निरीक्षणका लागि मन्त्री भट्टराई आउँदै

|

सोलुखुम्बु : काँगेलडाँडा विमानस्थल पुनः सञ्चालनका लागि पहल थालिएको छ। लामो समयदेखि बन्द रहेको उक्त विमानस्थल फेरि सञ्चालन गर्न सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर) सहितको टोलीले मंगलबार संस्कृती पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसँग भेटवार्ता र छलफल गरेको छ।

मन्त्री भट्टराईसहितको टोली शुक्रबार काँगेल डाँडा आउने र विमानस्थलको निरीक्षण गरि सञ्चालन विधि तय गर्ने सहमति भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिएका छन्‌।

सोही दिन महाकुलुङको गुदेलमा निर्माण हुन लागेको विमानस्थलको समेत निरीक्षण गरिने भएको छ। गौरचण बनेको विमानस्थललाई पुनःसञ्चालन गरेन आवश्यक छलफल भइरहेको गाउँपालिका अध्यक्ष राईको भनाई छ।

२०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो। यो विमानस्थलमा २०७२ सालसम्म नेपाल एयरलाइन्स र तारा एयर एयरलाइन्सले पनि उडान भर्ने गरेको थियो।

जिल्लाको तल्लो क्षेत्र चार गाउँपालिका र खोटाङका माथिल्लो क्षेत्रका नागरिकका लागि अति आवश्यक विमानस्थल मानिने भएपनि विगत ६ वर्षदेखि पूर्ण रुपमा बन्द हुँदा गौचरणमा परिणत भएको स्थानीय एकाबहादुर बस्नेतले बताए।

नागरिकको सेवाका लागि करोडौं लागतमा विमानस्थल निर्माण गरिएपनि गौचरणमा परिणत हुँदा राज्यको लगानी बालुवामा पानी हालेजस्तै बनेको स्थानीय तारा बुढाथोकीको भनाई छ। विमानस्थल पुनः सञ्चालनका लागि पहल थालिनु आम नागरिकका लागि खुसीको कुरा भएको स्थानीय पदम सुन्दासको भनाई छ। 

नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी राजकुमार क्षेत्रीले आफूहरु उडानको लागि तयार भएपनि मन्त्रालयबाट अनुमति आउनुपर्ने बताए। विमानस्थल निर्माण गर्नुभन्दा पनि दिगो रुपमा सञ्चालनमा नआउँदा राज्यको अर्बौ रकम खेर गएको क्षेत्रीको भनाई छ। विमानस्थल निर्माण गर्नुपूर्व दिगोरुपमा सञ्चालनको अवधारणा निर्माण गर्नुपर्नेमा उनको जोड छ।

विमानस्थल बन्द हुँदा अशक्त तथा बिरामीहरुलाई समस्या भएकाले सञ्चालनमा ल्याउन पहल भइरहेको संघीय सांसद हेमकुमार राई (शुरवीर) ले बताए। जसको लागि अहिले संबन्धित निकायको ध्यानकर्षण गर्ने काम भइरहेको उनको भनाई छ।

जिल्लामा रहेको चार वटा विमानस्थलमध्ये अहिले दुईवटा मात्रै सञ्चालनमा रहेको छ। सदरमुकाम नजिक रहेको फाप्लु र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको तेञ्जिङ हिलारी विमानस्थल सञ्चालनमा रहेको छ। यस्तै, खुम्बुमा नै रहेको स्याङ्बोचे विमानस्थलमा भने हेलिकोप्टरले बेलामौकामा उडान भर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.