|

पर्वत : कास्कीको पोखरा महानगरपालिकामा रहेको सहारा क्लबको आयोजनामा हुने ‘आहा रारा गोल्डकप’ साबिकको पश्चिमाञ्चल विकास क्षेत्र र अहिलेको गण्डकी प्रदेशकै फुटबलको सबैभन्दा ठूलो मेला हो। आहा रारा गोल्डकप मोफसलकै सबैभन्दा चर्चित खेलकुद प्रतियोगिता हो भन्दा अत्युक्ति नहोला।

जहाँ राष्ट्रिय फुटबल टोलीहरूको सहभागिता रहन्छ। यो प्रतियोगितामा गण्डकी प्रदेशकै सबैभन्दा धेरै दर्शकहरूको सहभागिता रहने गरेको छ।

‘आहा रारा गोल्डकप’लाई यो अवस्थासम्म ल्याउन महत्त्वपूर्ण साझेदारी गरेका कास्की पोखराका उद्योगपति तथा समाजसेवी सूर्यबहादुर केसीको मंगलबार निधन भयो।

उद्योग सञ्चालनदेखि राजनीतिमा पनि सक्रिय उनको निधनले औद्योगिक क्षेत्र र राजनीतिमा जस्तै खेल क्षेत्रमा पनि ठूलो शोक परेको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा सहारा क्लबको आयोजनामा हुने गरेको ‘आहा रारा गोल्डकप’ को नाम नसुन्ने सायदै होलान्।

सहारा क्लबको आयोजनामा खेल हुने गरेको भए पनि धेरैले गोल्डकपलाई आहा र रारा चाउचाउसँग जोडेर हेर्ने गरेका छन्। यसो हुनुको श्रेय स्व. केसीलाई जान्छ। पोखरामा हुने गरेको गोल्डकपमा उनको उद्योग हिमश्री फुड्सले उत्पादन गर्ने आहा र रारा चाउचाउको स्पन्सर रहेको छ।

स्पन्सरमा ठूलो आर्थिक लगानी

आहा गोल्डकप सुरु भएको वर्ष २०५९ मा हिमश्री फुड्सको तर्फबाट दुई लाख रुपैयाँबाट स्व. केसीले स्पन्सरको सुरुवात गरेका थिए। त्यो बेलामा आहा चाउचाउको बजार राम्रो थियो। त्यसकारण यसको नामबाटै गोल्डकपको नाम राखिएको थियो। बीचमा आहा चाउचाउको उत्पादन रोकिएपछि हिमश्रीले अर्को ब्रान्ड 'रारा' चाउचाउको पनि नाम जोडेर गोल्डकपको नाम बनायो।

अहिलेसम्म आइपुग्दा स्पन्सरका लागि १२ लाख ५१ हजार रुपैयाँको कुल सम्झौता हुने भए पनि अन्य खर्चसमेत जोड्दा करिब ४० लाख खर्च हुने गरेको सहारा क्लबका पदाधिकारी तथा यससँग ज्ञान राख्नेहरू बताउँछन्।

उनबारे जानकार रहेका तथा सहारा क्लबका तत्कालीन उपाध्यक्ष विक्रम थकालीले १२ लाख ५१ हजार रुपैयाँ दिने सम्झौता हुने गरेको भए पनि अन्य खर्च जोडेर एउटा गोल्डकप उम्काउँदा स्पन्सरको तर्फबाट ४० लाख जति खर्च भएको अनुभव सुनाए।

‘स्पन्सरमा प्रडक्टको नाम आयो क्यारे भनेर केही नगरी बस्ने उहाँको स्वभाव थिएन। आयोजक सहारा क्लबका खेलाडीलाई जर्सी दिनेदेखि शिल्ड, मेडल र ट्रफीको व्यवस्थापन पनि उहाँले गर्नुहुन्थ्यो,’ उनले भने, ‘मिडियामा बजाइने र छापिने प्रचार सामग्रीमा समेत उहाँले लगानी गर्नुहुन्थ्यो। उहाँले क्लबलाई आफ्नै ठानेर सबै काम गर्नुहुन्थ्यो।’

फुटबलको आयोजनाबाट आएको रकमले खेल्न इच्छुकहरूलाई सिकाउन २०६१ सालमा स्थापना गरिएको सहारा फुटबल एकेडेमीमा लगानी भएको देख्दा केसी झनै खुसी भएको धेरैले सम्झिन्छन्। 

त्यो मात्रै होइन गाउँ ठाउँमा आयोजना हुने सानाठूला प्रतियोगितामा पुरस्कार सौजन्य गर्नेदेखि चौतारी र सडक निर्माणका लागि पनि अनुरोध गरे कसैलाई पनि रित्तो हात फर्काउने बानी स्व. केसीको थियो।

मन्दिर पार्टी पौवा जस्ता सार्वजनिक स्थान बनाउन पनि केही न केही सहयोग गर्ने गर्थे उनी कास्कीको विकास सँगसँगै समग्र खेल र पर्यटन क्षेत्रको उत्थानका लागि अहोरात्र खटिने उनको निधनले कास्कीको राम्रो अभिभावक गुमेको कास्कीवासी बताउँछन्।  

