्ता घटना घटिरहने देखियो। राजनिति गर्नेले अपराधीलाई संरक्षण दिँदा पीडितहरूलाई थप पीडा भइरहेको छ।'

चन्दननाथ नगरपालिका-९ बयालकाटिया निवासी मन्न गिरीको छोरा धन गिरी ट्याक्टर चालक थिए‌। उनी अहिलेसम्म उनी जीवितै छन्‌ या छैनन्‌ भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन। 

परिवारका सदस्य हराएपछि पीडित परिवारजन भौतारिँदै जुम्ला बजारमा आएर पत्रकार सम्मेलन गरेका छन्‌। उनीहरूले अनुसन्धानमा थप जोड दिन सम्बन्धित निकायको ध्यानाकर्षण गरिएका हुन्‌।

​ध्यानाकर्षण पत्रमा बेपत्ता भनिएका व्यक्तिका दाजु भैरे गिरीले भाइ धन गिरीको अवस्था पत्ता लगाउन भन्दै जिल्ला प्रहरीमा दिएको जाहेरीलाई यथाशीघ्र कार्यान्वयन गर्न र घटनाको कसुरसँग सम्बन्धित व्यक्तिको कल डिटेल अनुसार वास्तविकता बुझ्न अनुरोध गरेका छन्‌। उनले ध्यानाकर्षण पत्रमा बेपत्ता ट्याक्टर चालकको बालबच्चा र श्रीमतीको व्यवस्थापनका लागि मानव अधिकार आयोगको समेत ध्यानाकर्षण गराएका छन्।

ट्याक्टर आउँदै गर्दा सहचालक सम्पर्कमा आउनु र चालक बेपत्ता हुनु रहस्यमय भएको आफन्तजनको ठहर छ। आफन्तले घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कानुनी कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सहित सरोकारवाला निकायसँग आग्रह गरेको छ। 

पाँच जनालाई पक्राउ गरिएको प्रहरीको दाबी

जिल्ला प्रहरी कार्यालय जुम्लाले गिरीलाई असोज १५ गते गुठचौर-५ लामाकारामा गुडिरहेको ट्याक्टरबाट अपहरण गरि बेपत्ता भएको जाहेरी परेको बताएको छ।

घटनामा संलग्नताको आशंका र आफन्तले दिएको जाहेरीको आधारमा पाँच जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बताए। उनले भने, 'पाँच जनामा दुई जना नाबालक रहेका छन्‌।'

उनका अनुसार अहिले अपहरण र बेपत्ताको मुद्दा अघि बढाइएको छ। यसअघि प्रहरी बेपत्ता व्यक्तिको खोजी कार्यमा खटिएको थियो। ट्याक्टर मालिक रेणु शाहीलाई पनि प्रहरी नियन्त्रण लिएर अनुसन्धान भइरहेको छ।

चन्दननाथ नगरपालिका-९ बयालकाटियाका २५ वर्षीय धन गिरी ट्याक्टर चालक हुन्। उनी सोही नगरपालिका-५ कालेखोलीकी रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चलाउँदै आएका थिए।

गुठीचौर गाउँपालिका-१ मुणिसाँघुका कर्ण बस्नेतको घरमा सामान छोडेर जुम्ला सदरमुकाम खलङ्गा फर्कने क्रममा उनलाइ गुठीचौर गाउँपालिका-५ लामाकार भन्ने स्थानबाट बेपत्ता पारिएको हो।

सोही वडाका विमल महत, द्वन्द्वबहादुर शाही, सागर गिरी र विनोद गिरीले ट्याक्टर चालक धन गिरीलाई १५ असोज राती हातपात र ढुंगा मुढा गरी बेपत्ता पारेको उनका दाई भैरे गिरीको आरोप छ। उनले भने, 'महिना दिनसम्म न त भाइको लास भेटियो, न त सास नै!'

करिब एक साताअघि गुठीचौर गाउँपालिका खल्लावाडाका कमल जैसीको शव बोहोरा गाउँ जाने तीला नदीको पुलमा पानीमा डुबेको अवस्थामा प्रहरीले भेट्टाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.