|
फाइल फोटो

काठमाडौं : कोरोना महामारीका कारण साविकमा झैं परीक्षा गराउने सम्भव नभएपछि सरकारले कक्षा–११ को परीक्षा सञ्चालन व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गर्‍यो। कार्यविधि जारी भएपछि कक्षा–११ को सबै परीक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मा विद्यालयले पाएको छ।

परीक्षा गराउने अधिकार पाएसँगै लकडाउनमा रोकिएको कक्षा–११ को परीक्षा विद्यालयले नै धमाधम सञ्चालन गर्न थालेका छन्‌। सिन्धुली जिल्लाका सबै स्थानीय तहले कक्षा–११ को परीक्षा सञ्चालन शुरू गरेका छन्‌। जिल्लाको घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले कात्तिक २१ गतेदेखि नै परीक्षा सञ्चालन भएको जानकारी दिए।

‘सिन्धुली जिल्लाका सबै स्थानीय तहका विद्यालयले कोरोनाले रोकेको कक्षा–११ को परीक्षा सञ्चालन गरेका छन्,’ उनले थाहाखबरसँग भने, ‘यस वर्षको परीक्षा सञ्चालन गर्ने जिम्मा विद्यालयले पाएकाले कार्यविधि अनुसार नै अनुकूल समयमा परीक्षा सञ्चालन भैरहेको छ।’ उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरेको बताए।

बैतडीका सेटीगाउँ मावि ककरपाखाका प्रधानाध्यापक परमानन्द जोशीले पनि कक्षा–११ को परीक्षा शुरू गरेको जानकारी दिए। ‘स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर परीक्षा शुरू गरेका हौँ,’ उनले भने, ‘विद्यार्थीलाई मास्क अनिवार्य लगाएर मात्रै परीक्षा हलमा प्रवेश गराएका छौँ, विद्यार्थीको स्वास्थ्यप्रति हामी सचेत छौँ।’

त्यस्तै, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित श्री भगवती माध्यमिक विद्यालयले लकडाउनका कारण रोकिएको कक्षा–११ को परीक्षा मंसिर ४ देखि सञ्चालन गर्ने भएको छ।

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने निर्णय लिइएको जानकारी दिए। बास्तोलाका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

पाल्पाको निस्दी गाउँपालिका वडा–५ स्थित सरस्वती मावि र चितवनका धेरै विद्यालयले पनि कक्षा–११ परीक्षा शुरू गरेको जानकारी दिएका छन्‌।

कक्षा–११ को परीक्षा गत वैशाख महिनामै सञ्चालन हुने कार्यतालिका रहेपनि कोरोना महामारीका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले समय मिलाएर परीक्षा लिन देशभरका विद्यालयलाई निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.