१३ सय ७५ को ग्यासलाई १५ सय लिन्छन् व्यापारी

|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा खाना पकाउने एलपी ग्यासमा कालोबजारी भएको पाइएको छ। तानसेन नगरपालिका भित्रका विभिन्न ग्रामीण बजारमा मनपरी मूल्यमा ग्यास बिक्री गरेका छन्।

पाल्पामा ग्यासको मूल्य १३७५ रुपैयाँ निर्धारण गरिएको छ। तर, व्यापारीहरूले आफूखुसी मूल्य तोक्दै ग्यास बेच्ने गरेका हुन्। व्यापारीले १५ सय रुपैयाँसम्म ग्यास बिक्री गरेको उपभोक्ताले गुनासो गरेका छन्। उपभोक्ता दिनदाहाडै ठगिएका छन्। तानसेन नगरपालिकाको नेतृत्वमा भएको अनुगमनका क्रममा यस्तो फेला परेको हो।

तानसेन नगरपालिका ८ डुम्रेकी भगवती रानाले १४२५ मा ग्यास खरिद गरेको बताइन्। डुम्रे बजार सिद्धार्थ राजमार्गमा पर्दछ। पसलमै पुगेर किन्दासमेत मूल्यभन्दा बढी रकम तिर्नुपरेको उनले बताइन्।

तर, अन्यको तुलनामा यो सस्तो मूल्य हो। यहाँका बजारमा एक सिलिण्डर ग्यासलाई १४५० रुपैयाँ मूल्य तिर्नुपर्ने सामान्य नै बनेको छ। सामान्य किराना पसल, तरकारी पसल, होटलले समेत ग्यास बिक्री गर्दै आएका छन्। ग्यास खरिद बिक्रीको लागि अनुमति पत्र आवश्यक पर्दछ। अधिकांशसँग अनुमति पत्र नै छैन।

तानसेन नगरपालिका ९ अम्लिहानमा रहेको सन्तोष किराना पसलमा १४५० मा ग्यास बिक्री गर्दै आएको पाइयो। आफूहरूले १४०० मा खरिद गरेर १४५० मा बिक्री गर्दै आएको ती व्यापारीले बताए। माथागढी गाउँपालिका ३ सराइमा रहेको ग्यास डिलरले आफूहरूलाई १४०० मा ग्यास बेचेको उनले बताए।

वडा नम्बर ८ र ९ मा रहेका अम्लिहान, दमकडा, तिन्टीआप, नयाँपाटी, डुम्रे लगायतका ग्रामीण बजारमा रहेका सबै ग्यास बिक्रेताले आफूखुसी पैसा असुलेर ग्यास बिक्री गरेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले बताए। ‘मूल्य आफूअनुकूल निर्धारण गरेर ग्यास बिक्री गर्दै आएका छन्’ उनले भने १४०० देखि १५०० रुपैयाँसम्म ग्यास बिक्री गरेको पाइयो।’

दशैको बेलामा आफूले पनि १४५० तिरेर ग्यास किन्नु परेको तानसेन नगरपालिका उपप्रमुख तथा अनुगमन समितिका संयोजक लक्ष्मी पाठकले बताइन्। यसरी मनपरी महँगो मूल्यमा ग्यास बिक्री गर्ने व्यापारीलाई कारबाही हुनुपर्ने उनले बताइन्। ‘यो व्यापारीले गरेको कालोबजारी हो’ उनले भनिन् ‘मनपरी मूल्य भन्दा बढी पैसा लिएर ग्यास बिक्री गर्ने व्यापारीलाई कारबाही गर्नुपर्छ।’  

ग्यास बिक्रेतालाई प्रशासनमा बोलाई मूल्यका बारेमा छलफल गर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले बताए। तोकिएको मूल्यभन्दा बढी पैसा लिएर ग्यास बिक्री गर्ने व्यापारीलाई आवश्यक कारबाहीको लागि सिफारिस गर्ने उनले बताए।

पन्थीले थपे ‘नियमभन्दा बढी पैसा असुलेर बिक्री गर्नु भनेको नै कालोबजारी गर्नु हो।’

अनुगमनका क्रममा म्याद गुज्रेका विभिन्न खाद्यवस्तु बिक्री गरेको पाइएको छ। बोटलको पानी सहित विभिन्न पेय पदार्थ, प्रायः बालबालिकाले खाने चिजवल्सका परिकार, बिस्कुट, सर्वोत्तम पिठो, स्यारल्याक्स, सूजी, कस्मेटिकका सामग्रीसमेत म्याद नाघेको अवस्थामा बिक्री गरेको पाइएको छ। करिब ५० हजार बराबरको खाद्य सामग्री र कस्मेटिकका सामग्री बरामद गरेर नष्ट गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.