संस्थाको खाना ख्वाउन पाउनुपर्ने माग

|

काठमाडौं : जोरपाटी दक्षिणढोका कृष्णप्रसाद बर्दिय एक महिनादेखि खुलामञ्चमा सहयोगी संस्थाले निःशुल्क बाँडेको खाना खाँदै आएका छन्। मंगलबार पनि उनी खाना खानाकै लागि खुलामञ्चमा कुरिरहेका थिए। तर, उनी निराश देखिन्थे। कारण उही हो, काठमाडौं महानगरपालिकाले खाना वितरणलाई रोक लगाएको। 

मेयर विद्यासुन्दर शाक्यले महानगरको साैन्दर्य बिग्रिएको र बेइज्जत भएको भन्दै ​खुलामञ्चमा खाना वितरण बन्द नै गरिदिए।

तर कृष्णप्रसादलाई मेयरको त्यो भनाइले साह्रै मन पोलेको छ। भन्छन्,‘महानगरपालिकाले खाना बन्द गरिदिने रे। अब भोकै त बस्ने होला।’ सहरमै उनको घर भए पनि परिवारबाट अपहेलित उनी छुट्टिएर बसेका छन्। लकडाउन अघिसम्म उनी अचार बनाउने कम्पनीमा काम गर्थे। 

तर, लकडाउनले काम बन्द भएपछि उनको अवस्था सडकमै आइपुग्यो। ‘लकडाउन अघिसम्म त काम गरेर पेट भरेको थिएँ। लकडाउन भएपछि काम नै पाइएन। यहीँ (खुलामञ्च) आएर खान्छु। त्यसैले बाँचेको छु’, मलिन स्वरमा उनले सुनाए। 

राजकुमार राजपुत पनि खुलामञ्चमा लकडाउन भएदेखि खाना खाइरहेका छन्। ५४ वर्षीय राजकुमार सहरका पेटीहरुमा रात कटाउँछन्। उनलाई वेवबारिसे भएकै कारण महानगरीय प्रहरीले बारम्बार लखेटिसकेको छ।

‘पहिला पनि महानगरपालिकाले सटरमा बस्न दिएन,’उनी भन्छन,‘सहयोगीहरुले हामीलाई खाना ख्वाइरहेका थिए। महानगरपालिकाले बन्द गर्देछ।' गरिबको भोको पेटमा लात हान्ने काम महानगरपालिकाले गरेको उनको ठहर छ। उनको घर भारत हो।

राजपुत २०२७ सालमा नै नेपालको दालमोट बनाउने फ्याक्ट्रीमा काम गर्दै आएका थिए। पछि भने बेरोजगार भए। लकडाउनले अन्य रोजगारी पनि खोसिदिएपछि मागेर खाना खाँदै आएका थिए उनी। आफन्त परिवारले हेरचाह नगरेको गुनासो त छँदै छ उनको, अहिले महानगरले खाना दिन छाड भनेपछि उनी निकै चिन्तित छन्। ‘काम पाए गर्ने थिएँ, पेट पाल्ने थिएँ। काम नै पाइँदैन?’ उनी पीडा सुनाउँछन्। 

‘निःशुल्क खाना ख्वाउन पाउनुपर्छ’

हन्ड्रेड ग्रुपले चैत १४ गतेदेखि गरिबी, मजदुरीलाई खुलामञ्चमा निःशुल्क खाना ख्वाउँदै आएको छ। लायन्स क्लबले पनि खाना वितरण गर्दै आएको छ। तर, महानगरपालिकाले खाना वितरणमा रोक लगाएपछि हन्ड्रेड ग्रुपका संस्थापक अन्सु यादवले आपत्ति जनाए। उनले खुलामञ्चमा खाना ख्वाउन पाउनुपर्ने माग राखेका छन्।

‘महानगरपालिकाले सोमबार २ बजेतिर फोन गरेर सिडियो साब र महानगरपालिकाको आदेश भन्दै खाना ख्वाउन रोक लगाउन निर्देशन दिएको छ,’ उनले भने, ‘हिजो बिहान पनि महानगरपालिको फोन गरेर खाना बनाएको छ भने हामी त्यहीँ आएर बन्द गरिदिन्छौँ भनेर धम्की पनि दिएको छ। खाना बन्द गरेर यहाँका भोका गरिबीहरु कहाँ जाने?’  

महानगरपालिकाले खाना ख्वाउने भएमात्रै निःशुल्क खाना वितरण अभियान रोक्ने यादव बताउँछन्। उनका अनुसार खुलामञ्चमा दैनिक करिब ६ सय जनालाई हन्ड्रेड ग्रुपले खाना ख्वाउँदै आएको छ। खुलामञ्चमा खाना बन्द गरे आन्दोलन गर्ने महानगरपालिकालाई चेतावनी दिएका छन्।

मंगलबार दिउँसो पनि प्रहरी र नगर प्रहरी त्यहाँ आएका थिए। तर, खाना वितरणमा भने रोक लगाएनन्। खुल्लामञ्चमा खाना वितरणमा रोक लगाएको विषयमा भने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले केही बोल्न चाहेनन्। उनले भने, ‘महानगरपालिकाले किन खाना बन्द गरेको भन्ने विषयमा मेयर साबले नै प्रस्ट पार्नु हुनेछ। त्यसैले यस विषयमा म बोल्दिनँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.