|
सांकेतिक तस्वीर

हेटौंडा : महिला अधिकारका सवालबारेको बहसले बृहद स्वरूप लिएपनि घरेलु हिंसा रोकिएको छैन। बागमती प्रदेशको राजधानी हेटौंडापनि महिलामाथि हुने हिंसाबाट अलग छैन। 

विहीबार हेटौंडा उपमहानगरपालिका-१६ हटियाकी मनिषा राई मादक पदार्थ सेवन गरेका श्रीमानबाट निर्घात कुटिइन्‌। ​हेटौंडाजस्तो शहरमा रहेपनि पढाइबाट बन्चित भएकी उनी आफ्नो कुरा राम्ररी राख्न समेत जान्दिनन्। 

बिहिबार दिउँसो मदिरा सेवन गरी मनिषालाई आफ्नै श्रीमानले 'तँलाई मार्छु' भन्दै धेरै बेर कुटे। बोल्नै नसक्ने भएपछि कुट्न छाडे। घरबाट ननिस्किए मार्ने धम्की दिए। 

बल्लतल्ल प्रहरीमा, उपचार थालियो
 
गह भरी आँसु र शरीरभरी निलडाम भएकी राई सहयोगका लागि बल्लतल्ल मकवानपुर जिल्ला प्रहरी कार्यालयमा आएकी छिन्। श्रीमानले बारम्बार तनाव र यातना दिने गरेको बताउँदै उनले भनिन्‌, ‘२ वर्षको छोरा छ, सासु-ससुराले दिनहुँ बुढालाई अनावश्यक कुरा लगाउँछन्, अहिले त बुढाले आफ्नो बाउ-आमाको बाहेक मेरो कुरा कहिले पनि सुन्दैनन्‌, म बोल्ने बित्तिकै पिट्छन्।’ यति भन्दै गर्दा उनी भक्कान्निइन्‌ र बोल्नै सकिनन्‌।

​राईका अनुसार शंकाको भरमा बिहे गरेको पहिलो वर्षदेखि नै श्रीमानले दुर्व्यवहार गर्दै आएका छन्। दैनिक ज्याला मजदुरी गर्ने श्रीमानले अहिलेसम्म कमाएर एक सुको पनि दिएका छैनन्। आफुले घर-व्यवहार हेरेर बसेपनि रक्सी पिउने गरेका लोग्नेबाट दिनहुँ मानिसक र भौतिक यातना सहनुपर्छ। 

राईलाई उपचारका लागि हेटौंडा अस्पतालको ओसिएमसी लगिएको छ। उनको शरिर र अनुहारभरि निलडाम र चोट रहेको छ। प्रहरीले अहिलेसम्म राईका श्रीमानलाई पक्राउ गरेको छैन। मुद्दा भने विहीबार नै दर्ता भईसकेको छ।

एक वर्षमा २७६ घरेलु हिंसा

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत आर्थिक वर्ष २०७६/०७७ मा घरेलु हिंसासम्बन्धी २७६ वटा मुद्दा दर्ता भएका छन्। जसमा २०२ वटा फर्छ्योट भइसकेको छ। ४६ वटा मुद्दा अदालतमा गएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले बताए। २८ वटामाथि अनुसन्धानसहित कारबाही भइरहेको उनले जानकारी दिए। 

यस्तै २०७६/७७ मा प्रहरीमा आएको जानकारी अनुसार मकवानपुरमा १७४ जना महिलाहरु हराएका छन्। ती मध्ये १६६ जना फेला परिसकेका छन्‌ भने चार जना फेला पर्न बाँकी रहेको प्रवक्ता रानाले जानकारी दिए। 

चालु आर्थिक वर्ष २०७७/०७८ को श्रावणबाट असोज मसान्तसम्ममा ३३ जना महिला हराएका छन्। जसमा श्रावण महिनामा १४ जना हराएकोमा १३ जना फेला परेका छन्‌ भने एक जना फेला पर्न बाँकी रहेको छ।

भदौमा चार जना हराएकामा सबै फेला परिसकेका छन्‌। असोजमा १५ जना महिलाहरु हराएकोमा १० जना फेला परिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जसमध्ये पाँच जना फेला पर्न बाँकी रहेको छ।

चालु आर्थिक वर्षमा घरेलु हिसांसम्बन्धी ५८ वटा निवेदन परेकोमा ४७ वटा फर्छ्योट भइसकेको छ। जसमध्ये श्रावणमा २१ वटा निवेदन परेको छ भने १४ वटा फर्छ्योट भइसकेका छन्। भाद्रमा १४ वटा निवेदन परेकोमा १३ वटा फछर्योट भएको छ। असोजमा २३ वटा निवेदन परेकोमा २० वटा फर्छ्योट भइसकेको प्रवक्ता रानाले बताए। 

त्यस्तै, लैंगिक तथा अन्य हिंसा सम्बन्धी ३२ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फर्छ्योट भएको छ। जसमा श्रावणमा १० वटा मुद्दा दर्ता भएकोमा सातवटा फछर्योट भइसकेका छन्।

भाद्रमा १६ वटा मुद्दा दर्ता परेकोमध्ये पाँचवटा फर्छ्योट भएको छ। असोजमा १६ वटा मुद्दा दर्ता भएकोमा ११ वटा मुद्दा फर्छ्योट भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.