चारजना सदस्य बालुवाटार पुगेर फर्किए

|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको कार्यदलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट नेताहरु अनुपस्थित भएका छन्। उनीहरु अनुपस्थित भएपछि बैठक नै रद्द भएको छ। 

प्रधानमन्त्री ओलीले सोमबार मध्यान्ह १२ बजेका लागि बोलाएको कार्यदलसँगको बैठकमा अध्यक्ष दाहालनिकट नेताहरु अनुपस्थित भएका हुन्। उनीहरुको अनुपस्थितिका कारण बैठक बस्न नसकेको हो।  

विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले गत साउन ३० गते महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए।

कार्यदलमा महासचिव पौडेल सहित र स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल छन्।

महासचिव पौडेल र प्रदेश ५ को पोखरेल ओलीनिकट हुन्। रावल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन्। शर्मा र भुसाल अध्यक्ष दाहालनिकट हुन्।

आज प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा अध्यक्ष दाहालनिकट नेताहरु नआएपछि रोकिएको हो। अन्य चारजना बैठकका लागि बालुवाटार पुगेका थिए। तर बैठक बस्न नसकेपछि उनीहरु फर्किएका छन्। 

आज प्रधानमन्त्रीले बोलाएको बैठक अन्तिम समयमा आएर रद्द भएको  कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए। नेकपाभित्र प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवादका कारण पार्टी फुटको सँघारसम्म पुगिसकेको छ। अध्यक्ष दाहालसहितका नेताहरुले समस्या समाधानका लागि प्रधानमन्त्री ओलीलाई लिखित माग गरिरहेका छन्। 

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न शनिबार दुई दिने अल्टिमेटमसहितको पत्र बुझाएका थिए। अझै प्रधानमन्त्री ओलीको तर्फबाट बैठकको मिति तय भइसकेको छैन। 

प्रधानमन्त्रीनिकट महासचिव पौडेलले अध्यक्ष दाहाललाई खुमलटार पुगेर पार्टीको विधान अनुसार बैठक बस्ने बताइसकेका छन्। त्यसो त विवादका क्रममा अध्यक्ष दाहालसँग दुरी बढेपछि नेता नेपाललाई आफ्नो पक्षमा ल्याउन ओलीले प्रयत्न गरिरहेका छन्।

तर, नेता नेपालले ओलीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै सहकार्यमा अस्वीकार गरिरहेका छन्। उनले पहिले आफ्नो कार्यशैली फेर्न ओलीलाई सुझाव दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.