निर्देशनपछि मर्मत गरियो बाटो

|

पर्वत : गत असोज १६ गते गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, सचिव रामचन्द्र श्रेष्ठ र प्राविधिकहरूको टोलीसहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङको रामबजारदेखि करपुरटार, भन्ज्याङ, डढुवा, गिलुङ हुँदै मालिङ जाने बाटोमा यात्रा गर्दै थिए।

गाडीको आरामदायी यात्रामा रहेका उनीहरूलाई सडकले भने दुःख दियो। अविरल वर्षासँगै आएको पहिरोले सडक खण्डको विभिन्न ठाउँमा पहिरो झरेको थियो। पहिरोका कारण मुख्यमन्त्री सवार गाडी नै रोकिनुपर्‍यो।

तर यात्रा पूरा गर्नु नै थियो। अन्ततः मुख्यमन्त्री गुरुङले लौरी टेकेरै भए पनि भीरपाखा र पखेराको बाटो हिँडेर यात्रा पूरा गरे। आफ्नै ठाउँ र निर्वाचन क्षेत्रको सडकको बेहाल देखेपछि सोही बेलामा सँगसँगै रहेका प्राविधिक र सम्बन्धित जिल्ला कार्यालयलाई सडक तुरुन्तै मर्मत गरी सुचारु गराउन मुख्यमन्त्रीले निर्देशन दिएपछि अहिले सडक सुचारु भएको छ।

मुख्यमन्त्रीको त्यही अनुगमन र निर्देशनपछि वर्षायाममा अवरुद्ध बनेको सडक हिउँद लागेसँगै सोमबारदेखि सडक सुचारु भएको हो। जिल्ला पूर्वाधार कार्यालय लमजुङका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार भन्ज्याङ खण्डमा पहिरो गएको ठाउँको सडक मर्मत पूरा भएको छ।

पहिरो गएको ठाउँमा तार जालीसहितको ग्याबिन वालसमेत लगाई सडक मर्मत गरिएको छ। जनसहभागितासहित २१ लाखको लगानीमा उक्त सडक मर्मत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए।  

सडक मर्मत भएपछि लमजुङको डढुवा, टक्सार, गिलुङ, मालिङ लगायत ठाउँ आउजाउ गर्नेहरूलाई सहज भएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.