विद्यालय बन्द रहेको माैका छोपी बालबालिका तस्करी सल्बलाए

|

हेटौंडा : मकवानपुरको विकट गाउँका चेपाङ किशोरकिशोरीलाई अनेक प्रलोभन देखाएर चितवनको होटलमा काम गर्न लगिएको पाइएको छ।

राक्सिराङ गाउँपालिका–९ राजाराङका ती किशोरकिशोरीहरु विद्यालयमा अध्ययनरत रहेका थिए।

पटक पटक गरी ७ जनालाई चितवनको लोथर र पिप्लेस्थित होटलहरुमा कामका लागि लगिएको पाइएको हो। इलाका प्रहरी कार्यालय मनहरी राक्सिराङका जनप्रतिनिधि तथा स्थानीय युवाको पहलमा ७ मध्ये ६ जनालाई गत मंगलबार होटलबाट उद्धार गरी ल्याएर शनिबार अभिभावकको जिम्मा लगाएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए।

कोरोना संक्रमणका कारण विद्यालयहरु बन्द रहेको मौका छोपेर बिचौलियामार्फत ती किशोरकिशोरी होटलमा पुर्‍याइएका थिए। त्यसरी बिचौलिया बन्ने राक्सिराङ–९ कै मन्जिल चेपाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।

उद्धार गर्न बाँकी अर्की एक किशोरीलाई पनि उद्धार गर्ने प्रयत्न जारी रहेको बताइएको छ। इलाका प्रहरी कार्यालय मनहरी, स्थानीय युवा र राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिहरुको पहलमा ६ जनालाई उद्धार गरी ल्याइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए।

उद्धार गरिएकाहरुमा राक्सिराङ गाउँपालिका वडा नं ९ राजाराङकी १३ वर्षीया नीता, १३ वर्षकै रुकु, १५ वर्षकी बुधमाया, १३ वर्षीया सन्चिता छन्। त्यसैगरी सोही स्थानका १२/१२ वर्षका बालकहरु सुदीप र समाजलाई पनि उद्धार गरिएको राक्सिराङ गाउँपालिका –९ का वडासदस्य उमेश चेपाङले बताए।

कतिपय बालबालिका एकै घरका दुई जनासमेत छन्। 'बाल मजदुरका रुपमा बालबालिकालाई होटलमा काम गर्न लगिएको रहेछ', वडा सदस्य चेपाङले भने, 'बालश्रमसँगै भारततर्फ समेत लैजान लागेको हल्ला पनि सुनिएकाले तत्कालै एक्सन लिन बाध्य भयौँ।'

स्थानीय कालिका माध्यमिक विद्यालय र बेथानी नमुना विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरु विद्यालय बन्दको मौका छोपेर बिचौलियाहरुले बालश्रममा लगेर लगाएको पाइएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

राक्सिराङका अधिकांश चेपाङ बस्तीबाट सहरबजारका धनाढ्य व्यक्तिहरुको घरको काम गर्न र साना बच्चा हुर्काउन कलिला बालबालिकालाई प्रयोग गर्ने गरिएको पाइएको छ।

खानै नपुग्ने बस्तीका बालबालिकालाई हातमुख जोर्ने मेसो मिलाउन पनि श्रम गर्नुपर्ने बाध्यता एकातिर छ भने बालबालिकालाई बालश्रमबाट मुक्त गर्नुपर्ने कानुनी प्रावधान अर्काेतिर छ। 

समाचारमा उल्लेख गरिएका बालबालिकाको नामहरु परिवर्तन गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.