|

म्याग्दी : भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कवाङमा मोटरबाटो पुगेपछि ८५ वर्षीय पलप्रसाद छन्त्याल अचेल फुरुङ्ग छन्‌।

भोक-प्यासै दिनरात कयौं किलोमिटर पैदल हिँडेर चामल र नुन लिन बटौलीसम्म पुगेका छन्त्यालको घर नजिकैबाट सवारी साधन गुड्ने भएपछि उनी निकै खशी देखिएका हुन्‌।पलप्रसाद जस्तै डाँडामाथिको अस्ताउँदो घाम भइसकेकी ८९ वर्षीया दुर्गादेवी छन्त्यालले बुढेसकालमा गाउँमा विकास देख्ने अवसर पाएको बताइन्।

७५ वर्षीय काले विक आफ्नै घरको झ्यालबाट देखिने सडकमा मोटर गुड्न थालेपछि अधुरा रहेका काम पूरा गर्ने योजनामा छन्। घरमा मानसिक सन्तुलन गुमेकी ३८ वर्षीया छोरी गौरी विकलाई पैदलमार्गबाट उपचारका लागि पोखरासम्म लैजान नसक्ने अवस्थामा रहेका कामीले सडक सञ्जालमा गाउँ जोडिएपछि आर्थिक जोहो गरेर उपचार गर्न लैजाने तयारीमा छन्। ‘गाउँमै मोटरबाटो आयो, विगतका दिन सम्झँदा सपना जस्तै लाग्छ, अब पैदल हिँडेर बजार जानुपर्ने अवस्थाको अन्त्य भएको छ,’ कामीले भने।

पश्चिम म्याग्दीको विकटमा पर्ने मल्कवाङ सडक सञ्जालमा जोडिएपछि सवारीसाधन र मोटरबाटो हेर्न एकदिनको पैदल यात्रा गरेर आसपासमा बस्तीसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, म्याग्दीले छिमेकी वडा मराङको बेंसीदेखि आरवाङ–हाङबाङ हुँदै मल्कवाङ जोड्ने सडक विस्तार गरेपछि स्थानीयहरू घरआगनबाटै मोटर चढेर गन्तव्यमा जाने थालेका छन्।

ट्र्याक खुलेपछि दैनिकजसो मोटरसाईकल, जीप र ट्याक्टरमा यात्रा गर्न थालेको वडा अध्यक्ष खड्ककुमारी छन्त्यालले बताइन्। ‘अब विकासका अन्य काम गर्न सजिलो हुन्छ ‘स्थानीय उत्पादनले सहजै बजार पाउँछ,’ वडा अध्यक्ष छन्त्यालले भनिन्। उनले सडकले मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगङ्गा गाउँपालिका–८, को कुइनेखानीका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको छन्त्यालको भनाई छ।

गाउँबाट सदरमुकाम बेनीसम्मको दुरी छोटिएको बताउँदै वडाभित्रका मुख्य बस्तीमा एक वर्षभित्र सहायक बाटो समेत विस्तार गरिने बताइन्। वडाले ३५ लाख बजेट विनियोजन गरी मलम्पारसम्म सहायक सडक विस्तारलाई समेत तीव्रता दिएको अध्यक्ष छन्त्यालको भनाई छ। छिमेकी वडासम्म पुग्न सकस स्थानीयलाई स्वास्थ्य, शिक्षा लगायतका आधाभुत आवश्यकता प्राप्तीका लागि समेत सडक सञ्जालले सहज बनाइदिएको स्थानीय यूवा दलमान छन्त्यालले बताए।

‘गाउँको उत्पादन बजारसम्म पुग्छ, सडकले आम्दानीको स्रोत पनि बढ्ने छ,’ छन्त्यालले भने। उनले खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा महँगो भाडा तिर्नुपर्ने अवस्थामा अहिले सस्तोमा ढुवानी हुने गरेको बताए। खाद्यान्न ढुवानीका लागि गाउँमा रहेका घोडा र खच्चड समेत स्थानीयले बेच्न थालेको उनको भनाइ छ।

पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा ८० लाख मल्कवाङका सिमानासम्म विस्तार भएको सडक गत आव २०७६/७७ मा डेढ करोड रुपैयाँ बजेटमा ७२ लाख विनियोजन गरेकोमा ४७ लाख रुपैयाँको काम भएको छ। बाँकी काम यसै आवमा सम्पन्न गरिने छ।

त्यस्तै, चालु आवमा १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा टेन्डरमार्फत ठेक्का लाग्न बाँकी छ। भेडिखाल्टासम्म सडक पुर्‍याउने लक्ष्य रहेकाले यस वर्ष धवलागिरी र रघुगंगा गाउँपालिका सडक सञ्जालमा जोडिने पूर्वाधार कार्यालयले जनाएको छ। विनियोजित बजेटबाट ७० प्रतिशत स्तरोन्नती र ३० प्रतिशत नयाँ ट्रयाक खोल्न काम गरिने कार्यालयले जनाएको छ। 

रिङरोडमा जोडिँदै मल्कवाङ

कुनै समय गाउँमा सडक एकादेशको कथा जस्तै लाग्ने मल्कवाङ निकट भविष्यमै छिमेकी रघुगंगा–८, कुइनेखानीको सडक सञ्जालमा जोडिँदैछ। करिब ५ किलोमिटर सडक निर्माणपछि मल्कवाङबासीलाई सदरमुकाम बेनीबजार आवतजावतमा थप सहज हुनेछ।

कुइनेखानी हुँदै बेनी–ठाडाखानी सडक सञ्जालमा मल्कवाङ जोडिने छ। यसका लागि बेनी–अर्थुङे–पात्लेखेत हुदै झिँ र पाखापानीमा एक करोड रुपैयाँ बराबरको काम हुनेछ। त्यस्तै, मराङ खोलामा पक्की पुलसहित अन्य संरचनामा समेत बजेट विनियोजन गरिएको पूर्वाधार कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले बताए।

उनका अनुसार पश्चिम र उत्तरी म्याग्दी जोड्ने गरी जिल्लाका ६ वटा स्थानीय तहमध्ये पाँच वटामाउक्त सडक सञ्जालबाट सहजै आवतजावत गर्न सकिन्छ। छोटो रुटको प्रयोगले स्थानीय उत्पादनको बजारीकरण सहज हुने उनले बताए।

मल्कवाङमा कृषि उपजका साथै पछिल्लो समय भेडा पालनमा समेत आर्कषण थपिएको छ। सडक सञ्जालको विस्तारले  बहुमूल्य यार्सागुम्बा, जटामसी, पाँचऔले सहितका जडीबुटीको बिक्रीका साथै गाउँ आसपासमा अलपत्र अवस्थामा रहेका तामाखानी पुनः सञ्चालन हुनेमा स्थानीय आशावादी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.