निःशुल्क खाना खान्छन्, खुलामञ्च सफा गर्छन्

|

काठमाडौं : जब खुलामञ्चमा विभिन्न संघ संस्थाले निःशुल्क खाना वितरण गर्न आउँछन्, दीपा तामाङले त्यहाँ खाना खान आउनेहरुलाई लाइनमा मिलाएर राख्छिन्। सामाजिक दूरी कायम नगर्नेलाई गाली पनि गर्छिन्। खाना ल्याउनअघि नै भुइँ सफा गरेर चिटिच्याट्ट पार्छिन्।

दोलखा घर भएकी दीपालाई खाना खान आउनेमध्ये नचिन्ने सायदै होलान्। नचिनुन् पनि कसरी? कोरोना महामारीसँगै गरिएको लकडाउन भएदेखि उनी सपरिवार खुल्लामञ्चमा बस्दै आएकी छन्। उनको परिवारका सदस्यले पनि त्यहीं खान्छन। खाना वितरणमा सहयोग गर्छन्। ‘चैतदेखि सहयोगी संघसंस्थाले हामीलाई निःशुल्क खाना खुवाइरहेका छन्,’ दीपाले भनिन्, ‘मैले सक्ने सामाजिक कार्य त किन नगर्नु। मेरो कतर्व्य निर्वाह गरेकी हुँ।’ 

यसरी आइन् सडकमा 

दीपाका आठजना परिवार नै काठमाडौंमा छन्। लकडाउनअघि कोही ज्यामी काम गर्थे त कोही कसैको घरमा विभिन्न घरियासी काम गर्थे। यति मिहनेतले उनीहरुको परिवार चलेको थियो। तर, ती सबै काम लकडाउनले खोसिदियो। 

‘लकडाउनअघि राम्रैसँग बसेका थियौँ,’ उनले सुनाइन्, ‘लकडाउन भएपछि सबैले काम पाएनौँ। सडकमा यसरी बसेर खाना खानेबाहेक केही गर्न सकेनौँ।’ लकडाउनले काम त ती परिवारको खोस्यो। घरबेटीले समेत उनीहरुलाई लखेटे। अन्ततः सडकमा बस्न बाध्य भए।

अहिले उनीहरुको परिवार नै खुलामञ्चको छेउमा बस्दै आएका छन्। असार साउनको बेला झरीमा रुझेर बस्नु पर्दा भने धेरै नै दुःख भोग्नु परेको दीपा सुनाउँछिन्।  ‘काम केही छैन। घरको काम गर्न जाँदा पख्नु है कोरोना लाग्छ, कोरोना चेक गरेको कागज छ भनेर सोध्छन्,’ आक्रोसित मुद्रामा उनले भनिन्, ‘पैसा छैन, कसरी चेक गर्ने?’

गर्भवती बुहारीलाई अब कसरी हेरचाह गर्ने? 

दीपाकी बुहारी गर्भवती छिन्। उनको हेरचाह कसरी गर्ने भन्ने चिन्ताले उनी पिरोलिएकी छिन्। ‘मेरो बुहारी गर्भवती छिन्,’ लामो सास फेर्दे सुनाइन्, ‘यो बेला पोसिलो खानेकुरा खुवाउनुपर्छ। तर, कसरी ख्वाउने? पैसा नै छैन। दुईजना मेरो छोरा नि जेलमा छन्।’

काठमाडौं महानगरपालिकाले खुलामञ्चको निःशुल्क खाना वितरण बन्द गर्न निर्देशन दिँदा उनी झन् चिन्तित छन्। उनी भन्छिन्, ‘यहाँ खाना खाँदा सरकारको बेइजत भयो रे। सरकारले खाना ख्वाए मात्रै यहाँबाट उठ्छौँ, नभए अरुले खुवाउँदै आएको खाना बन्द गर्नु हुन्न।’

दीपाकी बुहारी अनिता खड्का पनि खुलामञ्च फोहोर भए सफा गर्छिन्। लकडाउनमा काम नभएकाले सात महिनादेखि कोठा भाडा तिर्न नसकेपछि खुलामञ्चमा आउनुपरेको उनले दुःख सुनाइन्। ‘लकडाउन भरी यही नै खाना खाँदै आएका छौँ,’ अनिता भन्छिन्, ‘मलाई समस्या त छ। तर, यही बस्नुपर्ने बाध्यता छ।’

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान मंसिर २ देखि बन्द हुँदैछ। तर, पनि खाना वितरण नरोकिने खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएका हन्ड्रेड ग्रुपका संस्थापक अन्सु यादव बताउँछन्।

उनले भने, ‘महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन बन्द गरे पनि होटल, पार्टी प्यालेसलगायत अन्य ठाउँमा खुवाउँछौँ। राज्यले हामीले गरेका काम गरेमात्रै हामी रोकिन्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.