पत्रकारको नजरमा स्व. केसी

खेल तथा फोटो पत्रकार सुदर्शन रञ्जितले साबिकको पश्चिमाञ्चल विकास क्षेत्र र अहिलेको गण्डकी प्रदेशभरिकै फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा नै आहा रारा गोल्डकपमा हुने गरेको बताए। यसको श्रेयको ठूलो हिस्सा स्व. केसीलाई पनि जाने उनी बताउँछन्। २०५८ सालमा द्वन्द्वको समय भए पनि त्यस बेलाबाट नै खेल जोगाउन उनले महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ।

‘उहाँ त खेल जगतका लागि यस्तो मान्छे हो जसलाई खोजेर पनि पाईँदैन। खेलका लागि सधैँ स्पन्सर गरेर आहा रारा गोल्डकपको साख उच्च पार्न उहाँको योगदान भुल्नै सकिँदैन,’ रञ्जित थप्छन्, ‘उहाँले खेलकुद र पर्यटनमा सधैँ जोड दिनुभयो।’ 

द्वन्द्वका समयमा पनि स्पन्सर

​सहारा गोल्डकप सुरु भएको बेलामा २०५९ सालमा जनयुद्धका कारण उद्योगहरूको व्यापार त्यति राम्रो थिएन। त्यो बेलामा पनि गोल्डकपका लागि स्पन्सर गरेर केसीले फुटबलको प्रवर्द्धन गर्दै खेलाडीमा ऊर्जा थपिरहे। 

सहारा क्लबका तत्कालीन उपाध्यक्ष विक्रम थकाली द्वन्द्वकालको बेलामा बुढासुब्बा गोल्डकप र आहा रारा गोल्डकप मात्रै चलेको सम्झिन्छन्। व्यापार कम भएको बेलामा पनि ठूलो लगानी गरेर गरिएको स्पन्सरले केसीको खेलप्रतिको लगाव स्पष्ट हुने थकाली बताउँछन्। 

शेषपछि पनि स्पन्सर

​उद्योगपति तथा नेता केसीले फुटबलमा स्पन्सर गरेर आफू ज्युँदो हुँदा त योगदान दिएकै थिए नै। उनले विभिन्न व्यक्तिसँग आफ्नो शेषपछि पनि सहारा गोल्डकपको लागि स्पन्सर जारी रहने बताउँदै आएका थिए।

उनको यो भनाइ सुनेका पत्रकार रञ्जितले स्व. केसीको उद्योगबाट उत्पादन हुने रारा चाउचाउको नामबाट स्पन्सरको काम जारी रहने बताए। ‘उहाँले धेरै भाषणहरूमा आफू मरेर गए पनि गोल्डकपका लागि स्पन्सर निरन्तर हुने र त्यसमा परिवारको साथ रहेको बताउँदै आउनुभएको थियो,’ उनले भने, ‘उहाँको परिवार र सहारा क्लबबीच पारिवारिक सम्बन्ध छ। उहाँका सन्तान र भाउजूमा पनि खेलप्रतिको सम्मान उच्च छ।’

सहारा गोल्ड कपलाई ‘आहा रारा गोल्डकप’ बनाउने गरी स्पन्सरको सम्झौता हुने बेलामा सहारा क्लबका उपाध्यक्ष रहेका थकाली पनि स्पन्सरको क्रम निरन्तर नै हुने बताउँछन्। यसै पनि दोस्रो पटक भएको सम्झौताको दुई ओटा प्रतियोगिता हुन बाँकी नै छन्।

‘पहिलो पटक २०५९ सालमा १० वर्षका लागि सम्झौता भयो। फेरि २०६९ दोस्रो पटक सम्झौता गरेर १० वर्षको अवधि बनाइएको हो,’ उनले भने, ‘गोल्डकपको १८ औँ  शृङखला सकिएको छ। पछिल्लो सम्झौताअनुसार २० औँ शृङखलासम्मको सम्झौता हो। त्यसपछि पनि स्पन्सर परिवारको तर्फबाट हुन्छ भन्नेमा विश्वस्त छौँ।’ नेपालको इतिहासमा यति लामो स्पन्सरको सम्झौता आफूले थाहा नपाएको पनि थकाली बताउँछन्। 

क्रिकेट मैदान पनि बनाउने सपना

पत्रकार रञ्जितका अनुसार स्व. केसीले पटक पटक क्रिकेट मैदान निर्माणका लागि सम्बन्धित पक्षलाई एकखाले दबाब दिँदै आएका थिए। खेल क्षेत्रलाई अत्यधिक माया गर्ने उनले केही पत्रकारसहित अरूलाई पनि क्रिकेट मैदान निर्माणका लागि उपयुक्त ठाउँ खोजी गर्न भन्दै ठाउँ पाएमा आफूले पहल गरेर मैदान तयार पार्ने बताउने गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.