आइसीयु र भेन्टिलेटर सञ्चालनको तयारी

|

बैतडी : बैतडीका नौ वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न चिकित्सक अभाव भएको छ। कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढिरहेपनि चिकित्सक अभाव र प्रक्रियामा ढिलाई हुँदा सञ्चालनमा आउन नसकेको हो। 

स्थानीय तहहरूले अस्थायी कोभिड अस्पतालका सञ्चालनका लागि प्रक्रिया शुरु गरेपनि सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ। संघीय सरकारले अस्पताल नभएका स्थानीय तहहरूमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट पठाइसकेको छ।

जिल्लाका नौ स्थानीय तहमा पाँच शय्या (बेड) रहने अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। स्थानीय तहहरूमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाख रुपैयाँका दरले बजेट पठाइएको हो। बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

ती अस्पतालमा एकजना चिकित्सक, दुई जना स्टाफ नर्स र एक जना कार्यालयको सहयोगिको दरबन्दी भएपनि चिकित्सक भने पाइएका छैनन्। धेरैजसो स्थानीय तहहरूले दोश्रो पटक सम्म आवेदन खुला गर्दा समेत चिकित्सक नपाएको बताएका छन्।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि दुईपटक डाक्टरको लागि आवेदन खोलेको भएपनि कसैको आवेदन नपरेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए।

यस्तै पुर्चौंडी नगरपालिकामा भने चिकित्सकका लागि एकजनाको आवेदन परेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए। उनले भने, ‘एकजनालाई खोजेर आवेदन दिन लगाएका छौ। तर अहिले नै आउनेबारे टुङ्‌गो लागिसकेको छैन।’

जिल्लाका स्थानीय तहहरूमा सञ्चालनमा ल्याउने तयारी गरेका अस्थायी कोभिड अस्पतालका लागि डाक्टर पाउन मुस्किल भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, ‘यो अस्पताल अहिले तीन महिनाका लागि सञ्चालन गर्ने योजना छ। तर सबै ठाउँमा डाक्टर पाइएन भन्ने कुरा आइरहेको छ।’

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीहरूको उपचारका लागि अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको हो। अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको १० लाख रुपैयाँ बजेटमध्ये स्थानीय तहहरूले पाँच लाख रुपैयाँ बेड लगायतका सामग्री खरीदमा खर्च गर्नुपर्नेछ भने ५० हजार रुपैयाँ बराबरको औषधि खरीद गर्नुपर्नेछ। यस्तै, चार लाख ५० हजार रुपैयाँ जनशक्ति जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ। 

आइसियु र भेन्टिलेटर सेवा सञ्चालन तयारी

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा पहिलोपटक आइसीयु बेड र भेन्टिलेटर सेवा सञ्चालन हुने भएको छ।

कोरोनाका जटिल बिरामीको उपचारमा सहजता होस भन्ने उद्देश्यले प्रदेश सरकारले आइसीयु र भेन्टिलेटर सेवा सञ्चालन गर्न लागेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।

‘प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा बैतडीमा आइसीयु र भेन्टिलेटर प्राप्त हुने भएको छ,’ उनले भने, ‘केही दिनमै प्रदेश सरकारले आइसीयु र भेन्टिलेटर उपलब्ध गराउने कुरा छ, एक महिना अगाडी नै खरिद गरेपनि प्रदेश सरकारले आइसीयु तथा भेन्टिलेटर जिल्लामा पठाउन ढिलाई गरेको छ।’

आइसीयु तथा भेन्टिलेटर बेड सञ्चालनमा आएपछि बैतडीमै उपचार सम्भव भएका बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने डाक्टर जोशीको भनाई रहेको छ। उनले भने, ‘जटिल खालका संक्रमितका लागि आइसीयु तथा भेन्टिलेटर सञ्चालनपछि सहज हुनेछ।’

आइसीयु तथा भेन्टिलेटर सेवा सञ्चालनका लागि भने जनशक्ति अभाव हुने देखिएको उनले बताए। उनले भने, ‘आइसीयु र भेन्टिलेटर उपलब्ध गराउन लागेको भएपनि जनशक्ति अभाव छ, सँगसँगै जनशक्ति जनशक्ति पूर्तिको काम पनि गर्नु आवश्यक छ।’ 

प्रदेश सरकारकै सहयोगमा जिल्ला अस्पताल बैतडीमा यसअघि गत असोज १ गतेबाट पीसीआर प्रयोगशाला सञ्चालनमा आएको छ। बैतडीमा हालसम्म ४७४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ। 

जिल्लामा हालसम्म ६ हजार १८१ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.